आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उरुग्वेको पोल्टोमा परेको त्यो पहिलो विश्वकप

शनिबार, ०४ भदौ २०७९, ११ : २६
शनिबार, ०४ भदौ २०७९

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मङ्सिर ४ गतेबाट सुरु हुँदैछ । कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन् । एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन् । आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन् । 

हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ । अन्य प्रतियोगिताभन्दा अलग चाम हुन्छ विश्वकप फुटबल । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप सन् २०२२ मा कतारमा २२औँ संस्करण हुँदैछ । 

पहिलो पटक उरुग्वेमा आयोजना भएको प्रतियोगिताको उपाधि आयोजकले नै जितेको थियो । विश्वकप सुरु हुनु पूर्व ओलम्पिक नै विश्व फुटबलको ठूलो प्रतियोगिताको रूपमा मानिन्थ्यो । 

सन् १९२८ मा हल्यान्डको आम्स्टर्डम भएको ओलम्पिक खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक उरुग्वेले जितेको थियो । ओलम्पिकमा नै स्वर्ण जितेको उरुग्वेका लागि सन् १९३० को विश्वकप आयोजना गर्ने मौका जुरेको हो । 

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् १९२९ मा बैठक बसेर ओलम्पिकको स्वर्ण विजेता उरुग्वेलाई विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न दिने निर्णय गरेको थियो । 

विश्वकप फुटबलमा अहिले कतारले विभिन्न आठ रङ्गशालालाई महत्त्वपूर्ण सूचीमा राखेको छ । तर, विश्वकपको पहिलो प्रतियोगिता भएको उरुग्वेमा रङ्गशालाहरू व्यवस्थित थिएनन् । 

युरोपेली राष्ट्रहरूलाई पछि पार्दै विश्वकपको पहिलो संस्करण आयोजना गर्न सफल भएको उरुग्वेका लागि पहिलो विश्वकप आयोजनाका लागि थुप्रै अवसर र चुनौती थिए । उरुग्वेले आफ्नो इतिहास कोर्दै थियो भने अर्कोतर्फ उक्त इतिहासलाई जोगाउने पनि उरुग्वेको ध्येय थियो । 

सन् १९३० मा उरुग्वेमा भएको पहिलो विश्वकपमा १३ टिम भाग लिएका थिए । जसमा, आयोजक उरुग्वेसहित अर्जेन्टिना, चिली, फ्रान्स, मेक्सिको, युगोस्लाभिया, ब्राजिल, बोलिभिया, रोमानिया, पेरु, अमेरिका, पाराग्वे र बेल्जियम विश्वकपको पहिलो संस्करणमा सहभागिता जनाउने टिम थिए । 

पहिलो विश्वकप फुटबलमा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको थियो । एउटा समूहमा चार राष्ट्र सहभागी थिए । फिफाले अन्य समूहमा भने तीन–ती राष्ट्रलाई राखेको थियो । प्रतियोगितामा समूह चरणमा शीर्ष स्थान हात पार्दै अर्जेन्टिना, युगोस्लाभिया, उरुग्वे र अमेरिकाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएका थिए । 

उक्त समय विश्व फुटबलमा उरुग्वे बलियो टोलीको रूपमा गनिन्थ्यो । सन् १९२८ को ओलम्पिक विजेता भएका हिसाबले पनि उरुग्वेलाई बलियो टोलीको रूपमा लिइन्थ्यो । 

प्रतियोगितामा उरुग्वेले सेमिफाइनलमा युगोस्लाभियालाई ६–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । यता अमेरिकालाई सेमिफाइनलमा ६–१ को फराकिलो अन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको थियो

फाइनलमा पुगेका दुवै टोली बलिया थिए । दुवै टोलीको सेमिफाइनल नतिजा एउटै थियो । रोचक कुरा के छ भने यसअघि सन् १९२८ को ओलम्पिकको फाइनलमा भिडेका दुई राष्ट्रहरू अर्जेन्टिना र उरुग्वेले नै पहिलो विश्वकपको फाइनलमा स्थान बनाएका थिए । 

जुलाई ३० का दिन उरुग्वेको सेन्टेरियो रङ्गशालामा पहिलो विश्वकप जितेर इतिहास रच्नका लागि मैदानमा दुई टिमहरू उत्रिएका थिए । पहिलो विश्वकपको फाइनल खेल हेर्न ९३ हजार दर्शकहरू रङ्गशालामा आएका थिए । अर्जेन्टिनाबाट मात्रै १५ हजार समर्थकहरू फाइनल हेर्न आएका थिए । 

उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराउँदै आयोजक पहिलो विश्वकपको उपाधि जित्न सफल भएको थियो । पहिलो विश्वकपको उपाधि जित्दै राष्ट्रिय फुटबल टोलीले इतिहास कायम गरेको भोलिपल्ट उरुग्वेमा सार्वजनिक बिदाको घोषणा गरियो । यता अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा भने स्तब्ध समर्थकहरूले उरुग्वेको राजदूतावासमा ढुङ्गा हाने । 

स्टेबिल पहिलो विश्वकपका सर्वाधिक गोलकर्ता 

अर्जेन्टिनाका गियुललेर्मो स्टेबिल पहिलो विश्वकपको सर्वाधिक गोलकर्ता घोषित भए । प्रतियोगितामा उनले सर्वाधिक ८ गोल गरेका थिए । स्टेबिलले फाइनल खेलमा पनि एक गोल गरेका थिए । सेमिफाइनलको खेलमा एक गोल गर्दा बाँकी ६ गोल समूह चरणका खेलहरूमा गरेका थिए । 

उरुग्वेका पेर्डाे केई पाँच गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो बनेका थिए । 

लाउरेन्टेको विश्वकपको पहिलो गोल

फ्रान्सेली खेलाडी लुसियन लाउरेन्टेले विश्वकपको पहिलो गोल गरेका थिए । पहिलो विश्वकपको पहिलो खेल फ्रान्स र मेक्सिकोबीच खेलाइएको थियो । 

लाउरेन्टले विश्वकपको पहिलो खेलको १९ औँ मिनेटमा गोल गरेका थिए । विश्वकप फुटबलकै इतिहासमा यो पहिलो गोल हो । मेक्सिकोलाई ३–१ ले हराउँदै फ्रान्सले यही खेलबाट विश्वकपको पहिलो खेल जित्ने इतिहास बनाएको थियो ।

पहिलो विश्वकपमा तीनवटा रङ्गशालाको प्रयोग गरिएको थियो । फाइनल खेल खेलाइएको रङ्गशाला उरुग्वेको स्वतन्त्रता दिवसको अवसरमा बनाइएको थियो । यो रङ्गशालालाई अहिले पनि उरुग्वेलीहरु स्वतन्त्रता तथा विजयको प्रतीकका रूपमा हेर्छन् ।  – एजेन्सीको सहयोगमा

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप