सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आन्दोलनको नाममा लुटपाट

आन्दोलनकारीलाई व्यवसायीको प्रश्न – करोडौँको क्षतिपूर्ति कसले दिन्छ ?

हामीले होइन, सम्पूर्ण जिम्मेवारी मलले लिनुपर्छ : आन्दोलनकारी
मङ्गलबार, ०२ फागुन २०७९, १४ : १२
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । यातायात मजदुर संगठनहरुले गरेको आन्दोलनबाट भएको कराडौँको क्षतिको जिम्मेवारीबाट आन्दोलनकारी पन्छिएका छन् । सोमबार साँझ बालाजु क्षेत्रमा एकाएक सुरु भएको आन्दोलनबाट करोडौँ रुपैयाँ बराबरको सरकारी/सार्वजनिक र निजी सम्पत्तिमा क्षति भएको छ । तर, आन्दोलनकारीहरू यसको जिम्मेवारी लिनबाट पन्छिएका हुन् ।

आन्दोलनको नेतृत्वकर्ता संगठन अखिल नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वालाले आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवारी आफूहरू नलिने बताए । उनले हिजो भएको आन्दोलनबाट भएको सम्पूर्ण क्षतिको जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका हुन् । सोही कम्पनीका कारण आन्दोलन उठेको र नियन्त्रणबाहिर गएको भन्दै सम्पूर्ण जिम्मेवारी ल्होत्सेले नै लिनुपर्ने उनको तर्क छ ।

जबकि, यातायात क्षेत्रका मजदुर संगठनले विभिन्न माग राखेर सुरु गरेको हिजोको आन्दोलनको माग सम्बोधनको प्रयास भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले गरिरहेको छ । आज बिहान भएको दुई पक्षीय वार्ताका क्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मजदुरले राखेको विभिन्न १० बुँदे माग सम्बोधन भइरहेको समयमा किन आन्दोलन गर्नुपरेको भनेर प्रश्न गरेका थिए ।

मन्त्रीलाई जवाफ दिने क्रममा मजदुर संगठनका नेता भीम ज्वालाले १५ दिन अघि नै सरकार समक्ष आफ्ना १० बुँदे माग राखे पनि सम्बोधनको प्रयास नभएको बताए । यस्तै, नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले यातायात मजदुर संगठनमाथि ज्यादती र हातपात गरिरहेका कारणले आन्दोलनको रुप लिएको र नियन्त्रणबाहिर गएको आन्दोलनकारीहरूको भनाइ छ ।

हिजो भएको आन्दोलनबाट ल्होत्से मलमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीको करोडौँ रुपैयाँ बराबरको धनमाल लुटपाट समेत भएको छ । ल्होत्से मल नयाँ बसपार्क सञ्चालकविरुद्ध भएको आन्दोलनका क्रममा त्यहाँ व्यवसाय गरेर आफ्नो गुजारा गर्नेहरूको करोडौँ क्षति भएको बताइएको छ । ल्होत्से मलका मोबाइल व्यवसायीहरूका अनुसार उक्त आन्दोलनका क्रममा आन्दोलनकारीले करोडौँको मोबाइल लुटपाट गरेका छन् ।

ल्होत्से मलमा सञ्चालनमा रहेको खाद्यान्न लगायतका पसलमा समेत क्षति भएको देखिन्छ । यस्तै, आन्दोलनका क्रममा नेपाल प्रहरीका दुईवटा भ्यानमा पूर्ण क्षति भएको छ । आन्दोलनकारीले प्रहरीको भ्यान नियन्त्रणमा लिँदै आगजनी गरेका कारणले पूर्ण क्षति भएको छ भने आन्दोलन नियन्त्रणमा खटिएका ६४ जना प्रहरी गम्भीर घाइते बनेको प्रहरी घाइते भएको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

lohotse mall (2)

तर, आन्दोलनको नेतृत्व गरेको संगठनका नेता भने मजदुर आन्दोलनबाट भएको सम्पूर्ण क्षति ल्होत्से मलले नै लिनुपर्ने बताइरहेका छन् । खास गरी, ल्होत्से मलका २ जना (सुनिल कुँवर र पङ्कज मल्ल)ले मजदुरलाई कुटपिट गरेपछि आन्दोलन सुरु भएका कारण क्षतिको सम्पूर्ण जिम्मेवारी मलले नै लिनुपर्ने संगठनको अध्यक्ष ज्वालाले बताए ।

ल्होत्सेको ज्यादतीविरुद्धको आन्दोलन – आन्दोलनकारी

नयाँ बसपार्क क्षेत्रको सञ्चालनल्होत्सेबहुउद्देश्यीय प्रालिले गर्दै आइरहेको छ । काठमाडौँ महानगरपालिका रल्होत्सेबीच २०५६ सालमा भएको सम्झौता बमोजिम हाल नयाँ बसपार्क क्षेत्रको सम्पूर्ण जिम्मेवारी सोही कम्पनीले उठाइरहेको छ । काठमाडौँ महानगरले एकैपटकल्होत्सेलाई ४५ वर्षको जिम्मेवारी दिएको थियो । सम्झौताअनुसार बसपार्क सञ्चालनको जिम्मेवारी पाएकोल्होत्सेले यातायात मजदुरहरुविरुद्ध पटक–पटक ज्यादती गर्दै आइरहेको आरोप मजदुर संगठनहरुले लगाएका छन् ।

lohotse mall (7)

उनीहरूका अनुसार लोत्सेका कर्मचारीले यातायात मजदुरहरूलाई हातपात र कुटपिट गर्दै आइरहेका थिए । र, त्यसैको सिलसिला हिजो सोमबार भएको कुटपिट समेत परेको मजदुरहरू बताउँछन् । यस्तै, ल्होत्सेले सवारी पार्किङ गर्दा समेत चर्को शुल्क असुल्ने र अर्कै रसिद दिने गरेको उनीहरूको आरोप छ । भन्छन्, ‘ ल्होत्सेका कर्मचारीले रातभर सवारी पार्किङ गर्दा ९५० रुपैयाँ लिन्छन् र ५०० रुपैयाँको रसिद काट्छन् ।’ यस्तै, बसपार्क क्षेत्रमा छिर्ने वित्तिकै पार्किङ नै नगरी २० रुपैयाँ शुल्क उठाउँदै आइरहेको छ । यी विकृतिको विरुद्धमा बोल्ने जोकोहीले ल्होत्सेका कर्मचारीबाट कुटाई खाएको संगठनका अध्यक्ष ज्वालाले बताए ।

यस्तै, मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले समेत ल्होत्सेले लामो समयदेखि आफूहरुविरुद्ध ज्यादती गरिरहेको हुँदा आन्दोलनमा उत्रिनुपरेको बताए ।

व्यवसायीको प्रश्न – क्षतिपूर्ति कसले दिने ?

ल्होत्सेमलमा व्यवसाय सञ्चालन गर्दै आएका मोबाइल व्यवसायीहरूले करोडौँको क्षति बेहोरेका छन् । आन्दोलनकारीले व्यवसायीको पसलमा तोडफोड गरेर पसलमा भएका सबै मोबाइल लिएर गएका हुन् । मलमा मोबाइल व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायी सागर वाग्लेले आफूहरूले करोडौँ क्षति बेहोर्नुपरेको बताए । उनले आन्दोलनका नाममा लुटेराहरु मलमा छिर्दा र राज्य तथा प्रशासन आवश्यक कदम नचाल्दा ठुलो क्षति बेहोर्नुपरेको बताइएको छ ।

lohotse mall (10)

यस्तै, मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष शोभित प्रसाईले आन्दोलनको नाममा लुटेराहरू मलमा पसेर लुटपाट गरेको जानकारी दिए । भने, ‘पसल बचाउनेभन्दा पनि आफ्नो ज्यान बचाउनतर्फ लागियो । हातमा नाङ्गो खुकुरी लिएर सडकमा दौडिरहेका थिए ।’ उनले दोषीलाई कारबाही गरेर आफूहरूले यथाशीघ्र क्षतिपूर्ति पाउनुपर्ने समेत बताए ।

यातायात व्यवसायीले गरे आन्दोलनको विरोध

मजदुर संगठनहरुले सोमबार गरेको आन्दोलनमा आफ्नो साथ नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले स्पष्ट पारेको छ । आज मन्त्रालयको छलफलमा उपस्थित रहेको महासंघले हिजोको आन्दोलन अराजकताको पराकाष्ठा भएको बताएको छ । महासंघका अध्यक्ष विजय स्वाँरले आन्दोलनबाट यातायात व्यवसायीको बदनाम भएको भन्दै क्षतिको जिम्मेवारी आन्दोलनमा सहभागीहरूले नै लिनुपर्ने समेत बताए ।

‘मजदुरहरूले ल्होत्सेविरुद्ध गरेको आन्दोलन नै नियोजित भएको हुन सक्छ,’ स्वाँरले भने, ‘ ल्होत्सेका प्रतिनिधिसँगको कुराकानीमा उनीहरूले मजदुर संगठनले आयोजना गरेको विरोध कार्यक्रममा आफूहरूले समन्वय गर्दै गर्दा आक्रमण सुरु भएको बताएका छन् ।’ यही कारण, मजदुर संगठनको आन्दोलनको सम्पूर्ण दोष एकतर्फीरुपमा ल्होत्सेमाथि लाउन नहुने उनको तर्क थियो ।

lohotse mall (3)

सडक अवरुद्ध गर्दा थप फोर्स आउन सकेन – प्रहरी 

आन्दोलनकारीले आन्दोलन सुरु गर्दा बीच सडकमा सवारी साधन तेर्स्याएका थिए । जसकारण, नेपाल प्रहरीले थप प्रहरी बोलाउन समस्या भएको प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले आन्दोलनका क्रममा सडकमा सवारी तेर्स्याउँदा प्रहरीको गाडीसहित एम्बुलेन्स, बिरामी बोकेका सवारी र विद्यार्थी बोकेका सवारीको आवागमन समेत प्रभावित बनेको बताए । यस्तै, आज बिहान मन्त्रालयको वार्ता अघिसम्म सडकमा चल्ने निजी सवारीमा समेत आन्दोलनकारीले आक्रमण गरेको कार्कीको भनाई थियो ।

यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीले राज्यले दिएको अधिकारमा बसेर आफूहरूले चिट काट्ने गरेको जानकारी दिइन । मजदुरहरूले अत्यधिक चिट काटेको भन्दै सुरु भएको विरोधको जवाफ दिँदै उनले सरकारी व्यवस्थाअनुसार नै चिट काटेको र मापसे, लेन क्रस र ट्राफिक नियम नमान्दा मात्रै कारबाही गर्ने गरेको प्रस्ट्याइन । भनिन्, ‘अबदेखि मापसे गरेका चालकलाई छाड्नुपर्ने हो ? लेन क्रस र ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना नै नगराई छाड्ने हो ।’ यस्तै, उपत्यकामा दुर्घटनाबाट मृत्यु भएका ८६ प्रतिशत मृत्यु सवारी चालकको गल्तीकै कारण हुने गरेको समेत जानकारी दिइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप