सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीको विष्णु गाउँपालिकाको बजेट पारित

आइतबार, ०८ माघ २०७९, १२ : ५७
आइतबार, ०८ माघ २०७९

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन ।  स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र बजेट एकैसाथ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले जानकारी दिए ।

“जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन”, उनले भने, “लामो समयपछि राजनीतिक सहमति जुटेपछि नीति तथा कार्यक्रम र बजेट दुवै पारित भएको हो ।” गाउँसभाले चालु आर्थिक वर्षका लागि रू ५० करोड ८७ लाख ८८ हजार नौ सय ८० बराबरको बजेट ल्याएको थियो । बजेट पारित नहुँदा गाउँपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाएका छैनन् । 

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतले पनि बजेट पारित नहुँदा सामाजिक सुरक्षा भत्तासमेत पाउन सकेका छैनन् । विकास निर्माणसँगै अन्य क्रियाकलाप ठप्प भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले अब भने तलब, भत्ता, कार्यक्रम, योजना सबै नियमित चल्ने बताए । पटक–पटक गाउँसभाको बैठक बस्ने प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप