सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झिल्टुङ, अर्चलेकोटः खस सम्राटको नेपाल उपत्यका आक्रमणको आधार शिविर !

बिहीबार, २० माघ २०७८, ११ : २४
बिहीबार, २० माघ २०७८

नारायण नेपाल

नुवाकोटको दक्षिण पश्चिममा पर्ने एक अग्लो थुक्कालाई कोटथुम्का भनिन्छ । त्रिशूली नदीले उत्तर पश्चिम घुमेर बगेको यो गाउँको प्राचीन नाम झिल्टुङ हो । कतिपयले त्यो थुम्को झिल्टुङकोट हो भनेर भन्ने गरेका छन् भने कतिपयले कोटको नामै एकीन हुन नसकेको तर्क गरिरहेका छन् । इतिहासको अध्ययन पर्गेल्दै केही तथ्यबारे यस लेखमा विमर्श गरिएको छ ।

लिच्छवीकालीन बस्तीमा खस मल्लको नजर

मध्यकालीन नेपाल सैन्य हिसाबमा कमजोर राज्यको रूपमा थियो । लिच्छवीकालीन बस्तीमा खस मल्ल शासकको नजर परेको पाइन्छ । खसहरूको आक्रमण र राज्यविस्तारको अभियानले पश्चिम कर्णाली प्रदेशमा नयाँ शक्तिशाली खस राज्यको उदयपछि तिनीहरूले पूर्वतिर आफ्नो प्रभाव फैलाउँदै लगेका तथ्य मध्यकालीन इतिहासमा पाइन्छ ।

हाल धादिङको थाक्रे गाउँपालिका साविक केवलपुर गाउँको लामीडाँडा क्षेत्रको बसाहडाँडामा फेला परेको लिच्छवीकालीन धु्रवदेव जिष्णु गुप्तको अभिलेख एक महत्वपूर्ण तथ्य हो । यो शिलालेखले त्रिशूली पूर्वको यो भूगोलमा भएको लिच्छवीकालीन आवाद वस्तीलाई प्रमाणित गरेको छ ।

लिच्छवीकालीन ‘नुप्पुन्न’ निक्कै पुरानो बस्ती भएको इतिहासमा उल्लेख छ । लिच्छवीकालीन इतिहासमा राजा वसुराजको नाम उल्लेख छ । उनीपछिको श्रीमहिदेवले यस क्षेत्रमा सुविधा उपलब्ध गराएको प्रसङ्गसमेत अभिलेखमा उल्लेख छ । लिच्छवीकालीन इतिहासमा राजा वसुराजको अस्तित्व रहेको प्रमाणित हुनु र त्यो शिलालेखमा वसुराजको प्रसङ्ग उल्लेख हुनुले इतिहासको तथ्य प्रमाणित गर्दछ भने त्यही वसुराजको दरबार वा भवन भएको डाँडा अपभ्रंश भएर कालान्तरमा बसाहडाँडा नामकरण भएको हुन सक्छ । अथवा त्यो शिलालेखमाथि रहेको बसाहचित्रले यो स्थानको नाम रहेको हुन सक्छ । ध्रुवदेव जिष्णुगुप्तको अभिलेख स्रोत योगी नरहरिनाथ, सन्धिपत्र सङ्ग्रह भाग १ र लिच्छवीकालीन अभिलेख सङ्ग्रह ः पुरातत्व विभाग पृ. ४१४–१८ मा उल्लेख छ ।

आजको काठमाडौंलाई नेपाल भन्ने बूढापाका अझै भेटिन्छन् । इतिहासको बारेमा उतिबेला नेपाल जाने पश्चिमी मूलबाटो स्वयम्भू, सीतापाइला रामकोट, भीमढुंगा देउराली हुँदै जाने बाटो नै प्रमुख थियो । त्यो बेलाको बाटोमा रहेका चिनोहरू आजसम्म उस्तै छ । यो खस सेनाका मार्गमा रहेका देउराली चौतारी, फाँटको पौवा, फेदीको पौवा, ढुंगे धारो, गढीको थुम्को, थपिन्थुम्को अहिले पनि इतिहासका चिनो हुन् ।

खस राज्य र त्यसको पूर्वी सिमानाबारे कहिले स्वतन्त्र र कहिले नेपाल उपत्यकाको अधिनमा रहेको यो क्षेत्रबारे केही भ्रम वा विवादास्पद तथ्य हुन सक्छ । तर पश्चिममा प्रभाव विस्तार गरेको खसराज्यको सिमानाबारे इतिहासकार डा.सूर्यमणि अधिकारीले लेख्नुभएको छ । उहाँका अनुसार, ‘खस राज्यको सिमानाबारे पूर्वमा त्रिशुली नदी रहेको थियो ।’ (अधिकारी, २०६०ः १५) । मल्लकालीन नेपालमा यो क्षेत्र नेपाल उपत्यकाको अधिनमा रहेको क्षेत्र हो भन्ने तथ्य मल्लकालीन इतिहासका तथ्य उजेल्ने लेखकहरूले उल्लेख गरेका छन् । इतिहासकार श्रीकृष्ण आचार्य लेख्नुहुन्छ, ‘बेलकोटगढीमा रहेको गढी किल्लाको पतन भएपछि तादी नदीभन्दा पारितर्फका नुवाकोट इलाकाका दक्षिण पश्चिम भेगमा रहेको लामीडाँडा इलाकासम्म कान्तिपुर राज्यका सम्पूर्ण भू–भागहरू गोरखा राज्यकै नियन्त्रणमा पर्न पुगे ।’ (नेपालका पछिल्ला मल्ल राजाहरूको अन्तकलह खण्ड एक ः श्रीकृष्ण आचार्य पृ. ११८ ।) लामीडाँडा क्षेत्र हाल केवलपुरमा फेला परेको लिच्छवीकालीन शिलालेख अंशुवर्मा र नुवाकोटको ठकुरी वंशको शासनसँगै रहेको तथ्य मात्रै होइन, नुवाकोटतिर भेटिएको लिच्छवीकालीन संरचना र इतिहासको क ख नजानेका बुढापाकाको जनश्रुति किन मिल्छ होला ? त्यो खोज अनुसन्धानको विषय हो ।

खस मल्लद्वारा नेपाल उपत्यकामा आक्रमण

पश्चिमका खस मल्ल शासकहरूद्वारा नेपाल उपत्यकामा बारम्बार आक्रमण गरेका तथ्य इतिहासमा उल्लेख छ । गोपाल वंशावलीको पत्र उल्लेख गर्दै वि.सं. १३४४ देखि १३९१ सम्म सात पटक खस सम्राटहरूले उपत्यका आक्रमण गरेका थिए । इतिहास अध्येता डा.सूर्यमणि अधिकारीका अनुसार खस मल्ल राजा जितारी मल्लका पालादेखि नेपाल उपत्यका आक्रमण गर्न थाले (अधिकारी, २०६०ः ११) । त्यसबेला खस सेनाहरू पश्चिमबाट वि.सं. १३४४ मा पहिलोपल्ट नेपाल उपत्यका पसेका थिए । त्योबेला आठ सय सेनालाई स्वयम्भूमा सिध्याएर सबै वन पसेपछि खस सेना फर्किएका थिए । त्यसपछि एक बर्षपछि उनै खस सम्राट जितारीको सेनाले गाउँमा आगो लगाएर उपत्यका कब्जा गरेर वि.सं. १३४७ मा आफ्नो देश फर्किएको तथ्य नुवाकोटको ऐतिहासिक रूपरेखा पुस्तकमा उल्लेख छ । पश्चात्ख शियाववः । राजा जयतारि प्रथम प्रबिष्ट ः सम्वच्छर चारी सय आठ पौषमासे साह्यगुस्थाने खशिया अबुठ शय पातयित्वा, राष्ट्र सर्व वने सेवितम् तेन पालियतम् लोक स्वस्थेत स्वस्थानस्थितम् । तस्य सम्वच्छर प्रवर्तते फाल्गुन मास शुल्क त्रयोदशी । पुनःद्वितीय जयतारी प्रविष्टः । ग्रामादि अग्निदाह कारेति स्येगुचेत प्रस्थयति  (बज्राचार्य र श्रेष्ठः २०३१, २७) ।

यो आक्रमणपछि खस राजा रिपु मल्लको अल्पअवधिको शासन चलेको थियो । त्यसपछि जितारी मल्लको छोरा आदित्य मल्ल सिञ्जाको राजगद्धीमा बसेको इतिहासमा उल्लेख छ । उनले नेपाल आक्रमण गरेको तथ्य इतिहासमा फेला परेको छ, आदित्य मल्लको पालामा खस सेनाले दुईपटक नेपाल उपत्यका आक्रमण गरेका थिए । (अधिकारी, २०६०ः १३) ।   वि.सं. १३७७ र वि.सं. १३८५ मा खस राजा आदित्य मल्लले नेपाल उपत्यका आक्रमण गरेका थिए भन्ने अधिकारीले उल्लेख गरेका छन् । त्यस अतिरिक्त पुण्य मल्लको पालामा वि.सं. १३९१ सम्म नेपाल उपत्यका आक्रमण भएको इतिहास पाइन्छ ।

एक वर्षपछि लगत्तै आक्रमण गर्ने जितारीका सेनाहरूले शक्ति सञ्चय गर्न सिञ्जा पुगे होलान् कि नजिकै कुनै स्थानमा किल्ला खडा गरेर बसे होलान् ? त्यो खस मल्लकाल सँगको साइनो जोडिएको त छैन अचलैकोटको मौलोमा ? यो ऐतिहासिक खोजीको पक्ष हो । त्यतिबेला राजा र उनका सेनाहरूले कुन बाटोबाट उपत्यका प्रवेश गरे होलान् ? कहाँ कहाँ बसेर युद्धको तयारी गरे होलान् ? इतिहासमा खस साम्राज्यको विस्तारमा नेपाल उपत्यकाको आक्रमण पूर्वतयारीको किल्ला कुन कुन थियो होला ? कतै इतिहासको यी गुमनाम तथ्यहरू यही नुवाकोटको माटोमा त बिलाएको छैन ? खोज उत्खनन जरुरी छ ।

आजको काठमाडौंलाई नेपाल भन्ने बूढापाका अझै भेटिन्छन् । इतिहासको बारेमा उतिबेला नेपाल जाने पश्चिमी मूलबाटो स्वयम्भू, सीतापाइला रामकोट, भीमढुंगा देउराली हुँदै जाने बाटो नै प्रमुख थियो । त्यो बेलाको बाटोमा रहेका चिनोहरू आजसम्म उस्तै छ । यो खस सेनाका मार्गमा रहेका देउराली चौतारी, फाँटको पौवा, फेदीको पौवा, ढुंगे धारो, गढीको थुम्को, थपिन्थुम्को अहिले पनि इतिहासका चिनो हुन् ।

इतिहासको अध्ययनमा फेला परेका तथ्यहरूसँग मिल्दाजुल्दा भग्नावशेष र जनश्रुतिहरू झिल्टुङको बस्तीमा रहेको पाइन्छ । त्यो लडार्इंको आहान राजा–रानी भागेर लुकेको राजओडार रानीओडारसँगै त्यो लडाईंको मिथक ती ओडारको परिचयमा जोडिएको पाइन्छ ।

खस मल्लद्वारा नुवाकोट आक्रमण

मध्यकालीन नेपालको इतिहास अध्ययन गर्दा खसिया राजाहरूले गोर्खासम्म आफ्नो हातमा पारेका थिए भन्ने प्रष्ट तथ्य पाइन्छ । त्यतिबेला नुवाकोट भने नेपाल उपत्यका राज्यअन्तर्गत रहेको थियो । गोपाल वंशावलीमा नुवाकोटको चर्चा कर्णाली प्रदेशका खस राजा जितारी मल्लले नुवाकोट कब्जा गरेको प्रसङ्गमा आएको पाइन्छ । (बज्राचार्य र श्रेष्ठः २०३१, २७) । खसराजा जितारी मल्लले वि.सं. १३४४ तिर नेपाल उपत्यका आक्रमण गरेको पाइन्छ । त्यसपछि रुद्र मल्लले वि.सं. १३७४ मा नुवाकोट कब्जा गरेको इतिहासमा उल्लेख छ । मित्रताको नातामा नेपाल भ्रमण गर्न आएका खस राजा रिपु मल्लको यात्रासँगै खसहरूको नुवाकोट राज्यमा दृष्टि गढेको सुइँको पाएका रुद्र मल्लले नुवाकोटलाई राम्रोसँग कज्याएको प्रसङ्ग गोपाल वंशावलीमा उल्लेख भएको इतिहास अध्येता बज्राचार्यको ठहर छ । समस्त नेपाल श्री जयरुद्र मल्ल इवनुवकोट भुङ्तीप्रजंत राज कृतंम् । (बज्राचार्य र श्रेष्ठः २०३१ः ३३) । रुद्र मल्लको शासनकालमा नुवाकोट केन्द्र सम्मिलित थियो । र, त्यसपछि आदित्य मल्लको आक्रमणपछि नुवाकोट खस राज्यको मातहत भएको तथ्य पाइन्छ । खस राजा आदित्य मल्लले वि.सं. १३८४ को फागुनमा नेपाल उपत्यका आक्रमण गरेको र त्यो आक्रमणको पहिलो मार नुवाकोटमा परेको प्रसङ्ग इतिहासमा उल्लेख भएको छ । नुवाकोटको ऐतिहासिक रूपरेखा पुस्तककाअनुसार ः उनको आक्रमणको पहिलो मार नुवाकोटमा पर्यो, केन्द्रले नुवाकोट थेग्न सकेन । यसो हुनाले सजिलोसँग नुवाकोटमा आदित्य मल्लको अधिकार जम्यो  (बज्राचार्य र श्रेष्ठः २०३१ः ३४) ।

इतिहासको अध्ययनमा फेला परेका तथ्यहरूसँग मिल्दाजुल्दा भग्नावशेष र जनश्रुतिहरू झिल्टुङको बस्तीमा रहेको पाइन्छ । त्यो लडार्इंको आहान राजा–रानी भागेर लुकेको राजओडार रानीओडारसँगै त्यो लडाईंको मिथक ती ओडारको परिचयमा जोडिएको पाइन्छ । वयोवृद्ध समाजसेवी तथा पूर्वप्रधानपञ्च छविलाल श्रेष्ठ भन्नुहुन्छ, ‘त्यो कोटघर भन्दा तल एक खावा थियो, अहिले मासियो ।’ यहाँको कोट जात्रापर्व संस्कृति राजा शिशु मल्लको पालादेखि चलिआएको चलन हो भन्ने प्रचलन छ ।

लाखेजात्रा र कोट कटुवालले उल्लेख गर्दै आएको त्यो शिशु मल्लबारे इतिहासमा कुनै तथ्य फेला परेको छैन । तर कौशिकादि सन्तती पुस्तकमा पूर्णप्रकाश नेपालले लेख्नुभएको छ,  ‘पहिलोपल्ट मण्डन प्रवेश गर्दा सगोत्रबान्धव बसुदाखर बरालका हितमा कौमुदी र वसुपाध्याले सिन्धुकोटका राजा शिशु मल्लका रोहबरमा कोल्पुटार र बेत्रावती बिर्ता, मण्डन र पाचखालसँग सटापटा गरेका हुन् भन्ने जनश्रुति छ  (नेपालयात्री, २०४५ः १७८) । को हुन् शिशु मल्ल ? कहाँका राजा थिए ? कसरी कोल्पुटार बेत्रावती र सिपामण्डन बिर्ता सट्टापट्टा गरिदिए उनले ? भन्ने प्रश्न पनि उठ्न सक्छ । सिन्धुकोटका राजा सम्भवतः शिव मल्ल हुन सक्ने अनुमान सत्यको नजिक भएको तर्क छ पुर्णप्रकाश नेपालको (नेपालयात्री, २०४५ः १७८) । रिपु मल्ल भन्दा भन्दै शिशु भयो कि शिव मल्ल हुन् ? त्यो अन्योल नै रहेको छ । तर रोचक तथ्य के छ भने उनी को हुन् ? कहाँका राजा हुन् ? त्यो तथ्य इतिहासकारले उजेल्न सकेका छैनन् । तर उनै शिशु मल्लको आदेशमा चलेको चलन भन्दै अहिलेसम्म यो झिल्टुङको समाज र सभ्यतामा सांस्कृतिक सभ्यताको जीवितता उनै शिशु मल्लको आदेश हो भन्ने भेट्न सकिन्छ ।

खस मल्लद्वारा नेपाललाई झिल्टुङ बिर्ता

झिल्टुङ, अर्चलेकोट यही स्थानमा रहेको थियो भन्ने प्रमाणित एकीन पहिचान भएको छैन । झिल्टुङभित्र भएको विभिन्न स्थानको नामकरणलाई लिएर हेर्ने हो भने एक अर्चले भन्ने स्थान रहेको पाइन्छ । नेपालको अंशवण्डा हुने बेलाको जनश्रुतिको श्लोकमा समेत अर्चलेबारी अंशबण्डाको प्रसङ्ग उल्लेख भएको छ ।

अर्चलेबारी, तितेपातीघारी, बेसी दाहालटारी, नेपालटारी ।

भालु खोलापारी दाहाल भान्जालाई पूर्णसारी

कान्तु र कुन्तुलाई आधा आधा पारी ।

नेपाल वंशावली खोज तथा पुनर्लेखन यात्रा दशकौँ देखिका अविराम यात्री रामप्रसाद नेपाल भन्नुहुन्छ, ‘त्यही अर्चलेबारीमा रहेको महादेव मन्दिर र धामीले गाडेको ढुङ्गो भएको क्षेत्रमा नै अर्चलेकोट रहेको हुन सक्छ ।) खस राजा जितारी मल्लका राजपुरेत विद्वान भास्कर पण्डितका सन्तानलाई राजा आदित्य मल्लले झिल्टुङमा बिर्ता दिएका थिए । त्यतिबेला धैवुपाध्य नेपाललाई खस राजा आदित्य मल्लले विर्ता दिएको इतिहासका तथ्यहरूमा स्पष्ट उल्लेख छ । खस सम्राट आदित्यमल्लद्वारा धैवुपाध्य नेपाललाई त्रिशुली र बेत्रावतिबीचको भूभाग झिल्टुङ, बरितुङ्ग आदि गाउँहरू बिर्ता दिए । त्यस भेगमा भृतसेनाका तैनाथवाला बनाएकाले धैवुका खलकहरू त्यस भेगमा फैलिएका (नेपालयात्री, २०४५ः १७८) ।

नेपालले बिर्ता पाएको यो स्थान र इतिहासमा खस सम्राटले नेपाल उपत्यकामा आक्रमण गरेको तथ्यलाई तुृलना गरेर हेर्दा वि.सं. १३७७ देखि वि.सं. १३८५ सम्म नेपाल आक्रमण गरेको खस राजा आदित्य मल्ल रहेको पाइन्छ । त्यो क्षेत्रमा रहेको युद्ध अवशेषहरू त्यही खस साम्रज्यकालीन नहोला भन्न सकिन्न ।

नुवाकोट भैरवीको धामीको अर्चलेकोट यात्रा

खस राजा रिपु मल्ल धार्मिक राजा भएको पाइन्छ । संस्कृति नै राज्यको मेरुदण्ड मान्ने खस राज्यको मान्यता थियो । रिपु मल्लले घण्ट चढाएको प्रमाण नुवाकोटमा रहेको घण्ट र शिलालेखले दिएको छ । श्रीरिपु मल्ल देवेन । सद्भक्तद्या दीपिका निदितयामि ।। प्रदत्ता पुण्यभावेज कुशलानि हि मे  सदा राज्यलक्ष्मीष्ठिरनश्चंवप्राप्त सिद्धि । नुवाकोट दरबारमा रहेको नारायण मन्दिरको अभिलेखबारे इतिहासकारको दाबी छ । ने.सं. ५६१ वि.सं. १४९८ मा भाद्रशुक्ल सप्तमी बुधवारका दिन दीपिका पानस चढाइएको उल्लेख छ । (बज्राचार्य र श्रेष्ठ, २०३१ः ४) । रिपु मल्ल १३६९–७० खस राज्यको राजा भएको देखिन्छ भने उनको नेपाल आगमन ने.सं. ४३३ वि.सं. १३६९ मा भएको तथ्य इतिहास अध्येता डा.अधिकारीले उल्लेख गरेका छन् (अधिकारी, २०६०ः १२) ।

झिल्टुङ अर्चलेका स्थानीय प्रेमबहादुर तामाङ भन्छन्, ‘मेरो हजुरबुवा पुर्णबहादुर तामाङले मलाई भन्नु भएअनुसार त्यो अर्चलेटारमा रहेको घण्ट धामीले चढाएको हो र त्यहाँ गाडेको ढुङ्गा धामीले गाडेको हो । यहाँको जात्रामा धामी आउने गरेको थियो ।’ झिल्टुङको अर्चलेटारमा लाग्ने मेला पर्वको चिनो रहेको छ टारको महादेव मन्दिर, देवीथान र धामीले गाडेको ढुङ्गा । विगतमा जस्तो मेलाजात्रा विस्तारै लोप हुँदै गएको छ । हिजो आज लगभग चहलपहल शुन्य छ यो टारतिर ।

उमेरले ९० वर्ष पुगेका पुर्णबहादुरकी बहिनी धनकुमारी तामाङलाई सम्झना भएअनुसार यो अर्चलेटारमा आउने धामी लिन उहाँका दाजु पुर्णबहादुर केही पर रहेको धामी रुम्टोसम्म जाने गरेका थिए । नुवाकोट भैरवीबाट देवीघाटमा आएको धामी धामीरुम्टोमा आइपुगेर नुहाएर कपडा फेरेपछि बाटोमा कपडा बिछ्याउँदै अर्चलेटारसम्म लैजाने गरेका थिए । भैरवी र अर्चलेकोटको यो सम्बन्धको पाटो के थियो र कसरी पूर्णविराम लाग्यो ? खोजीको अर्को सवाल हो ।

नामकरण र सांस्कृतिकरण

नुवाकोटमा रहेको भौतिक र अभौतिक प्रमाणको रूपमा यो नामकरणको सवाललाई लिन सकिन्छ । अर्चले, मालिकाथान, कामरु, देउराली, गढीको थुम्को, फाँटको पौवा इतिहासका अवशेषका केही प्रतीकमात्रै हुन् । राज्यशासनको जग नै संस्कृति हो भन्ने मानेर महत्व दिएका थिए खस राजाहरूले । त्यही आधार यो क्षेत्रमा रहेको अभौतिक सम्पदा, संस्कृतिलाई लिन सकिन्छ ।

७ सय झिल्टुङको आहान

प्राचीन कालमा राज्यहरूको बारेमा विभिन्न आहान बन्ने गरेका छन् । त्यस्तै ७ सय झिल्टुङको आहान त छैन तर कसैले ७ सय गाउँको राज्य हो भन्ने गरेका छन् भने कतिले ७ सय मुरी माटो । कति हो झिल्टुङ र कहाँसम्म थियो सिमाना ? भन्ने प्रष्ट सवालसमेत छैन भने सिन्धुकोटको राजाले बेत्रावति र कोल्पुटारसँग पाँचखाल र मण्डन साटफेर गर्ने ल्याकत राख्न सक्ने हो भने त्यो राज्य उपत्यका बाहेकमा उही सुनकोशी, बेत्रावती र लामीडाँडासम्म त थिएन ? भारतको छत्तिस लाख गाउँको, कान्यकुञ्ज देश, नेपाल एक लाख गाउँको देश भएको तथ्य छ भने ७ सय गाउँको झिल्टुङ राज्य हुन पनि त सक्छ । यो ७ सय झिल्टुङ भन्ने आहान कतै मिल्न पनि त सक्छ । भारतमा काव्यकुञ्ज देशको निर्माण गर्न छत्तिस लाख गाउँहरूको सहयोग थियो । यस्तो किटान पद्यपुराण एवं स्कन्द पुराणमा लेखिएको छ ः

एकोलक्षन्तु नेपाले ग्रामत्तत्र प्रवर्तते ।

षड्स्त्रिंसल्लक्षमानन्तु कान्यकुब्जे प्रतिष्ठित।।

पद्यपुराण पाताल खण्ड४१ अध्याय २०१ पद्य, तत्कालीन नेपालको निर्माणमा एक लाख गाउँहरूको सहयोग थियो । यस्तो किटान पद्यपुराण एवं स्कन्दपुराणमा लेखिएको छ ,

एकोलाक्षश्च नेपाले ग्रामाणां परिकीतितः।

षड्स्त्रिंसल्लक्षमानन्तु कान्यकुब्जे प्रर्कीतितम्।।

(नेपालयात्री, २०४५ः १६६) ।

नेपालको इतिहासमा त्रिशूली नदी सभ्यताको र खस राज्यको इतिहासको बारेमा मिल्दोजुल्दो तथ्य धेरै रहेको पाइन्छ । कतै यो झिल्टुङको सभ्यताले पनि त्यही आदिम इतिहास त बोकेको छैन ? प्रमाणित इतिहासका तथ्यहरूलाई केलाएर विमर्श गर्न जरुरी छ ।

चिनियाँ रेशमी मार्गको इतिहासको त्यान्द्रो हाम्रो कुन भू–सतहमा थियो होला ? के नेपाल पक्षले यसको ऐतिहासिकताको अध्ययन गर्न सकेको छ ? दक्षिण चितवनको सोमेश्वरगढी र उत्तर रसुवाको रसुवागढीको किल्लाले सङ्केत गर्ने छिमेक सम्बन्ध र भू–राजनीतिक सम्बन्धको आयामका बारेमा यो माटोमा इतिहासका केही तथ्य रहेका हुन सक्छन् । समाजशास्त्रीय कोणबाट खोज जरुरी छ । विडम्वना, अनेक व्यवस्था फेरिए पनि हालसम्म झिल्टुङ गाउँको प्राचीन संस्कृति र इतिहासको तथ्यबारे एकीन अध्ययन, अनुसन्धान र प्रमाणिक अन्वेषण कार्य हुन सकेको छैन ।

सन्दर्भ सामग्रीः

अधिकारी, सूर्यमणि । २०६० । बाइसे राज्यको इतिहास ।

नेपालयात्री, पुर्णप्रकाश । २०४५ । कौशिकादि सन्तति । काठमाडौंः नेपाल वंशज परिषद ।

बज्राचार्य, धनबज्र र श्रेष्ठ, टेकबहादुर । २०३१ । नुवाकोटको ऐतिहासिक रूपरेखा ।  कीर्तिपुरः एसियाली अध्ययन संस्थान त्रिवि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप