मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

आइतबार, ३० असोज २०७९, १३ : १४
आइतबार, ३० असोज २०७९

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा.इरा नइमले शनिवार काठमाडौँमा ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा.नइमले नेपालजस्ता मुलुकहरूले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाई हुनुपर्नेमा जोड दिइन् । 

नइमले व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै अवस्था सही हुनुपर्ने उल्लेख गर्दै भनिन्, ‘यो समस्यालाई मनोवैज्ञानिक रूपमा नहेरिने लगायतका कारणले व्यक्ति मानसिक समस्यामा पर्दै जाने क्रम बढेर गएको छ । शारीरिक समस्यालाई जसरी व्यक्तिको मानसिक समस्यालाई पनि ध्यानमा राख्न आवश्यक छ । राज्यस्तरबाटै यस्तो विषयमा पर्याप्त नीति बनाइन, सचेतना फैलाइन र समयमै समस्याको निदान हुनुपर्छ ।’

मानसिक समस्यालाई सामान्य रूपमा लिँदा पछिल्लो समय यसले विकराल रूप लिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले जनस्तरमा समेत यसको विषयमा पर्याप्त सचेतना फैलाइन आवश्यक रहेको बताइन् ।  उनले काठमाडौँमा रहेर सक्रिय मनोचिकित्सक तथा चिकित्सकहरूसँग समेत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरेकी थिइन् । 

कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जल्दोबल्दो विषयमा दुबईबाट नेपाल आएर महत्त्वपूर्ण समय र प्रस्तुति दिएको भन्दै डा.नइमको प्रशंसा गरेका थिए । उनले पछिल्लो समय मानसिक समस्यालाई सामान्य रूपमा लिँदा समाजमा डिप्रेसनको समस्या बढ्दै गएको र आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको भन्दै विद्यालय स्तरदेखि नै मनोविज्ञानको विषयमा पढाई हुनुपर्ने र नेपाल सरकारले समेत मानसिक समस्यालाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक वसन्त चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र लगायतको पनि सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप