आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस केन्द्रित पार्टी समाप्त हुने अवस्थामा छन् : महिन्द्र राय यादव

बुधबार, २३ कात्तिक २०७९, १५ : २९
बुधबार, २३ कात्तिक २०७९

सर्लाही–२ मा माओवादी केन्द्रको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका संघीय अध्यक्ष महिन्द्र राय यादव उम्मेदवार छन् । यही क्षेत्रमा गठबन्धनकै लोसपाका नेता राजेन्द्र महतो पनि उम्मेदवार छन् ।

सत्ता गठबन्धन नै विभाजित रहेको यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । चुनावकै सेरोफेरोमा केन्द्रित रहेर महिन्द्र राय यादवसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, यादवसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंको क्षेत्रमा चुनावी तयारी कस्तो छ ?

अहिले संविधानको रक्षाका लागि सत्ता गठबन्धनको जुन लक्ष्य, उद्देश्य छ, देशको राष्ट्रियता संरक्षणका लागि यो क्षेत्रका जनता पूरै अघि बढेको अवस्था छ । गठबन्धनको पक्षमा सफलता प्राप्त हुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईं ६ दशकसम्म राजनीतिमा हुनुहुन्छ, अब थकाई लागेन र भन्या ?

हो, यसपालि मैले यो क्षेत्रको जनतालाई अनि देशलाई पनि जानकारी गराउन चाहन्छु कि यो मेरो अन्तिम चुनाव हुनेछ । त्यसपछि म पार्टी राजनीतिमा मात्र सक्रिय हुनेछु । पार्टीको राजनीति गर्छु, यसरी जनताको बीचमा आफ्नो लागि मत माग्न आउँदिनँ । हामीले छोडेपछि युवा शक्तिलाई अघि बढ्ने मौका हुन्छ । अब देशको माग बमोजिम युवा शक्तिलाई अघि बढाउने नै हो ।

सत्ता गठबन्धनको समर्थन कसलाई छ ? लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार हुनुहुन्छ, आधिकारिक उम्मेदवार को हो ?

कुरा क्लियर छ, यहाँ अलमल पार्न खोजिएको हो । चार दलको गठबन्धनले स्पष्ट पारिसकेको छ । सर्लाही–२ मा संघको उम्मेदवार मै हो । ‘ख’ को प्रदेशसभा उम्मेदवार कौशल किशोर राय, ‘क’ को सुनिल साह हुनुहुन्छ । यी सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार हुन् । पछि आएर लोसपा र गठबन्धनको तालमेल भएकै हो, त्यसपछि आएर मित्रवत् चुनाव लड्ने भनिएको हो । यहाँ मधेसका जनतालाई भ्रम सिर्जना गर्ने गरिएको छ, यो गलत हो ।

मित्रवत् प्रतिस्पर्धा हुँदा दुई जनाको आपसी प्रतिस्पर्धाले नतिजा अर्काेतिर जाने सम्भावना कति छ ?

सम्भावना कत्ति पनि छैन । किनकि त्यहाँ प्रतिस्पर्धा नै छैन । त्यो मित्रवत् चुनाव होइन । त्यहाँ नक्कली शब्द प्रयोग गरिएको हो । चुनाव भनेको युद्धजस्तो हुन्छ, जनताले त्यसरी फैसला गर्दछन् । लोसपा सत्ता गठबन्धनमा होइन, उहाँहरु तालमेलमा मात्र हो । यहाँ लोसपा समाप्त हुने स्थितिमा छ ।

हामी सर्वाेच्चमा मुद्दा लड्दै गर्दा केपी ओलीको सरकारमा गएर संविधान ध्वस्त पार्ने शक्ति लोसपा भएको जनताले बुझिसकेका छन् । नागरिकताको विषयमा एमाले जुन तरिकाले प्रस्तुत भएको थियो, त्यो कलंक हो भन्ने जनताले बुझिसकेका छन् । तै पनि गणितीय हिसाबले मेरो प्रतिस्पर्धी एमाले हो ।

तपाई पटक–पटक निर्वाचित भएर मन्त्री हुनुभयो । तपाईलाई यहाँका जनताले फेरि मत किन दिने ?

यति लामो समय जनताले मत किन दिए भने म जनताको बीचमा काम गरेको मान्छे हुँ । जनताले विश्वास र भरोसाले गर्दा यति लामो समय म यहाँ बसेको छु । यो पाँच वर्षको अवधिमा यहाँ धेरै विकास निर्माणको योजना परेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि हामी कटिबद्ध छौं । जबकि आज पनि यहाँ प्रतिगामी तत्व सल्बलाई रहेको अवस्था छ । सर्वाेच्च र संसदबाट हामीले लडेर जुन उपलब्धि हासिल गरेका छौं । त्यसले पनि हामीलाई मत आउँछ । यो मेरो अन्तिम पटकको चुनाव भएकाले पनि जनताको मप्रति हार्दिक सहानुभूति छ ।

यहाँको जनताले निर्वाचनैपिच्छे फरक चिह्न लिएर आउनुहुन्छ, चुनाव चिह्नै बुझ्न गाह्रो भयो भन्छन् नि ?

हामीले अधिकारका लागि लड्ने हो । म त एमाले पार्टीबाट सांसदबाट राजीनामा दिएको मान्छे । सांसद बन्नका लागि मान्छेले चुनावपिच्छे चिह्न फेर्छ । मैले मधेसको आन्दोलन यसको माग पूरा गर्नका लागि पार्टी चेन्ज गरेको हो ।

पहिचान र अधिकारका लागि, बराबरी अधिकारका लागि हामीले पार्टी नै बनायौं । पार्टी अध्यक्ष भएर पनि पार्टी चलायौं । जनता समाजवादी पार्टी पनि चलायौं । केही व्यक्तिहरु सत्ता स्वार्थका लागि प्रतिगामी तत्वमा गए । अब यो देशमा क्षेत्रीय पार्टीको औचित्य रहेन, राष्ट्रिय पार्टीको औचित्य छ । अब मधेस, हिमाल र पहाडको वैकल्पिक शक्तिको परिकल्पना गरेका थियौं, त्यसलाई पूर्णता दिनका लागि त्यहाँ गएँ ।

मधेसको पार्टी हामी जोड्दै गयौं तर सत्ता स्वार्थका लागि पार्टी फुट्दै गयो । परिवारवादका लागि फुट्दै गयो । त्यसैले चुनाव चिह्न परिवर्तन हुँदै गयो । यसपछि अब नेपाल समाजवादी पार्टी बनाएर अघि बढ्ने योजनामा छु । राम्रो काम गर्नेलाई चिह्नले फरक पर्दैन ।

तपाईको विचारमा मधेस केन्द्रित दलहरुको अस्तित्व समाप्त हुँदै गएको हो ?

राष्ट्रिय पार्टी निर्माण गर्नका लागि चार लाख मत चाहिन्छ । मतदाता संख्या बढेको देख्दा हामीलाई त्यो मत आउने अवस्था छैन । लोसपा त्यसै पनि जाने नै भयो । एमालेसँग जसपाले जसरी समझदारी ग¥यो, त्यो आफै समाप्त भयो ।

***

‘सर्लाही–२ मा सत्ता गठबन्धनले जित्छ’

सर्लाही–२ प्रदेशसभा ‘ख’को उम्मेदवार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कौशल किशोर राय छन् । उनी सत्ता गठबन्धनले नै चुनाव जित्ने तर्क गर्छन् । उनीसँग रातोपाटीले चुनाव केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईको चुनावी तयारी कसरी चलिरहेको छ ?

सर्लाही–२ मा हाम्रो अवस्था मजबुत छ । हाम्रो आधिकारिक गठबन्धनले नै चुनाव जित्छ ।

यो गठबन्धनलाई नेपाली कांग्रेसले राम्रो सहयोग गरेको छैन भन्ने छ नि ?

त्यो गलत हो, सहयोग गरेको छ । साथीहरु सहयोगमै हुनुहुन्छ । केही अन्यौल अवश्य छ, त्यो चुनाव नजिकिँदै गर्दा समाधान हुन्छ । पार्टीका जिम्मेवार साथीहरुले केन्द्रको निर्देशन मान्नुपर्छ । केन्द्रीय सभापति शेरबहादुर देउवाले दिएको निर्देशन ग्रासरुटमा पनि फलो गर्नुपर्छ ।

प्रदेश ‘ख’ को अवस्था के छ ?

यहाँको अवस्था एकदमै राम्रो छ । हामीले स्थानीय चुनावमा यस क्षेत्रमा १८ हजार मत पाएका छौं । त्यसमा गठबन्धन भएका कारणले झनै मजबुत छ । यहाँको कुल ६२ हजार मतमा १५–१६ हजार मत ल्याएमा मात्र पनि जित निश्चित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप