बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

थुम्केलीले पुस्तकमा ल्याए ‘कलाकार जीवनवृत्त’

सोमबार, २५ साउन २०७८, १४ : २९
सोमबार, २५ साउन २०७८

कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनी परक कृति ‘कलाकार जीवनवृत्त’ प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के–के कर्माचार्यले आइतबार एक समारोहका बीच कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कुलपति कर्माचार्यले राजनीति, साहित्य लगायतका विधामा धेरै लेखक सक्रिय रहे पनि कलाका बारेमा लेख्ने व्यक्ति निकै कम भएको बताए । उनले कला लेखनमा लेखकलाई प्रोत्साहित गर्न लेखक र कला पत्रकारलाई बर्षेनी प्रतिष्ठानले सम्मान गर्दै आएको बताए ।

‘कलाकारका सिर्जनालाई दस्तावेजका रुपमा संग्रह गर्न प्रतिष्ठानले प्रयास गर्दै तथा पुस्तक प्रकाशन गर्दै आएको छ । आगामी दिनमा कला र कलाकारका बारेमा प्रतिष्ठानले यो कामलाई अझै व्यवस्थित ढंगले निरन्तरता दिँदै जानेछ’ कुलपति कर्माचार्यले ‘नेपाली कला र कलाकारलाई देश विदेशमा चिनाउनका लागि पनि कलालेखन, समीक्षा तथा कला पत्रकारिताको महत्व विशिष्ट रहेको छ ।’

विमोचन कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले कला विषयका प्रकाशन जति धेरै गर्न सक्यो त्यो कला क्षेत्रकै लागि महत्वपूर्ण हुने धारणा राखे ।  कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले ओझेलमा परेको थाङ्का र पौभा कला र कलाकारका बारेमा पुस्तक आउनु सराहनीय कार्य भएको बताए । उनले प्रज्ञा प्रतिष्ठानले नेपाली कलाकारका बारेमा अझ खोज र अनुसन्धान गराई लुकेर रहेका प्रतिभाशाली कलाकारको दस्तावेजीकरण सँगै योगदानको उचित मूल्याँकन गर्नुपर्ने विचार व्यक्त गरे । 

पुस्तक लेखनका क्रममा कोरोना महामारीका कारण निकै कठिनाइको सामना गर्नुपरेको सुनाउँदै पुस्तकका लेखक थुम्केलीले आगामी दिनमा छुटेका र प्रतिभाशाली कलाकारलाई बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरे । विमोचित पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको हो ।

१७२ पृष्ठको उक्त पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारको जीवनीलाई समेटिएको छ । कलाकार मानबहादुर दोङ, वाङ्छु मोक्तान लामा ‘आरके’, लालमान लामा, निमा लामा, भीमबहादुर लामा, होमबहादुर लामा, सुरेन्द्रमान शाक्य, सुन्दर सिंख्वाल, फूर्नाम्गेल मोक्तान, झिग्मे तामाङ ‘मुगुम झिग्मे’, अशोक लामा र पाल्साङ्मो लामाको जीवनी, कलागत प्रवृत्ति तथा कृतित्वको चर्चा गरिएको छ । पुस्तकमा कलाकारको जीवनीसँगै कलाकारका रंगीन चित्रसमेत समावेश गरिएको छ । पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप