आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने कांग्रेसको तयारी

सोमबार, २५ पुस २०७९, १७ : ५२
सोमबार, २५ पुस २०७९

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । १४ औं महाधिवेशन भएको एक वर्ष भइसक्दा पनि कांग्रेसको सङ्गठन अस्तव्यस्त छ । पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई अगाडि बढाउने कांग्रेसको तयारी छ । पाँच दलीय गठबन्धन भत्किएपछि प्रतिपक्षी कित्तामा पुगेका कांग्रेसले सङ्गठन निर्माणलाई प्राथमिकता दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले तरुण दल, महिला संघ, नेविसंघ, आदिवासी जनजाति संघ, किसान संघ लगायतका भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर केन्द्रीय समिति विस्तारको तयारी थालनी निर्देशन दिएका छन् । 
तरुण दलका अध्यक्ष विद्वान गुरुङ, महिला संघ अध्यक्ष उषाकुमारी राउत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, किसान संघका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघका अध्यक्ष ओमबहादुर घर्ती मगरलाई समिति विस्तारको तयारी थाल्न निर्देशन दिएका हुन् ।

देउवाको निर्देशनपछि उनीहरू पार्टीका अन्य नेताहरूसँग परामर्श गरेर समिति विस्तारको तयारीमा जुटेको पाइन्छ । यस्तै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समिति बनाउने तयारी छ ।

उक्त भ्रातृ संस्थामा अध्यक्षसहित प्लेन कमिटी ल्याइने छ । देउवाका प्रमुख स्वकीय भानु देउवाका अनुसार माघको पहिलो सातभित्र भ्रातृ संस्थाले पूर्णता पाउने छ । देउवाले विभाग गठनका लागि आन्तरिक तयारी थालेको बुझिएको छ । नेविसंघले विभिन्न जिल्लामा तदर्थ समिति गठनलाई तीव्रता बढाएको छ । चैत ५ गते स्ववियु निर्वाचन हुने भएपछि नेविसंघका सभापति शेर्पाले क्याम्पस र जिल्लामा सङ्गठन निर्माणलाई तीव्रता दिएको देखिन्छ ।

यता कांग्रेसले केन्द्रीय विभाग गठन गरेर कांग्रेसले १४ सय २८ जना कार्यकर्तालाई जिम्मेवारी दिन लागेको हो । देउवाले सांसद बाहेकलाई मात्र पार्टीको विभागीय जिम्मेवारी दिने नीति बनाएको बुझिएको छ ।

संसदीय चुनाव हारेका र टिकट नपाएका केन्द्रीय सदस्यहरू विभागीय जिम्मेवारीका लागि लबिङ गरिरहेका छन् । नेताहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, सुनिल थापा, नैनसिंह महर, जीपछिरिङ लामा, मीनबहादुर विश्वकर्मा, गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, जीतजंग बस्नेत
योगेन्द्र चौधरी, प्रकाश रसाईली स्नेही, गोविन्दराज पोखरेल, अजयवावु सिवाकोटी लगायतले विभागीय जिम्मेवारीका लागि लबिङ थालेको देखिन्छ ।

कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले पार्टीलाई सदन र सडकमा सशक्त प्रतिपक्षका रूपमा उभ्याउने रणनीति अनुसार अगाडि बढ्न लागिएको बताए । उनले भने, ‘पुस २८ गते केन्द्रीय कार्यसमिति बैठक छ । सङ्गठन निर्माण र विस्तारको एजेन्डामाथि बैठकमा छलफल भएर निर्णयमा पुग्छौँ ।’

पार्टी महाधिवेशनपछि  तीन तहको निर्वाचनमा पार्टी केन्द्रित हुँदा संगठनको कामलाई तीव्रता दिन नसकिएको उनको भनाइ छ । ‘अब माघको पहिला साताभित्र विभाग र भ्रातृ संस्था गठन र विस्तारको काम हुन्छ । त्यही अनुसार छलफल भइरहेको ,’ महतले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप