आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'घोराही उपमहानगरपालिकामा फराकिलो मतान्तरले जित्छौँ’

मङ्गलबार, २० वैशाख २०७९, ११ : १०
मङ्गलबार, २० वैशाख २०७९

दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर पदको उम्मेदवार माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल ‘डायमण्ड’ रहेका छन् । यस्तै नेकपा एमालेबाट सो उपमहानगरपालिकामा नरुलाल चौधरी चुनावी भिडन्तमा छन् । शर्मा पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् भने चौधरी दोस्रो कार्यकालका लागि मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । दाङको सदरमुकाम रहेको उपमहानगरसमेत रहेकाले यो स्थानीय तहलाई माओवादी केन्द्रका प्रवक्ता समेत रहेका कृष्ण बहादुर महरा र एमाले महासचिव शंकर पोखरेलले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सोही उपमहानगरपालिका महरा र पोखरेलको निर्वाचन क्षेत्र समेत रहेकाले चुनावी प्रचारप्रसारमा दुवै नेता कम्मर कसेर लागेका छन् । माओवादीका उम्मेदवार शर्मालाई काँग्रेस र एकीकृत समाजवादीसहित ५ दलीय गठबन्धनको समर्थन छ । त्यसैले शर्मा निर्वाचन जित्नेमा ढुक्क भई प्रचारप्रसारमा सक्रिय छ । यता चौधरीले यसअघि पनि सोही उपमहानगरपालिका जितेको तथा तुलनात्मक रूपमा राम्रो काम गरेकाले दोस्रो कार्यकाल पनि जित्ने दाबी गर्दै आएका छन् । यसै सन्दर्भमा गठबन्धनतर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रीय सदस्य समेत रहेका हेमराज शर्मा पोख्रेलसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश:

चुनाव घोषणा भएको धेरैपछि मात्र तपाईँ एकाएक घोराहीमा मेयरको उम्मेदवारकारुपमा अगाडि आउनु भयो नि ?

म ३० वर्षदेखि घोराहीमा बसोबास गर्दै आएको छु । जनयुद्धको समयमा पनि घोराहीका विभिन्न गाउँका बस्तीका जनतासँग एकाकार भएर काम गर्दै आएको हुँ । २०६२÷०६३ सालको ऐतिहासिक जनआन्दोलनमा घोराहीकै भूगोलमा बसेर नेपाली काँग्रेससहितका राजनीतिक दलसँग संवाद र छलफल गर्दै जनआन्दोलन परिचालनको भूमिका पूरा गरिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचन, संविधान निर्माण सम्पन्न भएपछिको स्थानीय, सङ्घ र प्रदेश तहको निर्वाचनमा पनि यही भूगोलमा रहेर निर्वाचन परिचालनको भूमिका पूरा गरेको हुँ । म विद्यार्थीकारुपमा सङ्गठनमा काम गर्दा, जनयुद्धमा सहभागी रहँदा र शान्ति प्रक्रिया सुरु भए यता राजनीतिमा क्रियाशील रहँदा सधैँ मेरो मनमा घोराहीसहित सिङ्गो दाङको विकास कसरी गर्ने, यहाँका जनतालाई कसरी सुख र खुसी दिने भन्ने विषयमा सोचिरहन्थेँ ।

पार्टी र आन्दोलनमा जोडिएकाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा सर्वसम्मत मेयर पदमा सिफारिस भएपछि गठबन्धन दलहरूको समेत समर्थनमा उम्मेदवार बनेको हुँ । पहिलेदेखि नै मेयर तयारीमा नभए पनि गठबन्धनले घोराही उपमहानगरपालिको मेयर उम्मेदवार बनाएर उपमहानगरपालिकाको विकास र समृद्धिका साथै जनसेवा गर्ने अवसर दिएकोमा म आभार प्रकट गर्दछु । आम मतदाता ज्यूहरूमा एक पटक मलाई अमूल्य मतदान गरेर सेवा गर्ने अवसर दिनु हुनेछ भन्ने आग्रह गर्दछु । म मेयरमा निर्वाचित भएमा मेरो क्षमता र दक्षतालाई पूर्ण रूपमा लगाउने र यहाँको विकास र समृद्धि एवम् जनताको हितका पक्षमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

घोराही उपमहानगरमा तपाईँका चुनावी एजेन्डाहरू के कस्ता छन् ?

घोराही उपमहानगरपालिकामा साझा गठबन्धनको तर्फबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसम्मको सिङ्गो टिम नै अघि सारिएको छ । हामीले संस्थागतरुपमै हाम्रो टिमको साझा प्रतिबद्धता पत्र आम मतदाता समक्ष सार्वजनिक गरिसकेका छौँ । मतदाताहरूले दिएका सुझावसमेत समेटेर तयार पारिएको साझा चुनावी प्रतिबद्धता पत्रमा घोराही उपमहानगरपालिकामा कृषिलाई आधुनिकीकरण गरी गुणस्तरीय सीपमूलक शिक्षा र रोजगारीको ग्यारेण्टी, नागरिक स्वास्थ्यमा स्थानीय सरकारको जिम्मेवारी, वडा वडासम्म उद्योग, दिगो विकासका लागि सडक पूर्वाधार, स्वास्थ्य खाने पानी, वैज्ञानिक भू–उपयोग तथा व्यवस्थित सहरी विकासको योजना अघि सारेका छौँ ।

यसै गरी पर्यटन क्षेत्रको विकासका लागि नगर स्तरीय योजना, स्थानीय कला–संस्कृति, भाषा र मौलिक पहिचानका लागि विशेष योजना र अभियान, सुशासन र भष्ट्राचारमुक्त घोराही, सार्वजनिक सेवामा सहज नागरिक पहुँच, जनताको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि स्थानीय सरकारको जिम्मेवारी, ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्ति तथा अल्पसङ्ख्यक वर्ग समुदायका लागि विशेष अधिकार, स्वास्थ्य र राहत व्यवस्थाको लागि पनि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने हाम्रो प्रतिबद्धता छ । यसै गरी युवा र खेलकूदको विकास, सूचना तथा सञ्चारको विकास, घोराहीलाई हिलो धुलो मुक्त नगरका रूपमा विकास गर्ने, स्थानीय तहका वडा र टोलसम्म कालोपत्रे सडक र सहज यातायात पहुँचको व्यवस्था, अति विपन्न, मजदुर, गरिब किसान, बृद्धबृद्धा, एकल महिलाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने योजना छ । यस्तै कृषकहरूलाई कृषक परिचय पत्र, मल बिउको सहज व्यवस्था, कृषक पेन्सनको व्यवस्था गरिने छ । विद्युत् र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेन्डा छ । यसै गरी चोक चोक सहित सार्वजनिक स्थलमा फ्री इन्टरनेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ र विशेषज्ञ चिकित्सक अध्ययन सञ्चालन गर्ने र सरकारी विद्यालय तथा अस्पतालहरूलाई सुविधा सम्पन्न गराउने र नगर स्तरीय सरकारी अस्पताल सञ्चालन गर्ने योजना छ । 

तपाईँहरूले उठाएका यी एजेन्डाले घोराहीवासीको समस्या सम्बोधन हुन्छ त?

अवश्य हुन्छ । हामीले विगत लामो समयदेखि घोराहीवासीका समस्यासँग साक्षात्कार गर्दै आइरहेका छौँ । यहाँका मुख्य समस्यालाई आधार बनाएर एजेन्डा तय गरिएका हुन् । कृषिको विकासमा जोड दिएर तय गरिएका हाम्रा एजेन्डा कार्यान्वयन हुँदा घोराहीको आर्थिक विकास, सामाजिक न्याय र सुरक्षा, सुशासन र जनताको सेवामुखी प्रशासन, सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारी सिर्जना हुनेछ । हामी निर्वाचित भएसँगै हामीले घोराही उपमहानगरलाई समुन्नत र विकसित घोराहीमा बदल्न कुनै कसर बाँकी राख्ने छैनौ ।

गठबन्धनले घोराहीमा जित्ने आधार चाहिँ के–के हुन् त ?

घोराही उपमहानगरपालिकामा गठबन्धनमा आबद्ध रहेका राजनीतिक दलहरूको जनाधार नै हाम्रो जित्ने पहिलो आधार हो । यसअघिको निर्वाचनमा हामीले प्राप्त गरेको मत संख्या मात्रै आधार मान्ने हो भने पनि हामी १२ हजारभन्दा बढी मतान्तरले विजयी हुन्छौँ । यसअघिको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी र जनमोर्चाले ल्याएको मत मात्रै हेर्ने हो भने पनि हामी फराकिलो मतान्तरले जित्छौँ । यस बाहेक केही समय अघि मात्रै नेकपा(एमाले) मा विभाजन हुनु र घोराहीका धेरै नेता कार्यकर्ताहरू एमाले वाट विभाजित पार्टी नेकपा (एकीकृत समाजवादी) मा लाग्नुले हाम्रो प्रतिस्पर्धी दल एमालेको मत विगतको भन्दा स्वतः कम हुन्छ ।

यस बाहेक हामीले उठाएका एजेन्डा र अघि सारेका उम्मेदवारका अनुहार नै हाम्रो जितको अर्को आधार हो । यसै गरी सङ्घ, प्रदेशमा गठबन्धनको सरकार छ । स्थानीय तहमा पनि गठबन्धनकै सरकार हुँदा हाम्रो सहज पहुँच हुन्छ, विकासका लागि पर्याप्त बजेट लिन सकिन्छ । केन्द्र र प्रदेशको बजेट नआउने हो भने यहाँ हामीले चाहे जतिको विकास र समृद्धि हुँदैन । त्यसैले केन्द्र र प्रदेशमा जसरी गठबन्धनको संयुक्त सरकार छ, त्यसरी नै घोराहीमा पनि गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भन्ने जनमत देखिन्छ ।

त्यसैगरी यस अघि घोराहीमा नेतृत्व गर्नुभएका मेयरलाई नै एमालेले पुनः उम्मेदवार उठाएको हुनाले उहाँ एक पटकको परीक्षणमा आफूले यसअघि गरेका चुनावी बाचाहरू पूरा गर्न असफल भइसक्नु भएको छ । घोराहीवासी आम स्वतन्त्र मतदाताहरूले छिटो छिटो घोराहीको विकास गर्ने नयाँ अनुहारलाई विजयी बनाउन आतुर हुनुहुन्छ  ।

निर्वाचनका लागि तपाईँको चुनावी प्रचारप्रसारको अभियान कसरी चलेको छ ?

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धनले घोराही उपमहानगरपालिकाको मेयर पदमा मलाई र उप–मेयर पदमा भूपबहादुर डाँगीसहित वडा तहसम्म नै साझा उम्मेदवार अघि सारेको छ । हाम्रो चुनावी प्रचारका लागि पनि हामीले व्यक्तिगत रूपमा नभई गठबन्धनले तय गरेको चुनावी योजना र प्रचार कार्यक्रममा साझा ढङ्गले सहभागी भइरहेका छौँ । चुनावी प्रचारका क्रममा हरेक मतदाता र शुभेच्छुकहरूको घरदैलोमा पुग्न नसके पनि गाउँ टोलमा हुने चुनावी कार्यक्रममा सरिक भई उम्मेदवारहरुले साझा योजना सहितको प्रतिबद्धता पत्र प्रस्तुत गरी उहाँहरूका समेत सुझाव लिँदै अघि बढिरहेको छौँ ।

तर, तपाईँहरूको पार्टी र गठबन्धनभित्र आन्तरिक विवाद छ भन्ने सुनिन्छ,  त्यसलाई कसरी समाधान गर्नुहुन्छ ?

गठबन्धनमा रहेका दलहरूभित्र थुप्रै सक्षम र योग्य नेता कार्यकर्ताहरू हुनुहुन्छ । सुरुमा उम्मेदवार चयन गर्ने क्रममा कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ भनेर बहस हुनु, साथीहरूले मतहरू राख्नु स्वाभाविकै हो । घोराहीका मेयर र उपमेयर दुवै पदमा सर्वसम्मत रूपमा उम्मेदवारी चयन भएपछि यहाँ कुनै विवाद छैन । सबै एक ढिक्का भएर प्रचार प्रसारमा लाग्नु भएको छ । पहिले असन्तुष्ट भएका साथीहरू पनि हामीसँगको छलफल पछि काममा फर्कनु भएको छ । उम्मेदवारी चयन भइसकेपछि मेयर र उपमेयरका उम्मेदवारहरुका बारेमा एक जनाले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छैन । यस अघि मेयरको उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका प्रभावशाली नेता भूपबहादुर डाँगी अहिले उपमेयरमा उम्मेदवार हुनुहुन्छ । हाम्रो संयुक्त गठबन्धनलाई जिताउन दुवै पार्टीका नेता र कार्यकर्ताहरू सबै एकताबद्ध भएर लागिरहनु भएको छ । हामी चुनावी अभियानमा अघि बढिसकेपछि पार्टीका सदस्य र शुभेच्छुकको दायित्व पार्टीका उम्मेदवार जिताउने हो । यस्तो वेला वाद विवाद गरेर समय खेर फाल्ने समय हाम्रा नेता कार्यकर्ताहरूलाई छैन । चुनाव सकेपछि हामीले समीक्षा गर्नेछौ । केही गल्ती भएको रहेछ भने त्यस वाट शिक्षा लिने छौँ । अहिले हामीले खासै विवाद छैन । पार्टी निकट साथीहरूले निर्णय विपरीत हाल्नुभएका उम्मेदवारी पनि फिर्ता लिइरहनु भएको छ । अझै केही असन्तुष्टि रहेछन् भने पनि मतदान गर्नु अघिसम्म समाधान हुन्छ भन्ने विश्वास छ । 

तपाईँ निर्वाचित भएमा आगामी पाँच वर्षमा घोराही कस्तो बन्ला ?

हामी घोराहीवासीको भाग्य र भविष्य बदल्न उम्मेदवार बनेका हौँ । हामीसँग आगामी पाँच वर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने स्पष्ट योजनासहितको खाँका छ । हाम्रो जित पश्चात् दिनरात नभनी घोराहीवासीको सेवा र यहाँको विकासका लागि खटिने छौँ ।

कार्यालय विदाका दिन तपाई मतदाताहरुकै घर घरमा आएर तपाईँका समस्या के छन् र हामीलाई सुझाव के छ भनेर बटुल्ने छौ, अनि त्यसै आधारमा काम गर्नेछौँ । हामीले घोराहीको मुहार फेर्ने बाचा गरेका छौँ, त्यो पुरा गरेरै छोड्ने छौँ । हामीलाई यस पटक मौका दिनुहोस्, पाँच वर्ष पछि तपाईँले देशको सबैभन्दा ठुलो यो उपमहानगर घोराहीलाई नेपालको सबैभन्दा नमुना उपमहानगरपालिकाका रुपमा पाउनु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप