सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा अझै खाद्यान्न ढुवानी हुन सकेन

आइतबार, २७ कात्तिक २०७९, १० : ४३
आइतबार, २७ कात्तिक २०७९

नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो । लिमिटेडका  प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढिरहेको बताए । 

हाल गोदाममा तीन सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ । यस आर्थिक वर्षका लागि आठ हजार क्विन्टल खाद्यान्नमध्ये सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट दुई हजार क्विन्टल कोटा निर्धारण भएकामा यसको ढुवानीका लागि टेन्डर प्रक्रिया लामो भएका कारण हालसम्म सो खाद्यान्न ढुवानी हुन सकेको छैन । हवाई मार्गको खाद्यान्न ढुवानीका लागि खाद्य कम्पनीले दुई पटक टेन्डर निकाल्नुपरेको थियो । 

खाद्य कम्पनीले पहिलो पटक टेन्डर निकाल्दा ढुवानी दर कम भएको भन्दै कुनै पनि ढुवानीकर्ताले आवेदन गरेनन् । यसमा नेपालगञ्जका लागि प्रतिकेजी १५० रूपियाँ र सुर्खेतबाट प्रतिकेजी १४० रूपियाँ ढुवानी दर लाग्ने टेन्डर निकालिएको थियो । पुनः दोस्रो पटक सुर्खेतबाट प्रतिकेजी १५५ रूपियाँ र नेपालगन्जबाट प्रतिकेजी १६० रुपियाँ टेन्डर निकालिएको थियो । 

 दोस्रो सूचनामा सुर्खेतको खाद्यान्न ढुवानी समिट एयरलाइन्स र नेपालगञ्जको खाद्यान्न तारा एयर छनोट भएको भए पनि सम्झौता हुन नसकेको  अधिकारीले बताए । खाद्य कम्पनीले सम्झौताका लागि आशयपत्र निकालेको भए पनि दुवै एयरलाइन्सले सो काम गरेका छैनन् । सम्झौताका लागि खाद्य कम्पनीले पत्राचार गरिसकेको छ, तर पनि एयरलाइन्स नआएका कारण काम अगाडि नबढेको हो । 

त्यसै गरी सिमकोटकै लागि दुई हजार क्विन्टल सुर्खेतबाट पैदल मार्गबाट सलीसल्लासम्म र त्यस यता हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ । यो खाद्यान्न दशैँ-तिहारभित्र हेलिकोप्टरबाट ढुवानी हुनुपर्ने थियो ।  

प्रमुख अधिकारीले गोदाममा मौज्दात खाद्यान्न न्यून हुँदा बिक्री वितरण गर्न नपुग्ने भएको कारण असोजपछि सूचना नै निकालेर बिक्री बन्द गर्नुपरेको बताए ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप