कमिलाको यात्रा (कविता)
आँधीले हल्लाइरहेको
सालको बोटबाट झरेको एउटा पात
झरीले रुझाइरहेको
उर्लँदो नदीमा पौडिन पुग्दा
पातमाथिका कमिलाहरू
पातसँगै बगिरहे
अनन्त यात्रामा नदीसरि
...
सागरले किनारा लाउँदा
ओर्लिएका कमिलाहरू
नौलो सुवासको सुर्को पिएर
नवीनताको खोजीमा जुटेका छन्
कमिलाको
सुन्दर बस्तीको कल्पना कोरिरहेछन्
स्वतन्त्रताको संसार ओछ्याएर
उजाड मरुभूमिमा
स्वावलम्बी संसारको निर्माण गरिरहेछन्
परजीवीहरूको
वर्तमान बिगबिगीमा खुलेर
निर्भयसाथ खिल्ली उडाइरहेछन्
एकताको सन्देश पस्किरहेछन् !
....
कमिलाहरू निर्भय हुन्छन्
स्वतन्त्र र स्वावलम्बी कमिलाहरू
संसार बनाउँछन् मिलेर स्वाभिमानको
रेट्दैनन् बन्धुत्वको गला
रगत होइन
पसिना बगाउँछन् परिश्रम गरेर
लाम लागेर पुल बनाउँछन् सागरमाथि
उकालो लागेर
सगौरव हिमालको चुचुरो चुम्छन्
कमिलाहरू
उपहार हुन् विराट् विश्व–फूलबारीका ।
...
अनन्त यात्रामा निस्किएका कमिलाहरू
हत्या हिंसा बलात्कारमा होइन
निर्माणमा विश्वास गर्छन्
अकुत आर्जनमा होइन
समानतामा बगिरहन्छन् निरन्तर
संसार बनाइरहन्छन् यात्रामै
बिगार्दैनन् विश्वासहरू
भत्काएर सामन्ती शोचहरू
पर्खाल लगाइरहन्छन् समानताको ।
...
गर्न त, मान्छेहरू पनि यात्रा गरिरहन्छन्
मात्र वैभव प्राप्तिका लागि
केवल प्रशस्त कमाउन, आफै खुलेर रमाउन
किन होला
मान्छेको सधैँ स्वार्थपूर्ण यात्रा ?
नामर्द मान्छेहरू
कमिलाको जस्तो अर्थपूर्ण
विशाल मानवीय यात्राको सुरुआत
कहिलेबाट गर्लान् ?
निरुत्तरित मन, पटक–पटक
झसङ्ग झस्किरहन्छ, झस्किरहन्छ ।