सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडक आन्दोलनको नेतृत्व गर्दै कुन्ती पोखरेल, कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

आइतबार, २५ मङ्सिर २०७९, १३ : ५०
आइतबार, २५ मङ्सिर २०७९

काठमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । 

वर्षौंदेखि सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् ।  नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्म विरोध जारी राख्ने पोखरेलले बताइन् । 

हालै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सोही क्षेत्रमा प्रतिस्पर्धा गरेकी राप्रपाकी उम्मेदवार रहेकी पोखरेलले चुनावमा पराजित भएपनि सो क्षेत्रका जनताको सुख दुःखमा साथ दिने उल्लेख  गर्दै  बलियो प्रतिपक्षको रुपमा खडा हुने उल्लेख गरिन् ।  

उनले भनिन्– ‘वर्षौंदेखि यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भएपनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनुपरेको हो । आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउनका लागि तालाबन्दी गरिएको हो ।’ 

चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप