बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विकास (कविता)

शनिबार, ३० साउन २०७८, १० : ३४
शनिबार, ३० साउन २०७८

मैले हिँडेको त्यो गोरेटो
साँघुरो तर सुन्दर
चिटिक्क मिलाएर छापेको ढुङ्गा
दुवैतिर खेत, बारी अनि जङ्गल
मुस्किलले भेटिने गाउँघर
वरपीपलको चौतारी
जरुवाको पानी
यात्राको थकाइ अनि चौतारीको सुस्ताइ ।

अगाडि बढ्दै जाँदा
भेटियो कच्ची सडक
चौडा तर धुलाम्मे
धुलोले नै पुरिएका सडक छिमेकीहरू
असहाय रुखहरू, निसास्सिएका पातहरु
धुलाम्ये दिन अनि हिलाम्ये रातहरु ।

अझ अगाडि बढ्दै जाँदा
भेटियो कालोपत्रे सडक 
भत्काइएका चौतारी, मासिएका जरुवा
सडकसँग टाँसिएका घरहरु
र मात्र घरहरु
फाट्टफुट्ट भेटिने रुखहरू
आधाआधी जराहरू तासिएका अपाङ्ग रुखहरू

त्योभन्दा अगाडि जाँदा
भेटियो सहरी सडक, प्रशस्त चौडा र चिल्लो
दायाँ बायाँ,
भत्काएका घर, पाटी, पौवा
मासिएका फुटपाथ
गमलामा रोपिएका केही बेवारिस फूलहरू
भव्य मलको मुनि एउटा ठूलो पर्खालमा
बडो मिहिनेत गरी दुरुस्त झैँ गरी बनाएको पीपलको रुख
त्यसको मुनि
एक हुल मास्कधारी मनुवाहरु र
निसास्सिएर ‘आस्थालीन’ तान्दै गरेको एउटा अधबैँसे

के विकास यही हो ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन आचार्य
निराजन आचार्य
लेखकबाट थप