सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मधेसमा प्रभाव बढाउँदै ओली, उपेन्द्र–महन्थहरुले बनाइदिए ‘स्पेस’

सुधारिएकै हो मधेस र एमालेबीचको सम्बन्ध ?
आइतबार, ०६ चैत २०७८, २१ : ५५
आइतबार, ०६ चैत २०७८

दोस्रो मधेस आन्दोलनका क्रममा मधेस विरोधी भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी केही दिनअघि नेकपा एमालेमा प्रवेश गर्नुले पनि मधेसमा एमालेको प्रभाव बढेको आँकलन गर्न सकिन्छ ।

त्यसो त, निर्वाचन नजिकिएका कारण विभिन्न दलका नेताकार्यकर्तालाई आफ्नो दलमा भित्र्याउन होडबाजी चल्नु सामान्य विषय हो । तर, मधेसवादी पृष्ठभूमि बनाएका नेताहरुले कुनैबेला मधेस विरोधी भन्ने गरेको दललाई नै रोज्नु अर्थपूर्ण छ ।

एमालेका नेताहरुको मधेस दौडाहा र मधेसवादी पृष्ठभूमि भएका नेताहरु एमालेमा प्रवेश गर्नुलाई कतिपयले मधेस र एमालेबीचको सम्बन्ध सुध्रिएको अर्थमा व्याख्या गर्न थालेका छन् । विगतमा माओवादीका कारण मधेसमा आन्दोलन चर्केको थियो । केही समय माओवादीको विरोधमै मधेसको आन्दोलन अगाडि बढ्यो । पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस आन्दोलनका बारेमा नकारात्मक टीकाटिप्पणी गरेपछि मधेस आन्दोलन ओलीविरुद्ध केन्द्रित भयो । सोही क्रममा आन्दोलनकारीले मधेसमा एमालेलाई निषेध गरे । एमालेले सप्तरीको मलेठमा कार्यक्रम गर्दा भएको झडपमा पाँचजना युवाको ज्यान गएको थियो ।

संविधान जारी भएपछि मधेस र एमालेको सम्बन्ध दिनदिनै बिग्रिँदै गइरहेको थियो । यो क्रम २०७४÷०७५ सम्म चल्यो । त्यतिबेलै पनि एमालेले मधेसमा आफ्नो स्पेस बनाउन नखोजेको होइन तर सफल हुन सकिरहेको थिएन ।

मधेस मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोर भने मधेस र एमालेबीचको सम्बन्ध नसुध्रिएको बताउँछन् । तर, एमाले मधेसमा आफ्नो स्पेस बनाउन सफल भने भइरहेको उनको भनाइ छ ।​ मधेस आन्दोलन भावनात्मकरुपमा भएको थियो, त्यसमा हरेक दलबाट मान्छे जोडिएका थिए, त्यहाँबाट अधिकार, पहिचान र संरक्षण पाइन्छ भन्ने सबैको आकांक्षा थियो, उनले भने, ‘तर जनताको त्यो इच्छा पूरा भएन । न अधिकार पाए, न पहिचान । न त संरक्षण नै पाए ।

अधिकार र पहिचानका लागि लडाइँ अझै जारी रहेकै अवस्थामा मधेसवादी दलमा रहेका व्यक्तिहरु संरक्षक खोज्दै अन्य ठूला दलतिर आकर्षित हुन थालेको चन्द्रकिशोरको बुझाइ छ । उनलेख रातोपाटीसँग भने, ‘काँग्रेस हाउसफुल छ, मधेसमा एमाले खाली भएका कारण संरक्षण खोज्दै नेताहरु सो पार्टीमा प्रवेश गर्न थालेका छन् ।

राज्यको स्रोत र शक्तिको केन्द्रमा काँग्रेस र एमालेको मात्र पहुँच रहेको चन्द्रकिशोरले बताए । राज्यशक्तिको पहुँचमा माओवादी केन्द्र धेरै पछाडि छ । मधेस केन्द्रित दलको सानो अंश पनि छैन, उनले भने, ‘नेपालको सेना, प्रहरी, कर्मचारी, अख्तियारलगायत हरेक क्षेत्रमा एमालेको पकड छ । त्यहाँबाट संरक्षण दिन थालेपछि मधेसवादी दल तथा माओवादी केन्द्रमा रहेका नेताहरु एमालेतिर आकर्षित भएका हुन् ।

उपेन्द्र यादव र महन्थले दिए स्पेस

जब उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले ओली नेतृत्वको सरकारलाई समर्थन गरे, अनि विस्तारै ओलीप्रति मधेसको आक्रोश कम हुँदै गयो ।

उपेन्द्र यादव नेतृत्वको पार्टी ओली नेतृत्वको सरकारमा सहभागी नै भएको थियो भने महन्थ ठाकुर नेतृत्वको राजपाले बाहिरबाट समर्थन गरेको थियो । मधेसको माग पूरा नगरेको भन्दै राजपाले एउटा कालखण्डपछि समर्थन फिर्ता लिएको थियो । उता उपेन्द्र यादवले सरकारलाई निरन्तरता दिइरहे । उपेन्द्र र महन्थले विस्तारै ओलीलाई मधेसमा स्पेस दिन थाले ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमणमा आए । त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुरधाम जनकपुर गए । त्यसपछि मधेसमा ओलीको  आउजाउ बढ्न थाल्यो ।

सीके राउतको साथ

मधेसमा आफ्नो पकड बनाएको तत्कालीन फोरम र राजपालाई आफ्नो काबुमा लिइसकेपछि ओलीले मधेसमा अलग राज्यका लागि आन्दोलन गरिरहेको सीके राउतलाई आफ्नो काबुमा लिने प्रयास गरे । त्यसमा उनी सफल पनि भए ।

ओलीले तामझामका साथ सीके राउतसँग ११ बुँदे सम्झौता गरेर उनलाई मुलधारको राजनीतिमा ल्याए । त्यसपछि त सीके राउत पनि ओलीका फ्यान भए ।

मधेसमा ओली अर्थात् एमालेको विरुद्धमा बोल्ने कोही भएन । टाउकोमा कालोपट्टी बाँधेर ओलीको पुतला जलाएर विरोध गरेका जनकपुरका सरोज मिश्रलगायत थुप्रै युवा एमालेमै प्रवेश गरे । अब स्वतन्त्र संघ संगठनबाट पनि ओलीको विरोध गर्ने मधेसमा कोही भएनन् ।

हृदयेश त्रिपाठीको साथ

पश्चिम मधेसमा प्रभाव बनाएका हृदयेश त्रिपाठी एमालेको चुनाव चिह्न लिएर नवलपरासीबाट प्रतिनिधिसभामा विजयी भए । उनको समूहका अन्य केही नेताले पनि सूर्य चुनाव चिह्नबाटै जित हासिल गरे । यसले पनि एमालेको प्रभाव बढाउन सहयोग पुर्यायो ।

आफू प्रधानमन्त्री भएको बेला ओलीले त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाएका थिए । त्रिपाठीसँग ओलीको सम्बन्धका कारण पश्चिम मधेसमा पनि ओलीको विरोध मत्थर भएको थियो ।  मधेसमा जजसले आफ्नो र एमालेको विरोध गर्थे, ओलीले सबैलाई आफ्नो पकडमा लिए । यहाँसम्म कि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गर्दा सोही पार्टीको एउटा पक्षले ओलीलाई साथ दिइरहेको थियो ।

उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि ओलीले महन्थ ठाकुरहरुलाई आफ्नो प्रभावमा लिइसकेका थिए । मधेसको सबै माग पूरा गर्दिने प्रतिबद्धताका साथ ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोहरुलाई यसरी प्रभावमा लिए कि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नै विभाजित भयो । महन्थ ठाकुरहरु अहिले पनि ओलीलाई साथ दिइरहेका छन् । अहिले पनि ओलीलाई महन्थ ठाकुर, सीके राउत, हृदयेश त्रिपाठी लगायतको साथ छ । जसले गर्दा आगामी चुनावमा उनीहरुका बीचमा गठबन्धन बन्ने सम्भावना प्रबल छ ।

राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ‘मधेसी जनता ओलीको साथमा जानुभन्दा पहिले उपेन्द्र यादव र महन्थ ठाकुरहरु निवेदन दिएर ओली नेतृत्वको सरकारमा गइसक्नु भएको हो । अहिले तिनै जनता आफ्नो नेता नै ओलीको साथमा जाँदा केही नबिग्रिने, हामी जाँदा के हुन्छ ? भन्दै धमाधम एमालेमा प्रवेश गरिरहेका छन् ।

लोसपाका नेता शिव पटेलले एमालेमा प्रवेश गर्दा भनेका थिए, ‘हाम्रा नेताहरु ओलीलाई नेता मानेर उहाँको नेतृत्वमा सरकार जानु हुन्छ अनि हामी जहिले पनि ती नेताहरुको कार्यकर्ता भएर बस्नुपर्ने !

मधेस आन्दोलनको क्रममा एकातिर ओली र अर्कोतिर मधेसी दल थिए  । ओलीको विरोधमा त्यतिबेला लागेको नाराले दुवै पक्षलाई फाइदा भयो । ओलीले मधेसीलाई गाली गरेर पहाडी राष्ट्रवादको संरक्षण गर्दै त्यताको विश्वास हासिल गरे भने उता मधेसी नेताहरु ओलीलाई गाली गरेर मधेसमा बलियो भए ।

एक अर्कालाई गाली गरेर दुवै बलियो भएको विश्लेषक साहको बुझाइ छ । अहिले एमालेमा ठाउँ खाली रहेको र ती ठाउँमा मधेसीहरु जान चाहेको उनले बताए । आगामी बैशाखमा हुने स्थानीय चुनावमा प्रदेश २ मा एमालेले कस्तो परिणाम ल्याउला भन्ने विषयले आगामी संघ र प्रदेशको परिणाम आँकलन गर्न सजिलो हुनेछ ।

मधेस प्रदेशमा ३२ वटा संघीय निर्वाचन क्षेत्रहरु छन् भने ६४ वटा प्रदेश सांसदका सीट छन् । यस प्रदेशमा १३७ वटा स्थानीय तह छन् । यहाँ एउटा महानगरपालिका र तीनवटा उपमहानगरपालिका छन् । यीमध्ये वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा मधेसवादी दलले जितेको थियो भने कलैया उपमहानगरपालिकामा काँग्रेसले र जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप