मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हिम्मतवाली आमा डम्बरकुमारी’ विमोचन

मङ्गलबार, १५ कात्तिक २०७९, १० : १७
मङ्गलबार, १५ कात्तिक २०७९

राष्ट्रिय सूचना आयोगकी पूर्वआयुक्त यशोदा तिमल्सिनाकी आमा डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’को विमोचन गरिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रममा सो कृतिको विमोचन गरिएको हो । 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पूर्वसचिव कृष्णहरि बास्कोटा, कृतिकारका श्रीमान् भोला तिम्सिना, कृतिकार डम्बरकुमारी तिम्सिना, यशोदा तिमल्सिना, अर्चना थापाले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए । 

कार्यक्रमकी प्रमुख वक्ता अर्चना थापाले नेपाली समाजमा ठूला मानिसका मात्र आत्मकथा लेखिनुपर्छ र अरू सर्वसाधारणका महत्त्वहीन हुन्छ भन्ने भ्रम रहेको बताइन् । उनले भनिन्, “जो सरकारी उच्च ओहदामा हुन्छ, जो आर्थिक सामाजिक सफलताको चढेको छ, जसले नाम र दाम कमाएको छ, ठूलाबडासँग जसको उठबस हुन्छ, त्यसको मात्र आत्मकथा लेखिनुपर्छ भन्ने भ्रामक सोच नेपाली समाजमा विद्यमान छ ।” तर हरेक व्यक्तिका सपनाका कथा, आफ्ना रहरका कथा, शोषणका, दमनका र स्वतन्त्रता चाहका कथा हुन्छन् तिनलाई लेखिनु आवश्यक रहेको उनले बताइन् । यो हिम्मतवाली आमा डम्बरकुमारी पनि त्यही साधारण महिलाका विविध कथाहरुको सँगालो रहेको उनले बताइन् ।

पूर्वसचिव कृष्णहरि बास्कोटाले कृतिमा एक हिम्मतवाली आमाको कथाहरू समेटिएको बताए । “पुस्तकको अध्ययन गर्दा माइतीमा दाइले पढेको ईर्ष्या, घरमा नन्द आमाजूले हातमा किताब लिएर स्कुल गएको देख्दा घुटुक्क थुक निल्नु हुन्छ डम्बरकुमारी,” उनले भने, “छोरीको कर्म यस्तै हो, राम्रोसँग घर गरी खाएस भनेर भनेर डम्बरकुमारीलाई पराई घर रुँदै पठाएको कथा निकै मार्मिक छ ।” तत्कालीन समयमा छोरी–बुहारीका लागि तत्कालीन समाज कस्तो थियो भन्ने कथा यस कृतिको अध्ययनबाट थाहा हुने उनले बताए । 

यसैगरी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका क्षेत्रमा काम गर्नेहरूले यस्ता कृतिको अध्ययन गर्न आवश्यक रहेको बताए । “अहिलेको हाम्रो समाज अलि भिन्न भएको हुन सक्छ, उहाँले हिजो जुन सामाजिक परिवेश, छोरीको भूमिका भोग्नुभयो, नन्दआमाजूको भूमिका पनि भोग्नुभयो । सायद सबै महिलाहरूले निर्वाह गर्ने भूमिका यिनै हुन्छन् । यी कुराले न्याय सम्पादनमा हामीलाई पनि मदत गर्छ ।” पुस्तकले हाम्रो सामाजिक परिवेश कस्तो छ भन्ने जानकारी दिने हुँदा यो कृति अध्ययन गर्नुपर्ने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप