मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलमा अनियमितता, अयोग्य कम्पनीलाई महँगोमा ठेक्का

बिहीबार, २५ भदौ २०७७, ११ : ३९
बिहीबार, २५ भदौ २०७७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको ठेक्कामा अनियमितता भएको पाइएको छ । विमानस्थलको सो कक्षमा सेन्ट्रल एयर कन्डिसन जडानमा लागि भएको बोलपत्रमा ‘अयोग्य’ कम्पनीलाई महँगो मूल्यमा ठेक्का दिइएको हो । 

त्रिभुवन विमानस्थलको खरिद शाखाले गत फागुन २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षका लागि भीआरएफ प्रणालीमा आधारित सेन्ट्रल एयर कन्डिसनको आपूर्ति, जडान, परीक्षण र मर्मत समेतका लागि टेन्डर आह्वान गरेको थियो । सुरुमा चैत २३ गते अन्तिम म्याद तोकिएको सो खरिदको बोलपत्रलाई पटकपटक संशोधन गरेर जेठ २० गतेसम्म पुर्याइएको थियो । 
आर्थिक तथा प्राविधिक प्रस्ताव एकैपटक पेश गर्नेगरी (सिंगल इन्भेलोप सिस्टम) मा आधारित भई आह्वान भएको बोलपत्रका लागि तोकिएको समयभित्र ६ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावउपर मूल्यांकन गरेर केही दिन अघि मात्रै विमानस्थल कार्यालयले न्यू एरा नामक कम्पनीलाई बोलपत्र छनौटको आशयपत्र दिएको थियो ।  

अनुभवहीन कम्पनी, महँगो मूल्य
विमानस्थलले आह्वान गरेको सो टेन्डरमा उल्लेखित कामको लागि कुल ८१ लाख ६९ हजार ९ सय रुपैंया बराबरको लागत अनुमान गरिएको थियो । त्योमध्ये टेन्डरको एलओई पाउने न्यू एराले अधिकतम मूल्यमा सामानको आपूर्ति प्रस्ताव गरेको थियो जबकि सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीले २८ प्रतिशत कम मूल्य प्रस्ताव गरेको थियो । 

त्यसरी प्रस्ताव गर्नेमध्ये त्रिवेणी व्यापार कम्पनीले सबैभन्दा कम ५६ लाख २ हजार, टेक्नोट्रेड प्राइभेट लिमिटेडले ५७ लाख ३८ हजार, कि कन्सेप्ट नेपालले ६७ लाख ५२ हजार, डेम्याक इन्डष्ट्रिजले ६७ लाख ८६ हजार, हिमाल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रिकल इन्डष्ट्रिजले ८० लाख ५४ हजार तथा न्यू इरा नामक कम्पनीले ८१ लाख ६९ हजार रुपैंया प्रस्ताव पेश गरेका हुन् । अघिल्ला ५ प्रस्तावलाई छाडेर विमानस्थलले सबैभन्दा महँगोमा प्रस्तावलाई छनौट गरेको हो । न्यू एराले आपूर्ति, जडान र परीक्षण र निरीक्षणको जिम्मा आफूले लिएको छ भने डेलिभरीको जिम्मा आफ्ना जेभीको रुपमा रहेको एसएम बिल्डर्स एण्ड सप्लायर्सलाई दिएको छ । 
८१ लाखको प्रस्तावमध्ये ७२ लाख ३० हजार आपूर्ति, जडान र परीक्षण र निरीक्षणका लागि र १५ लाख ७ हजार रुपैंया त्यसको डेलिभरीको लागि भनेर प्रस्ताव गरेको थियो । 

त्यसो त, प्रस्ताव पेश गर्ने ६ वटा कम्पनीमध्ये न्यू एरा मात्रै त्यस्तो कम्पनी हो जोसँग रेफ्रिजेरेटर आपूर्तिको कुनै अनुभव नै छैन । त्यसमाथि नेपालमा सर्भिस सेन्टर नभएको यो नै एकमात्रै कम्पनी हो । बाँकी ५ वटा कम्पनीको काठमाडौंमा आफ्नै सर्भिस सेन्टर समेत छ । 

आफूले पेश गरेको प्रस्तावलाई लत्याएर महँगो प्रस्ताव छनौट गरेपछि प्रतिस्पर्धी कम्पनीहरुले यसमा असहमति जनाएका छन् । आपूर्तिकर्ता कम्पनीमध्ये कि कन्सेप्ट प्रा.लि.ले विमानस्थलसँग आफू छनौट नहुनुको कारण मागेको छ । 

के भन्छ विमानस्थल ? 
विमानस्थलले भने आफूले गरेको ठेक्का प्रक्रिया सही र प्रक्रियासंगत भएको दाबी गरेको छ । सेन्ट्रल एयर कन्डिसन खरिदको प्राप्ति प्रक्रियाको जिम्मेवारी पाएका देव शाहले खरिद प्रक्रिया नियमसंगत रुपमा अघि बढेको दाबी गरेका छन् । 

उनले विमानस्थलको आवश्यकताका आधारमा अरु ५ वटा कम्पनीको प्रस्ताव भन्दा न्यू एराको प्रस्ताव उपयुक्त भएकोले सो कम्पनीलाई छनौट गरिएको दाबी गरे । ‘बोलपत्र प्रक्रिया निकै प्राविधिक र झन्झटिलो विषय हो । यसमा मूल्य भन्दा पनि प्राविधिक पक्ष र आवश्यकतालाई ध्यान दिनुपर्छ । त्यो हिसाबले न्यू एराको प्रस्ताव उपयुक्त भएर उसलाई एलओआई दिइएको हो’ शाहले भने । उनले कि कन्सेप्टले स्पष्टीकरण माग गरेको बताउँदै तोकिएको समयभित्रै चित्तबुझ्दो जवाफ दिने समेत बताए । 

न्यू इराको आफ्नै सर्भिस सेन्टर नभएको र आपूर्तिको अनुभव नभएको विषयलाई शाहले स्वीकार गरेनन् । ‘उसले एलजी ब्राण्डको एयर कन्डिसन जडान गर्ने प्रस्ताव पेश गरेको छ । एलजी ब्राण्डको नेपालमा सर्भिस सेन्टर जति पनि छ, आफ्नै हुनुपर्छ भनेर टेन्डरमै भनिएको छैन ।’
विमानस्थल कार्यालयले ५६ लाखको टेन्डर छोडेर ८१ लाख टेन्डर छनौट गर्दा राज्यकोषलाई यही ठेक्काबाट मात्रै करिब २५ लाखको नोक्सान हुने देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप