आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसिन्डा अर्डर्न : कान्छी महिला प्रधानमन्त्री बनेकी थिइन्; राजीनामाको घोषणा गर्दा के भनिन्, जुन उदाहरण बन्यो ?

बिहीबार, ०५ माघ २०७९, १३ : ०३
बिहीबार, ०५ माघ २०७९

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएकी छन् ।

६ वर्षसम्म यो ‘चुनौतीपूर्ण’ पदलाई सम्हाल्नका लागि आफूले कडा मेहनत गरेको भनेर भन्दै गर्दा उनको गला अवरुद्ध भयो । त्यसपछि अब अर्को चार वर्षमा योगदान दिनका लागि खासै केही बाँकी नरहेको पनि उनले बताइन् । त्यसैले आफूले अर्को चुनाव नलड्ने पनि घोषणा गरेकी छिन् ।

उनले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिने बताएकी छिन् । त्यसपछि आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुनेछ ।

यस वर्षको अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ ।

४२ वर्षीया जेसिन्डाले गर्मीको बिदामा आफ्नो भावी योजनाबारे सोचेको बताइन् ।

उनले भनिन्, ‘मैले आशा गरेकी थिएँ कि मैले आफ्नो बाँकी कार्यकाल पूरा गर्ने कुनै कारण पाउनेछु तर दुःखको कुरा, यस्तो हुन सकेन । यदि अहिले पनि आफ्नो पदमा म बसिरहेँ भने यसले न्यूजिल्याण्डको क्षती हुनेछ ।’

jacinda1विश्वको सबैभन्दा कान्छी महिला राष्ट्र प्रमुख बनेकी थिइन्

किशोरावस्थामा, अर्डर्न देशको वामपन्थी दलहरूसँग जोडिदिएकी थिइन् । उनले देशको अन्तिम वामपन्थी प्रधानमन्त्री हेलेन क्लार्कको कार्यालयमा काम गरिन् । यसबाहेक उनी बेलायतमा टोनी ब्लेयरको सल्लाहकार पनि थिइन् ।

उनले चुनावी प्रचारमा समाजमा रहेका असमानताका बारेमा कुरा गर्थिन् । राजनीतिमा उनलाई केह कुराले आकर्षित गर्छ, यसबारे कुरा गर्दै कुनैबेला अर्डर्नले भनेकी थिइन्, ‘भोकसँग संघर्ष गरिरहेका बालबालिका र जुत्ता बिनाका खुट्टाले मलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गर्‍यो ।’

सन् २००८ मा लेबर पार्टीको टिकटमा संसदमा पुगेका आर्डर्न सन् २०१७ को अगस्टमा लेबर पार्टीको नेता निर्वाचित भएकी थिइन् । सन् १९८० मा ह्यामिल्टनमा जन्मेकी आर्डन गठबन्धन सरकारमा २०१७ मा न्यूजिल्यान्डको प्रधानमन्त्री बनिन् ।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी जसिन्डा आर्डर्न त्यतिबेला विश्वकै कान्छी महिला राष्ट्रप्रमुख बनेकी थिइन् । उनी १८५६ पछि न्यूजील्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् ।

एक वर्ष पछि, जुन २०१८ मा, उनी पदमा रहँदा बच्चालाई जन्म दिने विश्वको दोस्रो राष्ट्र प्रमुख बनिन् ।

त्यसबेला एक अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘म काम गर्ने र आमा बन्ने पहिलो महिला होइन, यसअघि पनि धेरै महिलाले यस्तो गरिसकेका छन् ।’

यसअघि सन् १९९० मा पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोले प्रधानमन्त्री हुँदा छोरीलाई जन्म दिएकी थिइन् । उनी पदमा रहँदा आमा बन्ने विश्वकै पहिलो नेता थिइन् ।

२०१८ मा, उनी टाइम्स म्यागजिनद्वारा विश्वका १०० शक्तिशाली नेताहरूको सूचीमा परेकी थिइन् ।

अप्रिल २०१९ मा, आर्डर्नले आफ्ना प्रेमी र लिभ–इन पार्टनर क्लार्क गेफोर्डसँग विवाह गरिन् । क्लार्क पेशाले टिभी प्रस्तोता हुन् । दुवै लामो समयदेखि सम्बन्धमा थिए ।

उनको पार्टीले अक्टोबर २०२० मा भएको चुनावमा बहुमत ल्यायो, त्यसपछि उनको पार्टीले २०२० मा सरकार बनायो र अर्डर्न फेरि प्रधानमन्त्री भइन् ।

चुनौतीपूर्ण कार्यकाल

एउटी महिलाले जागिर र जिम्मेवार पदमा रहेर पनि आमाको जिम्मेवारी सम्हाल्न सक्छिन् भन्ने सन्देश आर्डर्नले विश्वभरका श्रमजीवी महिलालाई दिएकी छिन् ।

जुलाई २०१७ मा, विपक्षी नेताको रूपमा आर्डर्नको पहिलो दिनमा, उनी एक टिभी कार्यक्रममा गएकी थिइन् । त्यो शोको होस्टले अर्डर्नलाई ‘तपाईं करियर र बच्चामा पहिला केलाई छान्नुहुन्छ ?’ भनेर प्रश्न सोधेका थिए ।

आर्डर्नले त्यसबेला भनेकी थिइन्, ‘बच्चा कहिले जन्माउने भन्ने कुरा एउटी महिलामा निर्भर हुन्छ । उनले काम गरिरहेकी छिन् भने उनलाई गर्भवती हुने अवसर छैन भन्ने कुरा निश्चित गरिनु हुँदैन ।’

आफ्नो कार्यकालमा जेसिन्डाले कोरोना महामारी र यसकाण आउने मन्दी, क्राइस्टचर्च मस्जिदमा भएको गोलीबारी र ह्वाइट आइल्याण्डमा ज्वालामुखी विस्फोटजस्ता थुप्रै चुनौती देखिन् ।

उनले भनिन्, ‘शान्तिको समयमा देशको नेतृत्व गर्नु एउटा कुरा हो, तर संकटको समयमा त्यसो गर्नु ठूलो चुनौती हो । यी घटनाहरु... मेरो चिन्ताका कारण हुन् किनभने यी घटना ठुला थिए, असाध्यै ठुला घटना र एकपछि अर्को आइरहे । यतिबेला हामी शासनको काम हेरिरहेका छौँ भनेर कुनै समय लागेन ।’

ओपिनियन पोलका अनुसार सन् २०२० मा जसिन्डा आर्डर्नको नेतृत्वमा रहेको लेबर पार्टीले ठूलो बहुमतका साथ जित हासिल गरे पनि पछिल्ला महिनाहरूमा देशभित्र उनको लोकप्रियता घटेको छ ।

यद्यपि, लेबर पार्टीले चुनाव नजित्ने भएकोले आफूले राजीनामा दिन नलागेको पनि स्पष्टिकरण दिइन् । उनले लेबर पार्टीले चुनाव कुनै पनि हालतमा जितोस् भनेर चाहिँ यसो गर्न लागेको बताइन् । उनले भनिन्, ‘हामीलाई नयाँ नेतृत्व चाहिन्छ जसले चुनौती लिन सकोस् ।’

भविष्यका लागि आशाको सन्देश

पार्टीका उपसभापति ग्रान्ट रोबर्टसनले सोमबार हुने पार्टी नेतृत्वको निर्वाचनमा आफू उम्मेदवारको रुपमा उम्मेदवारी दिने बताएका छन् । निर्वाचनमा कुनै एक उम्मेदवारले दुई तिहाइ सदस्यको समर्थन नपाएमा लेबर पार्टीको नेतृत्व ले मेम्बरमा जानेछ । ले मेम्बर पार्टीको समितिका सदस्यहरू हुन् जो विधायक होइनन् र कामलाई सहज रूपमा सञ्चालन गर्न जिम्मेवार हुन्छन् ।

आर्डर्नको राजीनामाको घोषणापछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीजले उनको नेतृत्वको प्रशंसा गर्दै उनलाई एक समझदार, बलियो र उदार नेताको रूपमा वर्णन गरे ।

उनले ट्वीटरमा लेखेका छन्, ‘जिसिन्डा न्यूजिल्यान्डका लागि बलियो आवाज बनेकी छिन्, मेरो लागि उत्कृष्ट साथी र धेरैका लागि प्रेरणा हुन् ।’

पत्रकारहरूसँग कुरा गर्दै, आर्डर्नले जलवायु परिवर्तन, सामाजिक आवास र बाल गरिबी न्यूनीकरणमा आफ्नो सरकारको उपलब्धिहरू सूचीबद्ध गरिन् । तर, देशवासीले आफूलाई दयालु हुन खोज्ने नेताका रुपमा सम्झने पनि उनले बताइन् ।

उनले भनिन्, ‘म यो आशा र विश्वासका साथ देशको नेतृत्व छोडिरहेकी छु कि देशको नेता यस्ता हुन् जो असल हुनुका साथै बलियो हुन्, संवेदनशील हुनुका साथै निर्णायक हुन्, आशावादी हुन् र देशको काम एकाग्रताका साथ गरुन् र आफ्नो व्यक्तित्वको छाप छोडून् –– र नेतृत्व कहिले छोडिदिने, त्यो थाहा होस् । ’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप