सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

सोमबार, १६ जेठ २०७९, ०९ : १८
सोमबार, १६ जेठ २०७९

बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ । प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । उक्त बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले त्यसलाई सदनमा टेबुल गर्नेछन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको जनाइएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ ।

गत शुक्रबारबाट सुरु भएको प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन् भने त्यसमाथि गत शनिबार बसेको प्रदेशसभाको बैठकमा दलगत रूपमा सांसदहरूले छलफल गरेका थिए । छलफलमा उठेका प्रश्नहरूको आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले जवाफ दिएका थिए । उनले संसद्मा उठेका प्रश्नहरूको उचित सम्बोधन गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप