आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसिन्डा आर्डर्नको राजीनामा: प्रधानमन्त्रीमा कस्तो खालको दबाब रहन्छ ?

आइतबार, ०८ माघ २०७९, ११ : ५०
आइतबार, ०८ माघ २०७९

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले यसै साता राजीनामाको घोषणा गरेर विश्वलाई नै चकित पारिन् ।

उनले यो पदको जिम्मेवारी पूरा गर्नका लागि आफूसँग खासै केही बाँकी नरहेको बताइन्  ।

उनले भनिन्, ‘राजनेता मानिस नै हुन् । हामीबाट जे जति हुनसक्छ, जहाँसम्म सम्भव हुन्छ त्यो गर्छौँ र त्यसपछि यस्तो समय पनि आउँछ । ’ यो भावुक भाषणले यो सङ्केत दिएको थियो कि उनको साढे पाँच वर्षको कार्यकालको समय समाप्त भएको छ ।

एक नेताले आफू थाकेको कुरा स्वीकार गर्नु असाधारण कुरा हो तर देशको नेतृत्व गर्ने नियतिले यस्तो नतिजा निम्त्याउनु अचम्मको कुरा भने होइन ।

विश्व नेताहरूसँग धेरै खालका विशेषाधिकार हुन्छन्, तर उनीहरुले लगातारको यात्रा, लामो घण्टासम्म काम र आरामका लागि निकै कम समय पाउने स्थितिसँग सङ्घर्ष गर्नुपर्छ ।

न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्री हेलेन क्लार्कले देशको उच्च पदको दबाबलाई राम्ररी बुझेकी छिन् ।

सन् १९९९ देखि २००८ को बीचको प्रधानमन्त्रीको रूपमा आफ्नो नौ वर्षको अवधिमा, उनले ‘दिनमा अत्यधिक घण्टा काम’ गरिरहेको स्मरण गरिन् ।  

jacinda1अत्यधिक कामले हिम्मत हार्‍यो

अर्डर्न जस्तै, उनी पनि अकल्याण्डमा बस्थिन् र राजधानी वेलिङ्टनमा बारम्बार यात्रा गर्नुपर्थ्यो, जुन एक घण्टाको हवाई यात्रा जत्तिको टाढा छ ।

उनले बीबीसीलाई भनिन्, ‘सामान्यतया सात बजेको उडानको लागि उठ्न पाँच बजे उठ्नै पर्छ र सुत्दा आधा रात बितिसकेको हुन्छ ।’

‘राती तपाईँ वेलिङ्टनमा हुनुहुन्छ । तपाईँले बिहान उठ्नु पनि छ र थोरै काम पनि गर्नुपर्छ ।’

क्लार्क भन्छिन् कि यति धेरै कामको बीचमा, उनले सप्ताहान्तमा आफ्नो लागि केहि समय निकाल्ने प्रयास पनि गरिन् ।

उनले भनिन्, ‘मिस आर्डर्नलाई ठुलो राजनीतिक परिवर्तनको बीचमा परिवार र करियरलाई सन्तुलनमा राख्ने अतिरिक्त दबाब थियो भन्ने लाग्छ ।’

उनी भन्छिन्, ‘मेरो पालामा त्यति दबाब थिएन । म आफ्नो काममा बढी ध्यान दिने स्थितिमा थिएँ ।’

बिहीबारको आफ्नो घोषणामा आर्डर्नले भनिन्, ‘मेरो पार्टनर र छोरी, जो प्रधानमन्त्री हुँदा नै जन्मिएकी थिइन्, दुवैले साँच्चै नै सबैभन्दा बढी त्याग गरे ।’

क्लार्क भन्छिन् कि यो ठुलो जिम्मेवारी निभाउनका लागि तपाईंको सपोर्ट सिस्टम बलियो हुन आवश्यक छ ।

उनी भन्छिन्, ‘जेसिन्डासँग असाध्यै सहयोग गर्ने पार्टनर छन् र उनका आमा–बुवाले पनि उनलाई असाध्यै मद्दत गरिरहेका छन् । तर यो असाध्यै कठिन र असाधारण समय हो ।’

क्लार्क भन्छिन्, ‘आफ्नो साढे पाँच वर्षको कार्यकालमा उनले जुन चिजको सामना गर्नुपर्‍यो, सायद त्यो धेरथोर मेरो ९ व वर्षको कार्यकालको अन्तिम दिनजस्तै रह्यो ।’

नेतामा असाध्यै दबाब हुन्छ भन्ने क्लार्क मान्छिन् तर आजको सोसल मिडिया र २४ घण्टा समाचारको समय र ट्रोलिङ र षड्यन्त्र खोज्नेहरू अन्य चिजले यो दबाब थप बढ्ने गर्छ ।

बेहोस भएपछि राजीनामा दिए

बेलायती इतिहासकार र राजनीतिक जीवनीकार सर एन्थोनी सेल्डनको यो कुरामा  सहमत छन् । ‘वास्तवमा यो दबाब बढ्दै गएको छ ।’

उनी भन्छन्, ‘धेरै बोझहरू एकसाथ आइरहेका छन् र यो सबै सिधै राजनेताको डेस्कमा हुन्छन् । उनीहरुसँग पनि हप्तामा त्यति नै दिन र घण्टा हुन्छन् जस्तो अरूको हुन्छ । र अन्य मानिसलाई झैँ उनीहरूलाई सुत्नुपर्छ र आराम गर्नुपर्छ...तर अपेक्षा बढ्दो छ ।’

पछिल्ला वर्षमा यस्ता थुप्रै उदाहरण देखिएको छ जब राजनीतिक व्यक्तित्व आशामा खरो उत्रनका लागि सार्वजनिक रूपमा सङ्घर्ष गरिरहेको देखिए ।

आर्डर्नले आफ्नो कार्यकालमा कोरोनाभाइरस महामारीलाई सबैभन्दा कठिन चुनौतीको रूपमा उल्लेख गरिन् ।

मार्च २०२० मा, कोरोना भाइरससँग लड्ने जिम्मेवारी लिने डच सरकारका मन्त्री संसद्मा बहसको क्रममा बेहोस भएपछि उनले राजीनामा दिए । ब्रुनो ब्रुइन्स भन्छन् कि हप्तौँसम्म लगातार काम गरेका कारण उनी बेहोस भएका थिए ।

पछि उनले एक अन्तरवार्तामा भनेका थिए कि पद छोडे पछि, राजनीति बाहिर आफ्नो नयाँ करियर सुरु गर्नु अघि  उनी तीन महिनासम्म सुतेका थिए ।

उनले एक न्युज च्यानललाई भने, ‘मन्त्री हुँदा एक समय यस्तो पनि आयो कि म बिहान चार बजे उठ्थेँ । जब म बेहोस भएर लडेँ, त्यति बेला म सुत्न चाहन्थेँ ।’

जब १५ महिना १५ वर्ष जस्तै लाग्यो

एक वर्ष पछि, अस्ट्रियाका स्वास्थ्य मन्त्री रुडोल्फ एशेकोबेरले ‘अत्यधिक कामले थाकेका कारण’ आफ्नो पदबाट राजीनामा दिएको बताए ।

त्यति बेला उनले पत्रकारसँग भनेका थिए, ‘दशकौँमा आउने सबैभन्दा खराब स्वास्थ्य सङ्कटका बेला जनतालाई एउटा यस्ता स्वास्थ्य मन्त्रीको आवश्यकता थियो जो शत प्रतिशत फिट होस्, जो यति बेला म छैन ।’

उनले भने, ‘मेरो १५ महिनाको कार्यकाल १५ वर्षजस्तो महसुस भयो ।’

आर्डर्नले राजीनामा दिएपछि इस्टोनियाका नेता काजा कालासले बीबीसीलाई भने, ‘यो मेरो अवस्थासँग धेरै मिल्दोजुल्दो छ । यसको के मूल्य चुकाउनुपर्छ, त्यो म राम्रोसँग बुझ्न सक्छु ।’

लिड्स युनिभर्सिटीमा साइकोलोजीका प्राध्यापक डेरिल भन्छन्, ‘पूर्ण रूपमा थाक्नुको मुख्य कारण कामको तनाव हो ।’

यो जोसँग पनि हुनसक्छ, नर्स र डाक्टरदेखि खेलाडी, अध्यापक र अभिभावकसम्म यसको चपेटामा आउन सक्छन् ।

डा. कर्नरका अनुसार एक प्रधानमन्त्रीका लागि त तनाव ‘स्थायी’ हुने गर्छ ।

उनी भन्छन्, ‘साधरणतया अन्य मानिसहरू आफ्नो दैनिक जीवनमा थुप्रै परिवर्तन गर्न सक्छन् । यसै कारण उनीहरूको स्नायु तनाव कम हुनका लागि समय पनि मिल्ने गर्छ । अत्यधिक जिम्मेवारी भएको जागिरमा जनताको नजर हुन्छ । उदाहरणका लागि कुनै देशका प्रधानमन्त्रीसँग आरामको जीवन फिटिक्कै हुँदैन ।’

पोलिटिकल बायोग्राफर सर एन्थोनीले बेलायतका थुप्रै नेताको जीवनी लेखेका छन् । उनका अनुसार धेरैजसो प्रधानमन्त्री आफ्नो कार्यालयको काम सिद्धाउँदा सिद्धाउँदै थाकिसकेका हुन्छन् ।

उनी भन्छन्, ‘क्रिसमसको दिन वा आफ्नो जन्मदिनमा पनि यो बिर्सन सक्नुहुन्नँ कि तपाईँ बिहान चार बजे उठ्नुपर्छ । वास्तविकता यो हो कि धेरैजसो मानिसले यस्तो गर्न सक्दैनन् तर केहीले मात्रै स्वीकार गर्छन् ।’

jacinda2इमानदारीको कदर

राजीनामाको घोषणा पछि, धेरै मानिसहरूले अर्डर्नको इमानदारीको प्रशंसा गरे ।

बेलायतका एक पूर्व मन्त्री एन्सेल मोरिसले भने कि आर्डर्नको घोषणाले उनलाई २० वर्ष पहिलेको उच्च प्रोफाइलको राजीनामाको सम्झना गराएको छ ।

उनी भन्छिन्, ‘म उहाँजस्तो छु भनेर अलिकति पनि दाबी गर्दिनँ तर जुन भावना थियो त्यो परिचित लाग्यो ।’

सन २००२ मा उनको राजीनामा पत्रमा, ब्यारोनेस मोरिसले लेखेकी थिइन् कि ‘म आफूले चाहेजस्तो प्रभावकारी भएको महसुस गरिनँ ।’

उनी भन्छिन्, ‘मलाई थाहा छ म त्यो जिम्मेवारीमा राम्रो थिएँ । तर एक समय आउँछ जब परिस्थिति यस्तो हुन्छ कि तपाईँले चाहे जति शक्ति प्रयोग गर्न सक्नुहुन्न ... मलाई लाग्छ तपाई आफैँसँग इमानदार हुनुपर्छ ।’

‘जेसिन्डाले स्पष्ट पारिन् कि उनी आफ्नो जिम्मेवारीलाई माया गर्थिन् र यो वास्तवमै महत्त्वपूर्ण जिम्मेवारी हो तर उनले यो समयमा यो गर्न सक्दिनन् । ठ्याक्कै यही कुरा मैले पनि महसुस गरेकी थिएँ ।’

कहिले हट्ने भनेर थाहा हुनुपर्छ

ब्यारोनेस मोरिसका अनुसार कहिले हट्ने भनेर थाहा पाउनु तपाईंको एक किसिमको तागत हो ।

उनी भन्छिन्, ‘सन् २०२३ मा जागिर परिवर्तन गर्नु असाधारण कुरा होइन । तपाईँले यति धेरै साहस जुटाउन सक्नु असाधारण कुरा हो । त्यसैले यो ठुलो विचारको विषय हो ।’

जसिन्डा आर्डर्नले उनी आफ्नो परिवारसँग धेरै समय बिताउन चाहेको बताइन् । आफ्नी छोरी स्कुल जाने नभएसम्म उनी छोरीसँगै बस्ने पनि बताइन् ।

राजनीतिमा भविष्य देख्नेहरूलाई क्लार्कले चेतावनी दिँदै भन्छिन् कि यो शीर्ष जिम्मेवारीमा असाध्यै धेरै मुस्किल छन् ।

उनी भन्छिन्, ‘तपाईँका लागि यो कुराले काम गरिरहेको छैन भन्ने महसुस भएको स्थितिमा तपाईँले आफूलाई हटाउनु नै राम्रो हुन्छ ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप