आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जयनन्द लामा : कलाकारिताले गुमाएको ‘कम्प्लिट प्याकेज’

कलाकर्मी भन्छन्, ‘आँखामा राख्दा पनि नबिझाउने थिए’
बुधबार, ११ फागुन २०७८, १६ : ४७
बुधबार, ११ फागुन २०७८

‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ...’, ‘चुइँ चुइँ चुइँकने जुत्ता...’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ लगायत गीत नेपालीजनको ओठमा झुन्डिएको छ । गायक तथा कलाकार जयनन्द लामाका गीत हामीले युगौँयुगका लागि पाए पनि उनी भौतिक रूपमा भने भेटिने छैनन् ।

गीत तथा अभिनयमार्फत सबैको मन जित्न सफल लामाले सदाका लागि बिदा लिइसकेका छन् । ६६ वर्षका लामाको बुधबार बिहान २ बजे आफ्नै घर अगाडिको कार पार्किङमा मृत्यु भएको हो । सिन्धुपाल्चोकको बाहबीसे–२ घर भएका लामा भक्तपुर कौशलटारमा बस्दै आएका थिए ।

करिब ५ दशकदेखि गायनमा क्रियाशील रहेका लामा गायक, संगीतकार, गीत सङ्कलक, निर्माता, निर्देशक, लेखक, कलाकार र नृत्यकार लगायत बहुप्रतिभाशाली थिए । ‘पानी पर्‍यो बलेसी’, ‘नक्कलीलाई पातलीलाई कसरी बिहे गरूँ’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ जस्ता लामाका गीत कसले भुल्नसक्छ र ?

‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका उनले नाटक, फिल्म र टेलिफिल्म लगायतमा अभिनय गरेका छन् । पछिल्लो समय ‘हल्का रमाइलो’ सिरियलमा अभिनयरत उनी बेलाबेलामा विभिन्न सम्मान तथा पुरस्कारबाट पुरस्कृत थिए । नेपाली कला क्षेत्रका दिग्गजदेखि अहिलेको पुस्तासँग समेत काम गर्न सफल लामा आँखामा हाल्दा पनि नबिझाउने मानिस भएको कलाकर्मी बताउँछन् । कलाकर्मीका नजरमा लामा ः

देशले बहुप्रतिभाशाली कलाकार गुमायो

मदनकृष्ण श्रेष्ठ (वरिष्ठ हास्य कलाकार)

जयनन्द लामासँग धेरै काम गरेको छु । उनी हरिवंशका नजिकका साथी र राम्रो कलाकार थिए । उनको निधनले धेरै दुःखी बनाएको छ । देशले बहुप्रतिभाशाली कलाकार गुमायो । उनी धेरै रमाइलो गर्थे । सुटिङ सेटमा उनी भएको दिन माहौल नै अर्कै हुन्थ्यो । हाँस्नुपर्ने, हँसाउने र रमाइला, अनेकौँ प्रतिभाका खानी थिए उनी ।

मलाई ‘मदन दाइ’ भनेर सम्बोधन गर्थे । उनमा सपना थिएन । अभिनयमा निरन्तर रहिरहने सोच राख्थे । एक दिन संसार छोडेर जानुपर्छ । यो त्यो, मेरो तेरो सबै बेकार हो भन्थे । नेताहरूले यो कुरो कहिले बुझ्ने भन्थे । उनलाई म कहिल्यै बिर्सिन सक्दिनँ । सादा जीवन, उच्च विचार भएका, मनमा पाप नभएका, कसैको चित्त नदुखाउने उनलाई नेपाली कलाकारिताका एउटा ‘हीरा’ भन्दा फरक पर्दैन ।

गीतसङ्गीतका एकेडेमी

मदनदास श्रेष्ठ (वरिष्ठ कलाकार)

जयनन्द लामासँगै मैले धेरै काम गरेको छु । उनी मेरा राम्रो साथी थिए । उनको घर सिन्धुपाल्चोकको बाह्रबिसेभन्दा माथि थियो । करिब २४, २५ वर्षअगाडि हाम्रो भेट भएको थियो । उनी लोकगायक भएकाले मेरो भेट भएको हो । त्यसपछि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा हामीसँगै थियौँ । म नाट्य कलाकारका रूपमा थिएँ भने उनी सङ्गीत तथा गायन कलाकर्मीमा रूपमा थिए । प्रतिष्ठानले हामीलाई झनै नजिक गराएको थियो ।

चलचित्र, टेलिचलचित्र उनीसँगै अभिनय गरेको छु । गायन तथा सङ्गीत क्षेत्रको एक विज्ञसमेत थिए । सङ्गीत क्षेत्रमा उनले अनुसन्धान गरेर एउटा किताबसमेत ल्याएका थिए । । सङ्गीत क्षेत्रको उनी एउटा एकेडेमीभन्दा फरक पर्दैन ।

पछिल्लो समय फिल्म अभिनयमा बढी क्रियाशील उनी राम्रो कलाकार पनि थिए । उनको फिल्म बनाउने तयारी पनि थियो । एक समय उनी र म घट्टेकुलोमा सँगै बस्थ्यौँ । गीतसङ्गीतसम्बन्धी अध्ययन अनुसन्धान गर्ने एउटा एकेडेमी बनाउने उनको सपना थियो । त्यो सपना अधुरो रह्यो । सबै प्रकारको अभिनय गर्नसक्ने भर्सनटायल कलाकार थिए उनी । हँसिलो स्वभाव भएका, प्रष्ट वक्ता र मिलान र व्यक्तिको धनी थिए । आँखामा हाल्दा पनि नबिझाउने व्यक्तित्व थिए ।

कलाक्षेत्रको पूर्ण प्याकेज 

हरिवंश आचार्य (वरिष्ठ हास्यकलाकार) 

मेरो कलायात्राको सहयात्री र सारथिजस्तै हुन् जयनन्द । कलायात्राको सुरुको समयदेखि आत्मीय थिए । २०३४, ०३५ सालतिर मैले उहाँसँग प्रज्ञा भवनमा ‘गाईजात्रा महोत्सव’ समेत गरेको थिएँ । हामीसँगै मिलेर ‘भन्छस् कि, भन्दैनस्’ भन्ने हास्यव्यङ्ग्यको कार्यक्रम गरेका थियौँ । उनी बहुप्रतिभाशाली व्यक्ति थिए, नृत्य, अभिनय, गायनलगायत धेरै विधामा पोख्त थिए ।

उनीजस्तो विलक्षण प्रतिभाशाली व्यक्ति संसारमा विरलै जन्मिन्छन् । मिलनसार पनि थिए उनी । मेरो भेट नभएको ५, ६ महिना भएको थियो । फोनमा कुरो हुन्थ्यो । १५ दिन अगाडि एक व्यक्तिको टेलिफोन नम्बर माग्न फोन गरेका थिए । उनी प्रेसरका रोगी थिए । उनको कानमा पनि समस्या थियो । केही समयअगाडि मोडल अस्पतालमा सर्जरीका लागि कुरा गरिदिएको थिएँ । 

उनी सपना बाँडेर हिँड्ने खालका थिएनन् । पछिल्लो समय खुट्टाको समस्याले नाच्न समस्या भएर अभिनयमा फोकस थिए । उनको अभिनय एकदमै राम्रा थियो । फिल्म खेलाउन निर्माता निर्देशक हारालुछ गर्थे । संसारमा एक युगमा एक पटक उनीजस्तो बहुप्रतिभाशाली व्यक्तित्व जन्मछन् । उनले नजानेको केही थिएन । उनी भर्सटायल व्यक्तित्व, गीत गाउने, नाच्ने र अभिनयको विभिन्न विधामा पोख्त थिए । नेपाली कलाक्षेत्रका एक प्याकेज नै थिए ।

त्यो भेट अन्तिम रह्यो 

किरण केसी (हास्य कलाकार)

जयनन्दको निधनको समाचार बिहानै दीपाश्री बहिनीले सुनाइन् । सुरुमा त पत्याउन सकिनँ । सबैतिर समाचार आएपछि पत्यार लाग्यो । जयनन्द दाइसँग मैले थुप्रै गीत, सिरियललगायत अभिनय गरेको छु । १५ वर्षअगाडि उहाँले ‘लौ न अब के गरौँ, के गरौँ, नक्कलीलाई, पातलीलाई कसरी बिहे गरौँ’ बोलको गीत दिनुभएको थियो । यो गीत मैले अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, हङ्कङ लगायत विश्वका धेरै ठाउँमा उहाँको नाम उच्चारण गर्दै आएको छु ।

करिब डेढ महिनाअगाडि पनि साथीहरूसँग उहाँको घर पुगेको थिएँ । एक गति मागेँ । गीत रिएरेन्ज गरेर उहाँको सहमतिमा ल्याउने तरखरमा थिए । गीतको १५ हजार मैले दिएको केही दिनअगाडि मात्र हो । अन्तिम पटक त्यही भनौँ । सिम्पल, अत्यन्त शालीन, सबैसँग राम्रो सम्बन्ध राख्ने हुनुहुन्थ्यो । सुटिङमा उहाँ हुँदा वातावरण नै रमाइलो हुन्थ्यो । 

‘कलकत्ते काइँयो’ लगायत धेरै कालजयी गीत गाउनु भएको छ उहाँले । उहाँ भर्सटायल हो । उहाँको अन्तिम गीत म श्रद्धाञ्जलीका लागि छिट्टै ल्याउँछु ।

उहाँको निधनले नेपाली कला क्षेत्रले दूरदर्शी, हँसमुख र बहुप्रतिभाशाली कलाकार गुमाएको छ । उहाँ कलाकार, लेखक, निर्देशक, गीतकार, गायक र सङ्गीतकार समेत हुनुहुन्थ्यो । बहुप्रतिभाशाली, लिजेन्ड र ख्याति प्राप्त कलाकार, अभिनयमा अब्बल र शिक्षित, खुल्ला किताब भएको व्यक्ति भन्छु म ।

प्रतिभाशाली व्यक्तित्व 

कृष्ण मल्ल (वरिष्ठ कलाकार)

जयनन्दसँग मेरो धेरै राम्रो सम्बन्ध थियो । उनी धेरै राम्रा कलाकार थिए । २०२७ सालदेखि उनले गीत गाउन थालेका थिए । उनी मेरो जिल्लावासी पनि हुन् । त्यो कारणले पनि मसँग नजिक थिए ।

हामीले नाटक समेतसँगै गरेका थियौँ । कला क्षेत्रमा धेरै स्ट्रगल गरेका, मनको सफा, लोकगीत सङ्गीतमा कुमार बस्नेत पछाडि म उनलाई मान्छु । नृत्यमा पारङ्गत कलाकार थिए । मेरो एक टेलिसिरियलमा पनि अभिनय गरेका थिए । पछिल्लो समय चलचित्र अभिनयमा उनी व्यस्त कलाकार हुन् ।

मेरो अभिनय संस्थासँग पनि जोडिएका थिए । केही अगाडिसम्म हामी साताको ४ दिनसँगै हुन्थ्यौँ । हामीसँगै बस्थ्यौँ, सँगै खेल्ने, खाने गथ्र्यौं । मनमा कुरा नराख्ने, जे छ बोल्ने, गायन, नृत्य, अभिनय, लेखन, निर्देशनलगायत धेरै प्रतिभाशाली व्यक्तित्व थिए ।

त्यो अधुरो रह्यो

दीपाश्री निरौला (कलाकार, निर्देशक)

लोकगायकका रूपमा उहाँलाई सबैले चिनेका थिए । उहाँको ‘कलकत्ते काइँयो’ लगायत धेरै गीत हिट छन् । उहाँसँग कार्यक्रमहरूमा भेट हुन्थ्यो । धेरै नजिकबाट चिन्ने अवसर भने ‘छक्का पन्जा’ फिल्मबाट मिल्यो । फिल्मको कामको सिलसिलामा भेट हुँदा उहाँलाई धेरै मिजासिलो, हासिरहनुपर्ने, पीरचिन्तारहित पाएँ । उहाँ शिक्षक पनि हुनुहुन्थ्यो । गीतले भन्दा फिल्म खेलाएर हिट बनायौँ भनेर भन्नुहुन्थ्यो मलाई । 

म जे काममा ब्यस्त भए पनि छक्का पन्जाले बोलाउने बित्तिकै आउनु भन्नुहुन्थ्यो ।

‘छक्का पन्जा’ पछि हामीले यसैको दुई सिक्वेलमा सँगै काम गर्‍यौँ । ‘छक्का पन्जा ४’ पनि काम गर्ने कुरो थियो । त्यो अधुरो रह्यो । उहाँ फरासिलो हुनुहुन्थ्यो । सपना, इच्छा कहिल्यै नराख्ने, फिल्म अभिनय गर्दागर्दै जीवन बिताउने चाहना राख्नुहुन्थ्यो । उहाँ सुटिङमा भएको दिन कहिल्यै बोर हुँदैन थियो । उहाँ जुनैबेला पनि हँसाउनुहुन्थ्यो । व्यक्तिगत रूपमा भद्र, कसैको पनि मन नदुखाउने, जुनै कुरा पनि सहज लिने र बिन्दास शैलीको हुनुहुन्थ्यो ।

नराम्रो गुण केही थिएन

जितु नेपाल (हास्य कलाकार)

धेरै पहिलेदेखिको चिनजान थियो । कार्यक्रममा भेट हुन्थ्यो । हामीले हास्यशृङ्खला ‘जिरे खुर्सानी’ मा सँगै काम गर्‍यौँ । उहाँले मेरो ‘मित बा’को भूमिका निर्वाह गर्नुभएको थियो । करिब ६० भाग यो सिरियलपछि फिल्म ‘छक्का पन्जा’को तीन सिरिज पनि सँगै गरियो । पर्व भन्ने टेलिफिल्म पनि सँगै गरेका थियौँ ।

विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सव समेत सँगै गरियो । मेरो घरमा आवतजावत पनि राम्रो थियो । केही समय अगाडि निर्वाचनसम्बन्धी एउटा छोटो फिल्म बनाएको छु, जुन बाहिर आएको छैन । त्यसमा समेत उहाँको अभिनय छ ।

कलाकारलाई सम्मान गर्ने, खुला हृदय भएको, सधैँ हाँसिरहने, कसैको मन नदुखाउने, पिरचिन्ता नभएको, पारिश्रमिकलाई महत्त्व नदिने, छलकपट नजान्ने लगायत राम्रा गुणहरू उहाँमा अनगन्ती थिए । राम्रो मान्छे भएर होला, भगवान्ले छिट्टै लानुभयो । उहाँका विषयमा नराम्रो भन्ने मानिस भेटिँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप