बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा ८ सय जनाको मिर्गौला प्रत्यारोपण सफल

मङ्गलबार, २१ मङ्सिर २०७८, ०७ : २३
मङ्गलबार, २१ मङ्सिर २०७८

मानव अङ्ग प्रत्यारोपण केन्द्रको नामले परिचित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आठसय जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । मंसिर २० गते सोमबार एकजनाको सफल मिर्गौला प्रत्यारोपण गरेपछि अस्पतालमा मिर्गौला प्रत्यारोपणको सङ्ख्या ८ सय पुगेको हो । २०६९ माघ ६ गते बाट मृगौला प्रत्यारोपण शुरु गरेको केन्द्रले ९ वर्षको अवधिमै ८ सय जनाको सफल प्रत्यारोपण सम्पन्न गरेको हो । बेलायातमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्बन्धि अध्ययन र तालिम गरेका वरिष्ठ शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ तथा वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठको टोलीले यो सफलता हात पारेको हो । उनीहरुलाई प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा.डा. राकेश कुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, नर्सिङ्ग निर्देशक कोपिला दाहाल आदिले साथ दिएका थिए । 

सोमबार ८ सय जनाको सफल प्रत्यारोपण सम्पन्न भएलगत्तै केन्द्रका चिकित्सक र कर्मचारीले केक काटेर खुशीयाली मनाएका थिए । केन्द्रमा प्रत्यारोपण भएका मानिसहरुमा अंगदातातर्फ सत प्रतिशत र अङ्ग लिनेहरुमा ९८ प्रतिशत सफलता हासिल भएको छ । ठूलो मात्रामा भएको प्रत्यारोपणमा ९८ प्रतिशत सफलता विश्वमा नै दुर्लभ मानिन्छ । विश्वमा ९५ प्रतिशत सफलता भएपनि त्यसलाई उत्तम मानिने गरिएको छ । नेपालमा मिर्गाला प्रत्यारोपणका लागि सुविधासम्पन्न केन्द्र खोलेर सुरुवात गराउने डा. पुकारचन्द्र श्रेष्ठलाई करिब डेढ वर्षअघि केन्द्रको निर्देशक बाट हटाइएको थियो । केपी ओली नेतृत्वको सरकारले ओलीका निजी चिकित्सक दिव्या सिंहको जोडबलमा टिचिङ अस्पतालका चिकित्सक प्रेम ज्ञवालीलाई केन्द्रको निर्देशक बनाएर पठाएको थियो । डेढ वर्षको अवधिमा ज्ञवाली नेतृत्वको टोलीले जम्मा ६८ वटा प्रत्यारोपण गरेको थियो जसमा ४ वटा ट्रान्सप्लाण्ट फेल भएको थियो । फेल भएका चारवटा ट्रान्सप्लाण्टमा दुई जनाको मृत्यु नै भएको केन्द्र स्रोतले बताएको छ । 

केन्द्रको कार्यकारी निर्देशकमा २ महिना अघि मात्र डा. पुकारचन्द्र श्रेष्ठलाई पुनःनियुक्ति दिइएको थियो । यो अवधिमा दशैं र तिहारको छुट्टी घटाउँदा पनि ३७ जनाको सफलतापूर्वक मिर्गौैला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । पछिल्लो ३७ वटै प्रत्यारोपणमा शतप्रतिशत सफलता हासिल गरेको केन्द्रले जनाएको छ । पछिल्लोपटक मिर्गौला प्रत्यारोपण गर्नेहरुमा २५ जना पुरुष र १२ जना महिला रहेका छन् । प्रत्यारोपण भएकामध्ये प्रदेश १ बाट ८ जना, प्रदेश २ बाट १० जना, बागमती प्रदेशबाट ७ जना, गण्डकी प्रदेशबाट ४ जना, लुम्बिनी प्रदेशबाट ४ जना, कर्णाली प्रदेशबाट २ जना र सुदुर पश्चिम प्रदेशबाट २ जना रहेको केन्द्रले बताएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण फेल भएका पूर्वमन्त्री दलजित श्रीपालीका श्रीमती सुनकुमारी बिक तथा कमलराज गिरीको पनि केन्द्रमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न भएको छ । त्यसैगरी नेपालकै सफलता दर देखेर बेलायतबाट दुईजना नेपाली नागरिक मिर्गौला प्रत्यारोपणका लागि केन्द्रमा आएका थिए । उनीहरुको पनि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप