मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मनोज थारूको उपन्यास ‘टुवरा’को विमोचन

सोमबार, ०७ कात्तिक २०७९, १५ : ५५
सोमबार, ०७ कात्तिक २०७९

आख्यानकार मनोज थारू‘अज्ञात’को‘टुवरा’उपन्यास सार्वजनिक भएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारहरूले पुस्तक आइतबार विमोचन गरेका हुन् ।

थारू भाषाको शब्द ‘टुवरा’को अर्थ ‘टुहुरा’ हुन्छ । यसमा गरिब थारू किसानको कथा व्यथा समेटिएको लेखकले बताए । पुस्तक सार्वजनिक गरेपछि प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले थारू समुदाय साँस्कृतिक रुपमा धनी भएपनि साहित्यिक क्षेत्रमा यस समुदायको प्रतिनिधित्व कम रहेको बताइन् । अब माडी नगरपालिकाले साहित्य र साहित्यकार प्रबर्धनमा विशेष प्रयास गर्ने प्रतिबद्धता उनले जनाइन् । 

थारू पत्रकार संघ नेपाल, चितवन शाखाले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममासमीक्षक उदय अधिकारीले भने, ‘लेखकले थारू समुदायका दैनिकी, क्रान्ति र सपनालाई ‘टुवरा’मा अटाएका छन् । आञ्चलिकताले भरिपूर्ण यस किताबमा भाषाको बिशेष सौन्दर्यता छ । टुवराले मनोजलाई राष्ट्रियस्तरको लेखकमा दर्ज गर्नेछ ।’ समीक्षक रमेश प्रभातले यस उपन्यासले टुवरा, मान्ठालगायतका पात्रमार्फत् तराई मधेसको सिङ्गो कथा उठान गरेको बताए । 

अमर जनशक्ति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तोयनाथ पौडेलले लेखक थारूले आफ्नै समुदायको कथालाई विभिन्न आयामबाट उपन्यासको रुपमा तयार गरेर पात्रहरूमाथि न्याय गरेको विचार राखे । 
अर्का समीक्षक ज्ञानेन्द्र महतोलेलेखकले राज्यको शासन सत्तामा बसेकालाई आफ्नो समाजको वास्तविकता सम्बोधन गरेको धारणा राखे ।  साहित्यकार धनराज गिरीले, आफ्नो समुदायको कथा खोतल्नु प्रशंसनीय काम भएकोले यस टुवरा उपन्यासले ख्याति पाउने बताए । प्रकाशक शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलले सर्जकलाई शिखाको प्रोत्साहन सधैँ रहने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतो, थारू कल्याणकारिणीसभा चितवनका अध्यक्ष ललित कुमार चौधरी, जब्का महतान पटिदारीका अध्यक्ष आशाराम चौधरी, थारू पत्रकार संघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष सन्तकुमार चौधरी लगायतले पनि पुस्तकबारे आआफ्नो धारणा राखेका थिए । चितवनका आख्यानकार मनोजको पहिलो उपन्यास ‘टुकी’ २०७५ सालमा प्रकाशित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप