आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक वर्षभित्र भ्रष्ट नेताहरूलाई जेल हाल्ने हाम्रो अभियान हो : अनन्तराज घिमिरे

शुक्रबार, १८ कात्तिक २०७९, १४ : १५
शुक्रबार, १८ कात्तिक २०७९

हाम्रो नेपाली पार्टीका अध्यक्ष ई. अनन्तराज घिमिरेले देश बनाउनु पर्छ भन्ने अभियानसहित हाम्रो नेपाली पार्टी निर्वाचनमा होमिएका बताएका छन् । मङ्सिर ४ गतेको निर्वाचनमा आफ्नो पार्टीले ६५ स्थानमा प्रतिनिधिसभा सदस्य, १०१ स्थानमा प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फका लागि २२१ उम्मेदवार खडा गरेको पनि घिमिरेले बताए । 

थापाथली क्याम्पसमा ९ वर्ष प्राध्यापन तथा मध्य पश्चिमाञ्चल विश्व विद्यालयमा ५ वर्ष डिन भएर राजनीतिमा होमिएका घिमिरेले रातोपाटीसँगको कुराकानीमा देशमा भ्रष्टाचार व्याप्त रहेको र भ्रष्टाचारीलाई सेकाउनकै लागि पार्टीले लौरो अभियान सुरु गरेको पनि बताए । उनले भने, ‘हाम्रो पार्टीको पहिलो मुद्दा भनेकै भ्रष्टहरूलाई जेल हाल्ने र देशलाई समृद्धितर्फ लैजाने हो । जब सम्म देशका भ्रष्ट नेताहरूलाई जेल हालिँदैन तबसम्म यो देश बन्दैन’, घिमिरेले भने, ‘लौरो सरकार बनिसकेपछि हामी २०४६ साल पछिका सबै नेताहरूको सम्पत्ति छानबिन गर्छौ र उनीहरूलाई माफी नदिई जेल हाल्छौँ। यति नगरी हाम्रो देश बन्ने वाला छैन।’

उनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, आत्मनिर्भर अर्थतन्त्रका लागि गाँजा र जडीबुटी तथा स्वदेशी उत्पादनको प्रवर्द्धन लगायतका विषयलाई पनि पार्टीले प्राथमिकतामा राखेको बताएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पछि स्थापना भएको यो पार्टी लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको छ । पार्टीमा धेरै जसो इन्जिनियर र डाक्टरहरूको उपस्थिति रहेको दाबी गर्दै पार्टीका अध्यक्ष घिमिरेले देश बनाउनकै लागि राजनीतिमा होमिनु परेको पनि बताए । उनले भने, ‘लौरो अभियान भनेको देश बनाउने अभियान हो । देश बिगार्नेहरूलाई सजाय दिने अभियान हो’, पुराना दल र दलका शीर्ष प्रतिनिधिहरूतर्फ सङ्केत गर्दै घिमिरेले भने, ‘अब तपाइहरू हुँदैन, तपाइहरूलाई कुनै ठाउँ छैन अर्थात् ‘नो नट अगेन’ भनेर नै हामी विकल्पका रूपमा मैदानमा आएका हौँ।’

वर्तमान प्रधानमन्त्री तथा अन्य शीर्ष नेताहरूमाथि कटाक्ष गर्दै अध्यक्ष घिमिरेले प्रश्न गर्दै भने, ‘भारतीय प्रधानमन्त्री मोदी जस्तो अन्तर्राष्ट्रिय व्यक्तित्वसँग बस्दासमेत र्‍याल काढेर बस्ने, पाँच–पाँच पटक प्रधानमन्त्री बनेका देउवा, पटक पटक जनतासँग आफ्नो पार्टीले हारेमा देश दुर्घटनामा जान्छ, संघीयता र गणतन्त्रका उपलब्धि गुम्छन् भनेर ‘ब्ल्याकमेल’ गर्ने प्रचण्ड, बाबुराम, ओली जस्ता नेताबाट अब हामीले के अपेक्षा गर्ने?’  

उनले हाम्रो नेपाली पार्टीसँग अहिलेको अवस्थामा ठुलो पार्टी संरचना नभए पनि दलहरूको विकल्पका रूपमा देश बनाउन सक्ने उम्मेदवारहरू मैदानमा रहेको दाबी पनि गरे । उनले हरेक दिन ३ हजार नेपाली युवा रोजगारीका लागि तेस्रो मुलुक बिदेसिनू परेको तथा ३ हजारकै सङ्ख्यामा छिमेकी मुलुक भारत गएर १० हजार रुपैयाँका लागि भाँडा माझ्न बाध्य हुनुको कारण भ्रष्ट नेता भएको आरोप लगाउँदै यस्तो विकराल अवस्थाबाट देशलाई मुक्त गराउन र देशको समग्र विकासकालागि हाम्रो नेपाली पार्टी लौरो अभियानसहित जनतासमक्ष प्रस्तुत भएको बताए ।

उनले अब देशको विकराल अवस्थालाई टुलुटुलु हेरेर अनि नक्सा बनाएर पढाएर वा कसैको उपचार मात्र गरेर बस्ने नभएर डाक्टर इन्जिनियर मिलेर देश बनाउने अभियान सुरु गरेको पनि प्रष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप