सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय निर्णयलाई चुनौती : मेयर नपाएपछि हेटौँडामा काँग्रेस आक्रोशित

बुधबार, ०७ वैशाख २०७९, २१ : ००
बुधबार, ०७ वैशाख २०७९

हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेपाली काँग्रेसको भागमा परेसँगै काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले केन्द्रीय निर्णय विपरित जाने बताएको छ । उपमहानगर समितिले केन्द्रको निर्णय नमान्ने र निर्णय सच्याउनसमेत माग गरेको छ ।

समितिले सत्ता गठबन्धनको केन्द्रीय संयन्त्रलाई निर्णयमाथि पुनरावलोकन गर्न आग्रह गरेको छ । समितिले निर्णय पुनरावलोकन नभएको खण्डमा हेटौंडामा गठबन्धन नगरी १९ वटै वडामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । मेयर पदका आकांक्षी समेत रहेका नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिका सभापति उत्सव इटेनीले आम कार्यकर्ताको भावना विपरित गठबन्धनको केन्द्रीय संयन्त्रले एकीकृत समाजवादीको भागमा हेटौंडा पारेको बताए । 

उनले विगतको तथ्याङ्क र जनमतको बेवास्ता गर्दै केन्द्रले सो निर्णय गरेकाले यसले आम मतदाताको मनोवल गिर्न पुगेकाले यसलाई सच्याउन माग गरे । निर्णय नसच्याए आगामी निर्वाचनमा १९ वटै वडामा काँग्रेसले उम्मेदवार खडा गर्ने र मित्रवत प्रतिस्पर्धामा जाने उनले बताए । यता काँग्रेसबाटै मेयरका आकांक्षी रहेका आनन्दराम पराजुलीले काँग्रेसकै नेताहरुले व्यक्तिगत प्रतिशोध राखेर हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिएको बताए । उनले यो समस्याका कारण आगामी निर्वाचनमा एमालेले जित हात पार्ने दावी गरे ।

‘हेटौंडाको मेयर समाजवादीले खोजेको होइन । जवरजस्ती दिएका हो । काँग्रेसका नेताहरुले नै प्रतिशोध साँध्न एकीकृत समाजवादीलाई हेटौंडाको मेयर जिम्मा लगाइएको हो ।’ उनले भने, ‘एकीकृत समाजवादीलाई हेटौंडाको मेयर दिएको छ अब चुनाव एमालेले जित्छ । यो ठुलो समस्या हो ।’ उनले काँग्रेसका क्रियाशिल सदस्यहरुले गठबन्धनको सो निर्णय स्वीकार गरेपनि आम मतदाताले भने सो निर्णय अनुसार एकीकृत समाजवादीलाई भोट हाल्ने सम्भावना नरहेको बताए । 

‘काँग्रेसका क्रियाशिल सदस्यले त भोट हाल्लान् । तर काँग्रेसका आम मतदाताले भोट हाल्ने सम्भावना छैन । यो गठबन्धनले एमालेलाई सजिलो बनाएको छ । कार्यकर्ता पंक्तिले पार्टीको निर्णय मान्नु पर्छ । निर्णय मान्दिनँ भन्न सक्ने अवस्था रहँदैन । कार्यकर्ताले मात्र मानेर हुँदैन आम मतदाताले पनि मान्नु पर्ला । त्यो सम्भव छैन ।’ उनले भने । उनले काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले केन्द्रको निर्णय मान्दिनँ मित्रवत प्रतिस्पर्धा गर्छु भन्नु एउटा विद्रोह भएकाले त्यसले काँग्रेसलाई फाइदा पुग्ने बताए ।  ‘काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिले केन्द्रको सो निर्णयको विद्रोह गरेको छ । समितिको मित्रवत प्रतिस्पर्धाको सम्भावना पनि त्यतिकै छ । हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिनु नै काँग्रेसलाई ठुलो घाटा हो । मित्रवत प्रतिस्पर्धाले चाँही काँग्रेसलाई फाइदा छ ।’ उनले भने ।

‘मित्रवत प्रतिस्पर्धा कुनै तक छैन’
नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुका अध्यक्ष एवम् आसन्न निर्वाचनमा हेटौंडाको मेयर पदका आकांक्षी श्रीधर पोखरेलले भागबण्डा मिलिसकेको स्थानमा मित्रवत प्रतिस्पर्धा भन्नुको कुन तुक नभएको बताए । उनले समग्र देशको स्थितीको मुल्याङ्कन गरेर केन्द्रीय नेताहरुले गरेको निर्णय देश र संविधानको रक्षाको लागि भएकाले त्यसलाई स्वीकार गर्नु पर्ने बताए । ‘भागबण्डा मिलिसकेको ठाउँमा मित्रवत प्रतिस्पर्धा भन्ने हुँदैन । त्यसको कुनै तक छैन ।’ उनले भने, ‘यो समग्र देशको स्थितिको मुल्याङ्कन गरेर गरिएको भागबण्डा हो । त्यसैले यसलाई स्वीकार गर्नुको विकल्प छैन । यसका बारेमा चित्त नबुझे त्यसलाई मिलाउने काम केन्द्रले गर्छ ।’ उनले हालको गठबन्धन पद प्राप्तीको लागि नभइ संविधान लाकतन्त्रको रक्षाका लागि भएकाले सोही अनुसार सोचेर अघि बढ्नु पर्ने बताए । 

‘गठबन्धन पद प्राप्तीको लागि मात्र हो भन्ने विषय सोच्नु भएन । यो चुनावी तालमेल पद पाउनका लागि भन्दा पनि संविधान लोकतन्त्रको रक्षाको लागि हो । यसलाई गम्भीरताका साथ दिनु पर्छ । पद प्राप्तिकै लागि बुझ्ने हो भने गठबन्धनमा किन बस्नु प¥यो । आ–आफ्नै तयारी गर्दा हुन्छ,’ उनले भने । आफ्नाले पाउँदा मात्र ठिक नत्र बेठीक भन्नु गठबन्धनको मर्म विपरित भएकाले केन्द्रले गठबन्धनको भागबण्डा टुङ्गिसकेको अवस्थामा प्रतिवद्ध भएर कार्यान्वयनमा जानुमा नै उपयुक्त हुने उनको भनाइ छ ।

‘केन्द्रले गरेको निर्णय मान्नुको विकल्प छैन’
नेकपा माओवादी केन्द्रबाट हेटौंडाको मेयर पदका आकांक्षी प्रह्लाद लामिछानेले हालको गठबन्धन संविधानको रक्षाको लागि भएकाले यसलाई कायम गरेर जानुको विकल्प नरहेको बताए । गठबन्धनको भागबण्डाको विषय सबै दलहरूलाई चित्त बुझेको छैन तर, अहिलेको परिस्थितीको माग भएकाले यसको कार्यान्वयन मुख्य जिम्मेवारी रहेको उनले बताए । ‘केन्द्रले गरेको निर्णय केही हदसम्म माओवादी केन्द्र, काँग्रेस, एकीकृत समाजवादीलाई पनि चित्त नबुझेको हुन सक्छ । पाउने र लिने भन्दा पनि सहि र गलत बीचको प्रतिस्पर्धामा यो गठबन्धन भएको हो ।’ उनले भने, ‘अब हेटौंडाको मेयर समाजवादीले पाइसकेको पछि सबैले प्रतिवद्ध भएर चुनावमा जानु पर्छ । यसमा केही कार्यकर्ताको चित्त दुखाइ छ भने समाजवादीले सबैसँग बसेर विवाद समाधान गर्न सक्नु पर्छ । गठबन्धनका उम्मेदवारलाई जिताउनु सकेको जिम्मेवारी हो । त्यसैले समस्या भएको ठाउँमा मिलाएर अघि बढ्नुपर्छ ।’

उनले आम कार्यकर्ताहरु गठबन्धनमा प्रतिवद्ध भएर अघि बढ्नु पर्ने बताए । गठबन्धनमा रहेको ठुलो दल काँग्रेसका कुनै पनि कार्यकर्ता गठबन्धनको विरुद्धमा नजाने उनले विश्वास व्यक्त गरे । ‘थोरबहुत मतदाताहरुमा प्रतिवद्धता नहोला । गठबन्धनमा केही मत तलमाथि हुन्छ नै । तर, त्यसलाई सबै मिलेर मिलाउन तर्फ अघि बढ्नु पर्छ । मलाई लाग्छ काँग्रेसका कोही व्यक्ति गठबन्धन विरुद्ध जानुहुन्न ।’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप