सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुडान र अमेरिका बीचको सम्बन्धमा ‘महत्वपूर्ण परिवर्तन’ आएको छः अमेरिकी विदेशमन्त्री

सोमबार, २९ मङ्सिर २०७७, २२ : ४६
सोमबार, २९ मङ्सिर २०७७

एजेन्सी । अमेरिकाको सुडानसँगको सम्बन्धमा आधिकारिक रूपमा महत्वपूर्ण परिवर्तन भएको अमेरिकी अधिकारीले सोमबार बताएका छन् । अमेरिकी आतङ्कवादको कालोसूचीबाट सुडान हटेपछि सुडान र अमेरिकाबीचको सम्बन्धमा ‘महत्वपूर्ण परिवर्तन भएको’ भन्दै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सुडानका प्रजातान्त्रिक प्रयासहरूको प्रशंसा गरेका हुन् ।

पोम्पेओले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “आतंकवादलाई प्रायोजन गर्ने राज्यका रूपमा अब सुडानलाई राख्न नपर्ने निश्कर्षका साथ सुडानमाथि यस पहिले लगाइएका प्रतिबन्धहरू फुकुवा गरिएको छ ।”  सुडानले आतङ्कवादलाई प्रायोजन गरेको भन्दै सन् १९९३ देखि विभिन्न प्रतिबन्धहरूको सामना गर्दै आएको थियो । यसका कारण अधिकांश विदेशी लगानीकर्ताहरूले लगानी गर्न अनिच्छा प्रकट गरेपछि यहाँको अर्थतन्त्र थप धराशायी बनेको थियो ।

गत वर्ष लामो समयसम्म सत्तामा रहेका सुडानी शासक ओमार अल बसीरलाई यहाँको जन आन्दोलनको बल र सेनाको सहयोगमा नेतृत्वबाट हटाइएको थियो । यो सरकारले सुडानको ऐतिहासिक प्रजातान्त्रिक सङ्क्रमणकाल सुरु भएको घोषणा गरेको थियो । अहिले सुडानमा सङ्क्रमणकालीन सरकार बनेको छ । यसले निकट भविष्यमा निर्वाचन गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाएको छ । 

तत्कालिन शासक ओमारले अल कायदालाई स्वागत गरेको आरोप अमेरिका लगायतका उसका सहयोगीहरूले लगाउने गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टूबरमा सुडानलाई आतङ्कवादीलाई प्रायोजन गर्ने राष्ट्र भनी लगाएको ‘लेबल’लाई हटाउने बर्ताएका छन् । अमेरिकी काङ्ग्रेसले ४५ दिनभित्र राष्ट्रपतिको उक्त भनाइप्रति कुनै आपत्ति नगरेपछि पोम्पेओले गरेको हस्ताक्षरले वैधता पाएको हो । 

पोम्पेओले भने, “हामी स्वतन्त्रता, शान्ति र न्यायका लागि सुडानी जनताको आह्वानको सराहना गर्दछौं र हामी नागरिक अगुवाईमा सङ्क्रमणकालीन सरकारका सदस्यहरुलाई उनीहरुको सेवा गर्ने नागरिकको आकांक्षालाई अगाडि बढाउन साहसको लागि बधाई दिन्छौं ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप