सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली केराले पाएन बजार, भारतीय केराको आयात रोक्न किसानको माग

बुधबार, १३ असोज २०७८, १० : ४६
बुधबार, १३ असोज २०७८

विगत १५ वर्षदेखि केरा खेती गर्दै आएका नवलपरासीको प्रतापपुर गाउँपालिका ६ का किसान मोतीलाल कोइरी यस वर्ष निकै चिन्तित बनेका छन् । १० बिगाहा क्षेत्रफलमा उनले गरेको केरा खेतीले बजार नपाएपछि बोटमै पाकेर झर्न थालेकाले उनी चिन्तित बनेका हुन् ।

निकै परिश्रम र लगानी गरेर उत्पादन गरेको केराले नेपाली बजारमा भाउ नपाएपछि कुहिने डरले उनी सस्तोमै बेच्न बाध्य भएको बताउँछन् । उनले भने, ‘केरा बोटमा तयार छ केही बोटका केरा पाकेर झर्न थालेका छन्, व्यापारीहरू नेपाली केरा महँगो भन्दै भारतीय बजार धाइरहेका छन् ।’

नेपाली केराभन्दा भारतीय केरा प्रति दर्जन १० रुपैयाँ सस्तोमा पाउने हुँदा नेपालको विभिन्न बजारका भारतीय केरा छ्याप्छ्याप्ती पाउन थालेपछि नेपाली केराको बजार घट्दै गएको छ । जिल्लाका किसानले गत वर्ष केरा प्रति दर्जन ४० देखि ४५ रूपैयाँसम्ममा विक्री गरेका थिए तर यस वर्ष चाडबाडका बेला नेपाली बजारमा भारतीय केराको बिगबिगीले प्रतिदर्जन २५ देखि २८ रुपैयाँमा बिक्री गर्न बाध्य रहेको केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।

चाडबाडका बेला व्यापारीहरू सस्तो खोज्दै भारतीय केरा भित्र्याउन थालेपछि नेपाली केराले बजार पाउन छोडेको छ । किसानहरू केरा त उत्पादन गर्छन् तर उचित मूल्य र बजार नपाएका कारण किसानहरू केरामा आत्मनिर्भर बन्न सकिरहेका छैनन् । ‘बर्सेनि यही समस्या छ, प्रत्येक वर्ष भारतीय केराको आयात रोक्न ज्ञापन पत्र र डेलिगेशनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै सुनुवाई तथा पहल भएको पाइँदैन,’ अध्यक्ष यादवले भने ।

भारतीय केराको आयात रोक्न किसानहरुले लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका छन् । मन्त्री रायमाझीले समस्या समाधान गर्न पहल गर्ने र लुम्बिनी प्रदेश बाहेकका बजारमा पनि केराको आपूर्ति सहज गराउन पहल गर्ने आश्वासन दिएकी छन् ।

केराको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासीमा केरा खेती अहिले दुई हजार ५०० बिगाहा क्षेत्रफलमा हुँदै आएको छ । कृषकहरु केरामा बढी उत्पादन लिन टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड लगायतका उन्नत जातका केराको खेती गर्दै आएका छन् तर केरा महँगो भन्दै व्यापारीहरू भारतीय केरा भित्र्याउन थालेपछि नेपाली केराको बजार घट्दै गएको छ ।

सरकारले किसानहरुलाई केरामा आत्मनिर्भर बनाउन केरा बिमा नीति सुधार गर्नुपर्ने, बिउ बिजन, मलमा अनुदान दिनुपर्ने र केराको बजार व्यवस्थापनसँगै भारतीय केराको आयात रोक्नु पर्ने किसानहरुको माग रहेको संघका अध्यक्ष यादवले बताए । 

गण्डक कमाण्ड क्षेत्र केराको लागि मुख्य पकेट क्षेत्र मानिएको छ । यहाँ किसानहरू व्यावसायिक रुपमा केराखेती गर्ने र उत्पादनलाई मुख्य बजार नारायणघाट, बुटवल, भैरहवा, पोखरा, काठमाडाैं, मुग्लिङ लगायतका बजारमा विक्री वितरण गर्दै आएका छन् । तर बर्सेनि बजारको समस्या देखिए पनि सरकारले ध्यान पु¥याएको पाइँदैन । केरा खेतीतर्फ किसानहरुलाई प्रोत्साहन गर्नु पर्नेमा बिना क्वारेन्टाईन चेकजाँच भारतीय केरा व्यापक रुपमा नेपाल भित्रिरहँदा सम्बन्धित निकाय भने मौन बसेको छ ।

सिजनमा केराले उचित मूल्य र बजार पाएन भने विगतका पर्ष झै यस वर्षपनि कौडीका भाउमा गाउँ–गाउँ घुमेर केरा बेच्नुपर्ने अवस्था आउने किसानहरू बताउँछन् । भारतीय केराको आयात समयमै रोक्न सरकारले पहल नगरेमा आन्दोलनमा उत्रिने किसानहरुको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप