आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसद भवनलाई चिटिक्क बनाउन मन्त्रीको निर्देशन

मङ्गलबार, १८ कात्तिक २०७७, २३ : २६
मङ्गलबार, १८ कात्तिक २०७७

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन्  । उनले संसद भवनको सरसफाई र सौन्दर्यता कायम गर्न कुनै कन्जुस्याइ नगर्न निर्देशन समेत दिए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको व्यवस्थापिका संसद भवन)को निरीक्षण गर्न मंगलबार दिउँसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले  भवनका सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए । मन्त्रालय अन्तर्गत रहेको सो केन्द्र २०६५ सालदेखि संसद भवनको रुपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न समेत निर्देशन दिए । 

उनले संसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्माओली र सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्ष समेत निरीक्षण गरेका थिए । सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्हार गरी भवनलाई साच्चिकै संसद भवनको रुपमा पहिचान गराउनुपर्ने बताए । 

विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप