सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

को हुन् राप्रपाबाट मन्त्री बनेका राजु विष्ट ?

बुधबार, ११ माघ २०७९, १४ : ४५
बुधबार, ११ माघ २०७९

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजु विष्ट बागमती प्रदेशको मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सालिकराम जम्कट्टेलले बुधबार वन तथा वातावरण मन्त्रालयमा नियुक्त गरेका थिए ।

मन्त्रीमा नियुक्त भएलगतै प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले बुधबार नै मन्त्रीको पदबहाल पनि गर्ने छन् ।

२०२६ साल असार २३ गते काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर–६ मा जन्मिएका राजु विष्ट पेशाले व्यवसायी हुन् । बुबा कमल बहादुर विष्ट र आमा मिश्री विष्टका पुत्र राजुको राजनीतिक जीवन २०४७ सालबाट सुरु भएको हो । २०४७ सालमा पार्टी स्थापना समयदेखि नै उनी सक्रिय राजनीतिमा होमिएका हुन् ।

तत्कालीन समयमा राप्रपाको गाउँ इकाई कमिटीको सह–सचिव पदबाट राजनीति सुरु गरेका राजु २०५० सालबाट पार्टीको युवक संगठनमा आबद्ध भए । उनी २०५२/२०५३ सालमा राप्रपाको युवक संगठनको काठमाडौं क्षेत्र नम्बर–२ को क्षेत्रीय अध्यक्ष भएर काम गरेका थिए । करिब १२ वर्ष पार्टीको युवक संगठन ‘प्रजातान्त्रिक युवक संगठनमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

२०६३ सालबाट पार्टीको क्षेत्रीय समितिको जिम्मेवारी उनले पाएका थिए । त्यस समयमा उनी काठमाडौं क्षेत्र नम्बर–२ को क्षेत्रीय अध्यक्षको जिम्मेवारी प्राप्त गरेका थिए । क्षेत्र हुँदै राप्रपाको जिल्ला समितिको राजनीतिमा आएका उनी २०७२/२०७३ सालमा पार्टी एकीकरण ताका केन्द्रीय सदस्य मनोनीत भएका थिए ।

तल्लो तहका नागरिकसँग जोडिएर काम गर्न रुचाउने उनी गत वर्ष सम्पन्न पार्टीको महाधिवेशनबाट पुनः क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा नै फर्कीए । उनी हाल काठमाडौं क्षेत्र नम्बर–२ को क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।

उनी गत मंसिरमा सम्पन्न आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । राप्रपाका विष्टले एमालेका उम्मेदवार सुवर्ण श्रेष्ठलाई पराजित गरेका थिए । विष्टले १२ हजार १६३ मत पाएका थिए भने एमालेका श्रेष्ठले ९ हजार ८५ मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप