आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टेस्लाले ३ महिनामा दोस्रो पटक घटायो मूल्य

शनिबार, २३ पुस २०७९, १४ : १२
शनिबार, २३ पुस २०७९

काठमाडौँ । टेस्लाले तीन महिनाको अवधिमा दोस्रोपटक मूल्य कटौती गरेको छ । चिनियाँ बजारमा टेस्लाको माग व्यापक रूपमा घटेपछि अमेरिकी कार निर्माताले ३ महिनाभन्दा कम अवधिमै दोस्रोपटक मूल्य घटाएको हो । चीन विश्वको सबैभन्दा ठूलो कार बजार हो । तर, चीनसहित विश्वभर माग घटेपछि कम्पनीले चर्चित मोडल ‘वाई’ र ‘मोडल थ्री’ को मूल्य घटाएको छ । चीनको सांघाईमा रहेको विश्वकै ठूलो उत्पादन प्लान्टबाट उत्पादन हुने यो कारको मूल्य घटाएसँगै बिक्री बढ्ने अपेक्षा टेस्लाको छ ।

घटेको मूल्यमा यी मोडलका कार जापान, दक्षिण कोरिया र अष्ट्रेलियामा समेत बिक्री हुनेछन् । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार निर्माताले पछिल्लो समय समस्या ‘फेस’ गरिरहेको छ । बजारबाट लिइएको अर्डरअनुसारको डेलिभरी दिन समेत कम्पनी चुकिरहेको छ । मूल्य बढी भएको भन्दै माग घट्नुका साथै मागअनुसारको उत्पादन र डेलिभरी दिन नसक्दा कम्पनीको सेयर मूल्य २.५ प्रतिशतले घटेको छ । कम्पनीले यसअघि गत वर्षको अक्टोबरमा टेस्ला कारका मूल्य घटाएको थियो । तर, उक्त मूल्य कटौतीले पनि माग सृजना नगरेपछि पुनः मूल्य घटाइएको अलजजीराले उल्लेख गरेको छ ।

मूल्य घटेसँगै टेस्लाको ‘वाई’ मोडलका कारको मूल्य ३३ हजार ४२७ अमेरिकी डलरमा आइपुगेको छ । यसअघि, यो मोडलको कारको मूल्य ३८ हजार ६६१ अमेरिकी डलर थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप