आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवा पत्नी आरजु नयाँ दिल्लीमा

आइतबार, ०१ माघ २०७९, १७ : २५
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा भारत गएकी छन् । कांग्रेस केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका धुम्बाराही स्रोतले बताएको छ । चुनावअघिको गठबन्धन भत्किएर कांग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् ।

यसअघि गत पुस २० गते कांग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । चार दिने भारत भ्रमणका क्रममा निधिकाे भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता भएको थियो । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनुका पछाडि निधिको भारत भ्रमणलाई पनि हेरिएको थियो । 

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि भएको राणाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शनिबार प्रधानमन्त्री प्रचण्डले सभामुख र राष्ट्रपति निर्वाचनमा कांग्रेससँग पनि छलफल गरेर अगाडि बढ्ने बताएका थिए । शनिबार विभिन्न मिडिया सम्पादकहरुसँगको छलफलमा सभामुख र राष्ट्रपतिमा सत्ता साझेदार सात दलबीच कुनै सहमति नभएको प्रधानमन्त्री प्रचण्डले अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । सभामुख र उपसभामुख निर्वाचनका विषयमा छलफल गर्न माघ ३ मा प्रचण्डले कांग्रेससहितको सर्वदलीय बैठक बोलाएका छन् । 

पछिल्लो समय कांग्रेसभित्र अन्तर्राष्ट्रिय मामिलामा भूमिका बढाएकी राणाको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । धुम्बाराही स्रोतले राणा स्वास्थ्य परीक्षणका लागि दिल्ली भएको बताए पनि राजनीतिक भेटघाटको पनि कार्यक्रम रहेको बुझिएको छ । यसअघि राणा असोज २६ गते पनि स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्ली गएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप