आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘संविधान र सर्वोच्च अदालतको आदेशानुसार अध्यादेश’

सोमबार, १० जेठ २०७८, ०६ : ००
सोमबार, १० जेठ २०७८

महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताएका छन् । आफ्नो कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे ।

“महान्यायाधिवक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”,उनले भने, “संविधान र सर्वोच्च अदालतका  धेरै आदेश छन्, त्यसको कार्यान्वयनका लागि  अध्यादेश ल्याउनुपरेको हो ।” उनले यससम्बन्धी विधेयक २०७५ साल साउन २२ गते संसद्मा प्रवेश भएर रहँदा संविधान  र अदालतको आदेश कार्यान्वयनमा कठिनाइ भएकाले अध्यादेशमार्फत ल्याउनुपरेको स्पष्ट पारे ।

“नागरिकतासम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात गरिएको छैन, संविधानमा भएको व्यवस्था जस्ताको जस्तै मान्नुपर्ने हुन्छ”, सरकारका कानूनी सल्लाहकारले थपे, “ संविधान कार्यान्वयनबाहेक तलमाथि केही पनि फरक पारिएको छैन ।” उनका अनुसार देशभर जन्म सिद्धका आधारमा ७७ जिल्लामा एक लाख ९० हजार ७०२ ले नागरिकता प्राप्त गरेका थिए । अब जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउने छन् ।

“मेरो बुबाको नागरिकता जन्म सिद्धको आधारमा थियो, शुरुशुरुमा जन्म सिद्धकै आधारमा नागरिकता दिने चलन रैछ”, उनले आफ्ना  पिताको नागरिकताबारे जानकारी दिँदै भने, “पहिलेपहिले वंशजका आधारमा नागरिकता दिने प्रचलन नै थिएन, तर अहिले वंशज र अंगीकृत नागरिकताको व्यवस्था छ, जन्म सिद्धलाई वंशजको दिने व्यवस्था मात्र गरिएको हो ।”

सर्वोच्च अदाललते नागरिकतासम्बन्धी २० परमादेश जारी गरेको छ । नेपालको संविधानको धारा ११ को उपधारा (५)  मा नेपालकी नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने तर बाबु विदेशी भएका ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानूनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ भन्ने व्यवस्था छ ।

संविधानको सो व्यवस्थाका आधारमा नेपाल नागरिकता ऐन २०६३ को दफा ३ मा अध्यादेशबाट उपदफा (५) र (६) थप गरी नेपालकी नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छन् ।

यसरी नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेका ठहरेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा लिएको नागरिकता कायम नरहने तर निजले बाबुको नागरिकताका आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त नगरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा निजको नागरिकतालाई अङ्गीकृत नागरिकतामा परिणत गरिने व्यवस्था अध्यादेशमा छ । 

यसरी नागरिकता प्राप्त गर्न सहजताका लागि नागरिकता ऐनको दफा ८ मा उपदफा (१) क अध्यादेशबाट थप गरी नेपालकी नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन  नसकेको व्यक्तिका हकमा निजको बाबुको पहिचान हुन  नसकेको बेहोराको निज र निजकी आमाले गरेको तोकिए बमोजिमको स्वघोषणासमेत आवश्यक हुने र आमाको मृत्यु भइसकेको भए सोको प्रमाणसहित निवेदकले गरेको स्वघोषणा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप