सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं २ का जनतालाई सुख–दुःखमा साथ दिने राप्रपा उम्मेदवार कुन्ती पोखरेलको बाचा

मङ्गलबार, ०८ कात्तिक २०७९, १९ : २७
मङ्गलबार, ०८ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ती पोखरेलले यस क्षेत्रका स्थानीयको सुख–दुःखमा साथ दिने बताएकी छिन् । मंगलबार क्षेत्र नम्बर २ को शंखरापुर नगरपालिका वडा नम्बर ९ को भुल्भु क्षेत्रको घरदैलोका क्रममा उनले यस क्षेत्रको विकास निर्माणका साथै जनताका सुख दुःखमा सदैव साथ दिने प्रतिबद्धता जनाएकी हुन् ।

उम्मेदवार पोखरेलले सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम शंखरापुर नगरपालिकाले ६ महिनामा गरेर देखाएको बताउँदै राप्रपा निर्वाचित भएमा काठमाडौं क्षेत्र २ का जनता अभिभावक विहीनको अवस्थामा रहनु नपर्ने उल्लेख गरिन् । शंखरापुरको भुल्भुमा गरिएको दीपावली र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा मतदातासँग अन्तक्र्रिया कार्यक्रममा उनले आफू सोही क्षेत्रको बासिन्दा भएकोले ‘टुरिष्ट’ उम्मेदवारले भन्दा जनताको सुख दुःखलाई बढी ख्याल गर्ने उल्लेख गरिन् ।  

उनले भनिन–‘राप्रपाले शंखरापुर नगरपालिका जितेपछि अघिल्ला प्रतिनिधिले पाँच वर्षमा गर्न नसकेका धेरै काम ६ महिनामा पूरा भएको छ  । अब प्रतिनिधि सभा र प्रदेश सभामा पनि हामीलाई जिताउनुभयो भने यो ठाउँको भौगोलिक, सामाजिक आवश्यकता अनुसार विकास निर्माण समृद्धि हासिल गर्ने काम गर्नेछौँ ।’ कोटेश्वरबाट भक्तपुरतर्फ बाटो खानेपानीको विकास भएपनि क्षेत्र नम्बर २ का धेरै क्षेत्रमा भने एम्बुलेन्स छिर्ने बाटो समेत नभएकोले यस्ता बाटो, भौतिक पूर्वाधार, स्वास्थ्यका  मुद्दाहरूलाई प्रमुख प्राथमिकता राखेर अघि बढ्ने उनले बताइन् । 

आफ्नो पहलमा शंखरापुर नगरपालिकाका लागि एम्बुलेन्सको व्यवस्था गरेको उल्लेख गर्दै उनले जनताका स्वास्थ्य सेवा, शिक्षा स्वास्थ्य र विकासका कुरामा आफू सधैँ लागिपर्ने उल्लेख गरिन । उनले हिजो चुनाव जितेका नेता जस्तो आफू नरहेको बताउँदै जनताको घरदैलोमा निरन्तर आउने बताइन् । उनले भनिन्–‘हिजो तपाईँहरूले कस्ता प्रतिनिधिलाई भोट दिनुभयो ?आज यो ठाउँको अभिभावक खोइ ? हिजो तपाईँहरूले भोट हालेका व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री भए तर यो क्षेत्रमा फेरी फर्केर आउनुभयो ? पक्कैपनि आएनन् । यो पटक तपाईँहरूको सुख दुःखमा साथ दिने बाचा सहित तपाईँहरूको घर आँगन आएकी छु । तपाईँहरूले पक्कैपनि मलाई विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले आगामी निर्वाचनमा पटक–पटक पदमा पुगेर पनि काम नगर्नेहरूलाई बिदाइ गरेर स्थानीय नयाँ नेतृत्व छान्न सुझाव दिइन् । उनले राप्रपाको एजेण्डा हिन्दू राष्ट्र नेपाल बनाउने, संवैधानिक राजतन्त्र र भ्रष्टाचार निर्मूल गर्ने एजेण्डा सहित आफू चुनावी मैदानमा आएको बताइन् । उनले यो क्षेत्रमा राप्रपाले जिते मात्रै धर्म, संस्कार, संस्कृतिको रक्षा हुने र भौतिक पूर्वाधार र अत्यावश्यक कुराहरूको विकास हुनेमा जोड दिइन् । कार्यक्रममा राप्रपा शंखरापुर नगरपालिकाका नेता कार्यकर्ता र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप