मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मैदानको अवस्था बुझ्न नसक्दा हारियोः प्रशिक्षक गुरुङ

शुक्रबार, २७ माघ २०७९, १७ : ५०
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । बङ्गलादेशमा आयोजना भएको यु–२० महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको महिला टोली शुक्रवार स्वदेश फर्किएको छ । बंगलादेशको मुस्ताफा कमल स्टेडियममा बिहीबार भएको फाइनल खेलमा आयोजक बङ्गलादेशसँग ३–० ले पराजित भएसँगै नेपाल उपविजेतामा भएको थियो ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरे । विमानस्थलमा ओर्लिएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले समग्रमा खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताए । 

 खेलाडीले अनुभव लिने मौका पाएको भन्दै प्रशिक्षक गुरुङले कुनै पनि उमेर समूहको प्रतियोगिता नखेलेको टोली बनाएर खेलाउँदा आफू सफल भएको बताए । उनले फाइनलमा नेपाली समर्थकलाई खुशी दिलाउन नसकेकोमा दुःख व्यक्त गरे ।  प्रशिक्षक यामप्रसाद गुरुङले फ्लड लाइट, मैदान र म्याच बलका कारण नेपाली खेलाडीले स्वाभाविक खेल खेल्न नसकेको स्वीकार गरे । 

माघ २० देखि सुरु भएको प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, भारत र भुटानको मात्र सहभागिता रहेको थियो । आयोजक साफले सहभागी टोलीलाई राउन्ड रोबिन पद्धतिमा खेलाएको थियो ।

 बङ्गलादेश शीर्ष तथा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । पहिलो खेलमा पनि पराजित भएको नेपालले फाइनलमा बङ्गलादेशसँग पराजित भएको हो । फाइनलमा बदला लिने लक्ष्यसहित मैदान उत्रिए पनि अनुभवको कमीका कारण सफल हुन नसकेको कप्तान प्रीति राईले बताइन् । 

उनले  भारतलाई हराउँदै फाइनल पुगे पनि लक्ष्य उपाधि रहेको अवस्थामा घरेलु टोलीले फाइदा उठाएको बताइन् ।  एक महिने तयारी राम्रो भए पनि नेपाली टोलीको तुलनामा बङ्गलादेश धेरै राम्रो भएकाले अपेक्षा अनुसारको खेल उनीहरुविरुद्ध हुन नसकेको बताइन् ।

यस्तै सम्पन्न प्रतियोगितामा चार गोल गरेकी फरवार्ड अमिसा कार्कीले राष्ट्रिय टोलीमा समावेश हुँदै खेलेको अनुभवले उमेर समूहको खेल खेल्न धेरै सहज भएको प्रतिक्रिया दिइन् । उनले पहिलेको तुलनामा यसपालि उमेर समूहबाट नतिजा निकाल्दा खुशी लागेको भन्दै अनुभव भए खेल राम्रो खेल्न सकिने बताइन् । उनले पनि मैदानको अवस्था बुझ्दैमा शुरुवाती खेल सकिएको र फाइनलमा प्रतिस्पर्धात्मक खेल खेले पनि आयोजकले घरेलु मैदानको फाइदा उठाउँदा लक्ष्य पूरा हुन नसकेको बताइन् । फाइनलमा बदला लिने लक्ष्यलाई भाग्यले साथ नदिएको बताइन् ।

सम्पन्न संस्करणमा मात्र नेपाल बङ्गलादेशसँग दुई पटक स्तब्ध हुन पुग्यो । यसअघि यु–१८, यु–१९ को नामले आयोजना भएको प्रतियोगिता यस संस्करण यु–२० को नाममा साफले आयोजना गरेको हो ।  यससँगै बंगलादेशले उमेर समूहको प्रतियोगितामा तेस्रो पटक सफलता हात पारेको छ । यस अघि बंगलादेशले २०१८ र २०२१ मा उपाधि जितेको थियो । नेपाल भने दोस्रो पटक उपविजेता भएको छ । सन २०१८ मा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप