सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड चौथो पटक बन्यो संसारको सबैभन्दा खुसीको देश

शनिबार, ०७ चैत २०७७, १३ : १६
शनिबार, ०७ चैत २०७७

कोरोना भाइरसले सन् २०२० लाई पूर्ण रुपमा ध्वस्त पारिदियो । यो एन्जाइटी, डिप्रेशन, एक्लोपन, लकडाउन, महामारी र मृत्युको वर्ष थियो । तर शुक्रबार जारी १४९ देशको वर्ल्ड ह्याप्पिनेस रिपोर्टका अनुसार महामारीको यो स्तरले पनि मानिसहरुको आशा र उत्साहलाई डग्मगाउन सकेन । ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२१’ का अनुसार थुप्रै देशमा कोरोनाको विध्वंशका बावजूद मानिसहरुको खुसी जीवन कम प्रभावित भएको छ ।

यूएन सस्टेनेबल डेभलपमेन्ट सोल्युशन्स नेटवर्कद्वारा प्रायोजित १४९ देशको यो वार्षिक रिपोर्ट प्रति व्यक्ति जिडिपी, स्वस्थ जीवन र नागरिकको रायमा आधारित छ । यो सर्वेक्षणमा मानिसहरुसँग १–१० को स्केलमा केही प्रश्न सोधिएको थियो । जस्तै विपरित परिस्थितिमा उनीहरुले कति सामाजिक सहयोग पाए र उनीहरुका अनुसार उनीहरु कति भ्रष्ट र कति उदार छन् ।

संसारको सबैभन्दा खुसीको देशको यो सूचीमा पहिलो ९ स्थानमा युरोपियन देशको कब्जा छ । सूचीमा फिनल्याण्डलाई दुनियाँको सबैभन्दा खुसीको देश मानिएको छ । जबकी दोस्रो स्थानमा डेनमार्क, तेस्रोमा स्विटजरल्याण्ड, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड, छैटौंमा आइसल्याण्ड, सातौंमा नर्वे, आठौंमा स्वीडन र नवौंमा लग्जमबर्ग छन् । न्यूजिल्याण्ड एक्लो यस्तो गैर–युरोपेली देश हो जसले १० औं स्थानसहित शीर्ष १० मा स्थान बनाएका छन् ।

स्मरण रहोस्, वल्र्ड ह्याप्पिनेस रिपोर्टमा फिनल्याण्डले लगातार चौथो पटक पहिलो स्थान प्राप्त गरेको छ । यस्तै संयुक्त राज्य अमेरिका जो पाँच वर्ष अघि १३ औं स्थानमा थियो, १८ औं स्थानबाट खस्किएर १९ औं स्थानमा पुगेको छ । बेलायतमा कोरोनाका कारण सवा लाखको मृत्युपश्चात् पनि सूचीमा यो देश १७ औं स्थानमा छ ।

कोलम्बिया युनिभर्सिटीका अर्थशास्त्री जेफ्री सैशले यस रिपोर्टबारे भने, ‘क्रमानुसार यी सबै देशका मानिसहरुले असाध्यै धेरै सुरक्षित महसुस गरे । यी देशको सरकार पनि बढी इमानदार र विश्वासपूर्ण थिए । मानिसहरुले एकअर्कामाथि बढी विश्वास देखाए ।’

फिनल्याण्डकी एक प्रसिद्ध पत्रकार अनु पार्तानेनले भनिन्, ‘फिनल्याण्ड एकपटक पुनः दुनियाँको सबैभन्दा खुसीको देश बनेको छ । यहाँका मानिसहरु निकै भाग्यमानी छन् किनभने यहाँको समाजले यस्तो झट्कामा पनि सपोर्ट सिस्टम टुट्न दिएनन् ।’

जेफ्री सैशका अनुसार यो सर्वेमा मानिसहरुलाई दुई भिन्न प्रकारका प्रश्न सोधिएको थियो । एउटा प्रश्न उनीहरुको सामान्य जीवनसँग जोडिएको थियो । दोस्रो प्रश्न मूड, इमोशन, स्ट्रेस र एन्जाइटीसँग सम्बन्धित थियो । ह्याप्पीनेस विशेषज्ञका अनुसार अमेरिकामा धनी–गरिब निवासीबीच जातीय तनाव र आयमा निरन्तर असमानताका कारण मानिसहरुको जीवन असाध्यै प्रभावित भएको छ ।

अमेरिकीकी चर्चित लेखिका तथा युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापक सोन्जा लायुबोर्मिस्कीका अनुसार अन्य देशको तुलनामा अमेरिकामा मानिसहरुसँग आलिशान घर र ठूला कार छन् । तर यो सूची यो कुराको प्रमाण हो कि यी सबै तन्त्र मानिसहरुलाई खुसी राख्नका लागि पर्याप्त छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप