रौतहटको १ (२) बाट कांग्रेसका प्रदेश सभापति कृष्ण यादव विजयी
रौतहटको क्षेत्र नम्बर १ (२) का लागि प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् ।
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति समेत रहका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गरेका हुन् ।
मुख्य निर्वाचन कार्यालय गौरका अनुसार कांग्रेसका यादव १२ हजार ४ सय ८९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गरेका छन् ।
यादवलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका यादवको क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उठेका छन् ।
अहिलेसम्म रौतहट प्रदेशसभामा कांग्रेसले दुई सिट जितेको छ । विजय पश्चात् उनले आफूले रौतहट जिल्लाको समग्र विकासको लागि योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार प्रमुख नितेश कुमार गुप्ताले अब यादव नेपाली कांग्रेसको संसदीय दलको नेता बन्दै मधेस प्रदेशको मुख्यमन्त्री हुने दावी गरे ।