सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जाडो बढेसँगै घुम्ती गोठ बेँसीतिर झरे

आइतबार, २७ कात्तिक २०७९, १२ : ५०
आइतबार, २७ कात्तिक २०७९

जाडो बढेसँगै लमजुङका लेकमा रहेका घुम्ती गोठहरू बेँसी झर्न थालेका छन् । सबै पालिकामा रहेका घुम्ती गोठहरू जाडोका कारण बेँसी झरेको हो ।

जाडो छल्नका लागि र खेतीपातीका लागि मल आवश्यक पर्ने भएकाले गोठहरू बेँसी झर्ने चलन छ । क्व्होलासोंथर गाउँपालिका-४ भुजुङका नौराज गुरुङका अनुसार घुम्ती गोठ भुजुङको घिम्चेफाँटमा झरेको छ । करिब ५० वटा गोठ फाँटमा राखिएको बताएका उनले  गाउँमाथि लेकमा रहेका भैँसी गोठ र भेडा गोठ फाँटमा झरेको जानकारी दिए ।

 ‘जाँडो बढेको छ । जाडो बढ्दै गर्दा लेकमा रहँदा वस्तुलाई चिसो हुन्छ । चिसोमा मर्ने समस्या हुन्छ,ु उनले भने । उक्त गोठहरू कात्तिकदेखि मंसिरसम्म घिम्चेफाँटमा त्यसपछि केही दिन कोदो लगाइएको खेतमा बस्छ । चैत १५ गतेबाट लेकमै फर्कने गरेको स्थानीयले बताएका छन् ।

क्व्होलासोंथर गाउँपालिका-३ घलेगाउँका गमबहादुर गुरुङका अनुसार गाउँको बेँसीमा घुम्ती गोठ बसेको छ । एक साताअघिदेखि नै गोठ आएको हो ।  कात्तिकमा बेँसी झर्ने, मंसिर, पुस, माघ, फागुन र चैतसम्म बस्ने गर्छ । वैशाखमा पुन लेकमा जाने गर्छ । बस्तुभाउलाई न्यानो बनाउन र मलका लागि गोठ झर्ने गरेको स्थानीयले बताएका छन् । 

दूधपोखरी गाउँपालिका पशु शाखाका कर्मचारी दिनेश गुरुङका अनुसार दूधपोखरी क्षेत्रको लेकमा रहेका घुम्ती गोठहरू बेँसी झरेको छ । गोठहरू इलमपोखरी डाँडामा बसेको छ । जाडोको समय भएकाले गोठ बेँसी झरेको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार लमजुङका घुम्ती गोठहरू अहिले बेँसी झरेको छ । जाडोको समयमा लेकमा बस्न नसकिने भएकाले न्यानो खोज्दै बेँसी आउने गरेका छन् ।

लमजुङमा करिब ३०० वटा घुम्ती गोठ छन् । करिब १० वटा गाईगोठ, करिब १०० वटा भेडाबाख्राको गोठ र अन्य भैँसी गोठ छन् ।
न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप