सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमतीको मुख्यमन्त्री बन्ने दौडमा ४ नेता

बुधबार, २६ असोज २०७९, १५ : २८
बुधबार, २६ असोज २०७९

बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ४ नेता देखिएका छन् । आसन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकामध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मुख्यमन्त्रीको दाबेदार देखिएका हुन् ।

कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका पहिलो प्रतिस्पर्घी हुन् । बानियाँले डोरमणि पौडेल मुख्यमन्त्रीको भूमिकामा रहँदा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गरेका थिए । आगामी निर्वाचनमा प्रतिनिधिसभा तर्फ चुनाव लड्ने मनस्थिति बनाएका बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको चर्चा छ । उनी चुनाव लड्दै आएको क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई टिकट दिएर बानियाँलाई यस अघि २०७४ मा चुनाव लडेको मकवानपुर–२ (ख) बाटै प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनाइएको छ ।

बानियाँ मकवानपुर–१ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीसमेत बनिसकेका छन् । त्यस्तै मुख्यमन्त्री बन्ने दौडमा रहेका अर्का नेता हुन् माओवादी केन्द्रका शालिकराम जम्कट्टेल । प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जम्कट्टेल आगामी निर्वाचनपछि पनि सत्तामै रहने होडमा छन् । उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस यता करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जम्कट्टेल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बने । त्यसो त एमाले विभाजनपछि प्रदेशको मुख्यमन्त्रीमा उनको पनि दावी थियो । तर, केन्द्रबाट माओवादी केन्द्रले अन्य २ वटा प्रदेशमा सरकारको नेतृत्व लिएका कारण उनले मुख्यमन्त्री बन्ने अवसर पाएनन् ।

उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी रहे पनि मुख्यमन्त्री बन्ने अपेक्षा लिएर धादिङ–१ (ख)बाट पुनः प्रदेशसभामै उम्मेदवार बनेका छन् । उनलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे पनि सकारात्मक रहेको बताइन्छ ।

यता एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् । सोही अनुसार उनी चितवन–१ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि चुनाव लड्दै छन् । उनी चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा रहे पनि सत्ता गठबन्धनमा सो क्षेत्र कांग्रेसको भागमा परेकाले प्रदेशसभामा चुनाव लड्दैछन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित भएका खनाल डोरमणि पौडेल नेतृत्वको सरकारका पालमा ओझेलमा परेका थिए ।

आफ्नालाई मात्र सरकार र मन्त्री बनाएको तथा बजेटमा पनि विभेद गरिएको भन्दै उनी पौडेल नेतृत्वको सरकारको कडा आलोचक थिए । करिब साढे ३ वर्ष ओझेलमा परेका उनी डोरमणि पौडेलले सरकार छाडेकै दिन समाजिक विकास मन्त्री बने । उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । १५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आवद्ध भए ।

एकीकृत समाजवादीमा आवद्ध भएको २ महिना नबित्दै उनी फेरि मन्त्री बने । एकै कार्यकालमा उनले २ पटक मन्त्री बन्ने अवसर पाएका थिए । उनी सत्ता गठबन्धनको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने । उनी सरकारका प्रवक्ता समेत हुन् ।

उता बहुमतको सरकार गुमाएर एकाएक ४३ सांसद लिएर १ वर्ष प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमालेबाट पनि एक जना मुख्यमन्त्रीको आकांक्षी छन् । एमालेबाट काठमाडौं–२ (क)बाट प्रदेशसभातर्फ उम्मेदवार बनेका सानुकुमार श्रेष्ठ मुख्यमन्त्री बन्ने दौडमा छन् । प्रदेशसभाको सभामुख समेत भइसकेका श्रेष्ठलाई एमालेले मुख्यमन्त्री बनाउनकै लागि प्रदेशमा चुनाव लडाएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप