सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

३० वर्षअघि गाईद्वारा भत्काइएको ओमबहाःस्थित चैत्यको कथा पुस्तकमा

सोमबार, २५ पुस २०७९, ११ : ४६
सोमबार, २५ पुस २०७९

ललितपुर । ललितपुरको ओमबहाः र त्यहाँस्थित चैत्यको जीर्णोध्दारबारे अंग्रेजी भाषामा लेखिएको पुस्तक ‘पाटन ओमबहाः’ माथि आइतबार पाटनढोकामा अन्तरसंवाद भयो । विजय बासुकला, निल गट्सचाउ र नूतनधर शर्माद्वारा लिखित पुस्तकमा ओमबहास्स्थित चैत्य (बौद्ध परम्पराको स्तूप वा समाधि चिह्न) र विहारको जीर्णोध्दार गर्दाको घटनाक्रम, पाटनको इतिहास, बहालको उद्भव र विकास आदिबारे विस्तृत उल्लेख छ ।
 
लिच्छविकालको मानिने सबैभन्दा पुरानामध्ये एक ओमबहास्को चैत्य जमिनमा क्रमशः दब्दै गएको अवस्थामा थियो । निकै पुरानो सम्पदाको वरिपरि इँटा, ढुंगा, माटो आदिको नयाँ तह थपिँदै जानु स्वाभाविक हुन्छ । यसलाई माथि उठाउन विहार संघ, स्थानीय, यस सम्बन्धमा जानकार र विद्वानहरुसँग ३० वर्षअघि छलफल हुँदा विभिन्न धारणा आएका थिए । स्थानीय जनश्रुति अनुसार, भारतका सम्राट अशोकले बनाएका ८४ हजार चैत्यमध्येको यो एक हो । यसलाई चलाउन हुँदैन भन्ने मान्यता समाजमा व्याप्त थियो ।

Capture

पुस्तकका एक लेखक नूतनधर शर्माका अनुसार, जमिनमा केही भाग धसिएको चैत्यलाई जमिनको सतहमा उकास्न भत्काउन पर्ने र त्यसरी भत्काइँदा दोष लाग्ने कुरा उठेपछि क्षमापूजा लगायतका विधिविधान पूरा गरी जीर्णोध्दार गरिएको थियो । चैत्य भत्काउँदा दोष नलागोस् भनी गाईको प्रयोग गरिएको थियो । चैत्य भत्काउनुअघि गाईको पुच्छर चैत्यको टुप्पोमा बाँधिएको थियो । योसँगै विज्ञ टोलीको निर्देशनमा अनुभवी डकर्मीबाट चैत्य भत्काइयो र केही माथि उठाएर पुनर्निर्माण गरियो ।

शर्माका अनुसार, यो चैत्यलाई सातौँ शताब्दीको मानिएको छ । ‘यस चैत्यमा शिलालेख त छैन,’ शर्मा भन्छन्, ‘यस कला निर्माणको शैलीलाई अध्ययन गरेर सातौँ शताब्दीको मानिएको हो । जीर्णोध्दारपछि यो चैत्य संसारभरि प्रसिद्ध भएको छ ।’ चैत्य जीर्णोध्दारसम्बन्धी २९–३० वर्षअघिको घटनाक्रमलाई पुस्तकमा सचित्र वर्णन गरिएको छ ।
 
‘यस पुस्तकले सम्पदाको जीर्णोद्धार कसरी गर्ने भनेर सिकाउँछ । पछि गएर यसको पुनः जीर्णोद्धार गर्नप¥यो भने यसैलाई हेरिनेछ,’ शर्मा भन्छन्, ‘योसँगै यो पुस्तकले विहारको वास्तुकला पनि बुझाउँछ ।’  यो पुस्तकको पहिलो प्रकाशन सन् २०२२ मा हाइडलबर्ग युनिभर्सिटीले गरेको हो भने उसको अनुमतिमा पाटनस्थित रिच पब्लिसर्सले प्रकाशन गरेको हो ।

book2


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप