आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा चुनाव : कुन प्रदेशमा कुन पार्टीका कति मतदाता ?

एमालेलाई चुनाव जित्न सकस, यस्तो छ सात प्रदेशको मतभार
बुधबार, ०७ पुस २०७८, १२ : १९
बुधबार, ०७ पुस २०७८

आउँदो फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । राष्ट्रिय सभा चुनावका लागि कूल २ हजार २५ जना मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ५३२ जना तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर १ हजार ४९३ जना मतदाता छन् ।

यो चुनावबाट सबै प्रमुख दलहरू राष्ट्रियसभामा हाल कायम रहेको वर्चश्व जोगाउने रणनीतिमा छन् । खासगरी काँग्रेस, माओवादी, एकीकृत समाजवादीबीच गठबन्धन बनेको अवस्थामा नेकपा एमालेलाई पहिलेका ८ वटा सीट जोगाउनुपर्ने चुनौती छ ।

आगामी फागुनदेखि ७ प्रदेशबाट एमालेका कुल ८ सांसद बिदा हुँदैछन् । प्रदेश १ बाट उसका ३ सांसद बिदा हुँदैछन् भने अन्य प्रदेशबाट ५  सांसद बिदा हुँदैछन् । सात प्रदेशमा राष्ट्रिय सभाको मतदाताको मतभार हेर्दा एमाले कमजोर देखिएको छ ।

प्रदेश १ मा भने एमाले गठबन्धन दलको कूल मत जोड्दा पनि अग्रस्थानमा छ । अन्य ६ वटा प्रदेशमा भने एमाले कमजोर देखिएको छ । तर, सत्ता साझेदार दलहरू राष्ट्रिय सभाको चुनावमा पनि गठबन्धन बनाएरै जाने निश्चित भएकाले एमालेका लागि चुनाव जित्न ठुलो चुनौती देखिन्छ ।

सातै प्रदेशमा मतदान केन्द्र

निर्वाचन आयोगले प्रदेश १ मा दुई मतदान केन्द्र राख्ने तयारी गरेको छ भने अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थल राख्नेछ । ७ प्रदेशमा कूल १४ मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

प्रदेश १ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदातालाई प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा मतदान स्थल बनाइएको छ । प्रदेश सभा सदस्य मतदाताका लागि बाली संरक्षण प्रयोगशालाको कार्यालय विराटनगरमा मतदान स्थल राख्नेछ ।

प्रदेश २ मा जनकपुरमा रहेको महेन्द्रनारायण निधि भवनलाई मतदान स्थल बनाइएको छ । बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशमा दाङमा रहेको कर्मचारी मिलन केन्द्रको कार्यालय, कर्णाली प्रदेशमा सुर्खेतमा रहेको प्रदेश निर्वाचन कार्यालय, र सुदूरपश्चिम प्रदेशमा धनगढीमा रहेको प्रदेश सभा भवनमा मतदानस्थल बनाइने छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावमा भाग लिन यही  पुस १० गतेसम्म राजनीतिक दल दर्ता गर्न भनेको छ । निर्वाचन कार्यतालिका अन्तर्गत पुस १७गते मतदाता नामावली प्रकाशन गर्ने, पुस १९ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता, पुस २४ गते मनोनयन फिर्ता लिने समय, पुस २५ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने र माघ १२ गते मतदानको कार्यक्रम राखिएको आयोगले जनाएको छ ।

यस्तो छ प्रदेशगत आधारमा मतदाता र मतभार

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तह गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाताका रुपमा रहन्छन् । एक जना प्रदेश सभा सदस्य बराबर ४८ मत कायम गरिएको छ भने स्थानीय तहका प्रतिनिधिको मतभार १८ कायम गरिएको छ ।

प्रदेश नम्बर १

प्रदेश नम्बर १ मा गाउँपालिका तथा नगरपालिका स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर २ सय ७२ जना मतदाता रहेका छन् । यस्तै ९२ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश १ मा ९ हजार ३ सय ४८ मतभार रहेको छ ।

यहाँ एमालेको मतभार ४ हजार ५ सय ४२, काँग्रेसको २६ सय १० माओवादी केन्द्रको ९ सय ६०, नेकपा एकीकृत समाजवादीको ६७८, जसपाको २ सय १६, राप्रपाको २ सय १०, संयुक्त लोकतान्त्रिक फोरमको १ सय २६, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८र स्वतन्त्र एक सांसदको ४८ मतभार छ ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा स्थानीय तहबाट २ सय ६८ मतदाता छन् भने प्रदेश सभा तर्फबाट १ सय ४ जना छन् । यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा प्रदेश २ मा काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, एमालेको ९ सय ४२, नेकपा एसको ७ सय ५०, जसपाको २९ सय ८८, लोसपाको १५ सय ६०, लोकतान्त्रिक फोरमको १ सय ८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत  छ । 

बागमती प्रदेश

बागमती प्रदेशमा स्थानीय तहबाट २ सय ३७ मतदाता छन् भने प्रदेशसभाबाट १ सय ९ जना रहेका छन् । यहाँ कुल ९ हजार ४ सय ९८ मतभार रहेको छ । यहाँ कुल ९ हजार ८ सय ८८ मतभार छ ।

यो प्रदेशमा एमालेको ४१ सय ५२ मतभार, काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको १६९८ मतभार, विवेकशील साझाको १ स ४४ मतभार, राप्रपाको १ सय ३२ मतभार, नेमकिपाको ९६ मतभार र एक सांसद र २ पालिका प्रतिनिधिबाट ८४ स्वतन्त्र मतभार छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा स्थानीय तहबाट १ सय ७० मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५९ जना मतदाता छन् । यहाँ कुल ५ हजार ८ सय ७४ मतभार छ ।

यो प्रदेशमा सबैभन्दा धेरै एमालेको २५ सय ३८ मतभार, काँग्रेसको २१ सय ७८ मतभार, माओवादी केन्द्रको ७९२, जसपाको ९६, राष्ट्रिय जनमोर्चाको ९६, राप्रपाको १८ र स्वतन्त्र १ सय ३८ मतभार रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा स्थानीय तहबाट २ सय १५ जना मतदाता रहेका छन् भने प्रदेश सभातर्फ ८१ जना रहेका छन् । लुम्बिनीमा कुल ७ हजार ७ सय ६४ मतभार रहेको छ ।

यहाँ एमालेको ३२ सय ७६ मतभार, काँग्रेसको २ हजार ६४, माओवादीको १६ सय ५०, नेकपा एसको १ सय २०, जसपाको ३ सय २४, लोसपाको ३६, राजमोको ४८, राप्रपाको ३६, लोकतान्त्रिक फोरमको ३६, एक सांसदको ४८ र स्वतन्त्र १ सय २६ मतभार छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा स्थानीय तहबाट १ सय ५६ मतदाता रहेका छन् भने प्रदेश तहबाट ३५ जना मतदाता रहेका छन् । कर्णालीमा कुल ४ हजार ५ सय २४ मतभार रहेको छ । यहाँ माओवादी केन्द्रको मतभार १४ सय ९४, एमालेको १४ सय ३४, काँग्रेसको १ हजार ८, राप्रपाको ८४ र स्वतन्त्र १ सय ८ मतभार छ ।

सुदुर पश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशमा स्थानीय तहबाट १ सय ७५ मतदाता रहेका छन् भने प्रदेश सभाबाट ५२ जना मतदाता रहेका छन् । यहाँ कूल ५ हजार ६ सय ६४ मतभार छ ।

यहाँ काँग्रेसको मतभार १८ सय ७२, एमालेको १७ सय ८८, माओवादी केन्द्रको ९ सय ६६, नेकपा एकीकृत समाजवादीको ९ सय ६, जसपाको ४८, लोसपाको ४८, लोकतान्त्रिक फोरमको ३६ मतभार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप