आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अस्कलको लफडा

अमृत साइन्सका विद्यार्थीले किन मागिरहेका छन् क्याम्पस प्रमुखको राजीनामा ?

क्याम्पसभित्र समस्यै समस्या
बिहीबार, ०४ फागुन २०७९, १६ : २९
बिहीबार, ०४ फागुन २०७९

काठमाडौँ । गत १८ मङ्सिरमा अमृत साइन्स क्याम्पस (अस्कल)का क्याम्पस प्रमुख डा. लोकबहादुर बरालको राजीनामा माग गर्दै विद्यार्थीहरूले उपकुलपतिलाई पत्र बुझाए । क्याम्पसका ६२६ जना विद्यार्थीको हस्ताक्षरसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटा र रेक्टर डा. शिवलाल भुसाललाई पत्र बुझाइएको थियो । 

कुनै क्याम्पस प्र्रमुख नचाहिने भन्दै विद्यार्थीहरू पत्र नै लिएर आएपछि त्रिवि पदाधिकारी चकित परे । अनि विद्यार्थीहरूलाई कानुनअनुसार अगाडि बढ्ने आश्वासन दिए । लामो समयसम्म आफ्नो पत्रको जवाफ तथा कारबाही नभएपछि उनीहरू पुनः माघ ३ गते  शिक्षाध्यक्ष र रजिस्ट्रार भेट्न पुगे । उनीहरूले अस्कल क्याम्पसका विविध समस्या र क्याम्पस प्रमुखको राजीनामाबारे छलफल गरे । 

छलफलका क्रममा यो समस्या चाँडै समाधान हुने र एउटा निकास दिइने प्रतिबद्धता जाहेर गरे । तर अहिलेसम्म यो विषयमा कुनै सुनुवाइ नभएको अस्कलका विद्यार्थी एलएस धामीले बताए । उनीहरूको प्रमुख गुनासो क्याम्पस प्रमुखको कामप्रति छ । डेढ वर्षदेखि क्याम्पसको नेतृत्व सम्हालेका क्याम्पस प्रमुख लोकबहादुर बरालले क्याम्पसको नेतृत्व गर्न नसकेको विद्यार्थीहरूको आरोप छ । क्याम्पस प्रशासनको सामान्य कामका लागि सहजीकरण गर्न नसकेको, क्याम्पसमा नियमित र समयमै उपस्थित नभएको आरोप विद्यार्थीहरूको छ । 

क्याम्पसमा भएका कक्षाकोठा व्यवस्थापनका समस्या, प्रयोगशाला र पुस्तकालय पुनर्निर्माण एवं व्यवस्थापनका समस्याका विषयमा विद्यार्थीहरूले समेत पटक पटक जानकारी गराउँदा र दबाब दिँदासमेत कुनै सुनुवाइ नगरेको उनीहरूको आरोप छ । 

त्यस्तै कर्मचारीहरूबीच समन्वय र सहकार्य गर्न नसकेको, क्याम्पसको दिगो विकासका निम्ति कुनै पनि योजनाबद्ध रूपले कार्य गर्न नसकेको निष्कर्ष आफूहरूले निकालेको उनीहरूको भनाइ छ । क्याम्पसको नेतृत्व सम्हाल्न नसक्दा स्वतःस्फूर्त रूपमा राजीनामा माग गर्दासमेत राजीनामा दिन अस्वीकार गरेको भन्दै उनको राजीनामा गर्न सहजीकरण गरिदिन उपकुलपति र रजिस्ट्रारलाई पत्र बुझाएका हुन् । 

उनको राजीनामाको विषय दिनप्रतिदिन चर्को रूपमा उठिरहेको छ । तर क्याम्पस प्रमुख बरालले कसैले धम्की दिँदैमा राजीनामा दिन नसकिने बताउँदै आएका छन् । गत २० माघमा अनेरास्ववियुको केन्द्रीय सदस्य कमल जोशी, उज्ज्वल भण्डारीलगायतले क्याम्पस प्रमुख बराललाई गाडीमा हालेर उपकुलपति समक्ष लगेका थिए । 

उनीहरूले जबरजस्ती गाडीमा हालेर कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा लैजाँदै गर्दा कालीमाटीमा रहेको प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेका थिए भने भण्डारीलाई प्रहरी नियन्त्रणमा लिएका थिए । जोशी भने भाग्न सफल भएका थिए । 

विद्यार्थीहरूले बीआईटी र बीएस्सी सीएसआईटीको पठनपाठन रोकिएकाले नियमित गराउनुपर्ने भन्दै क्याम्पस प्रमुख बरालसँग कुरा गरिरहेका थिए । छात्रावासमा अस्कलबाहिर अध्ययन गर्ने विद्यार्थी बसिरहेकाले उनीहरूलाई हटाएर अस्कलमै पढ्ने विद्यार्थीलाई बस्ने वातावरण मिलाउन विद्यार्थीहरूको माग थियो । 

त्यही बेला अनेरास्ववियुका जोशीलगायतका विद्यार्थी नेता आएर सहायक क्याम्पस प्रमुख दीपकराज गुप्ताको गाडीमा जबरजस्ती हालेर क्याम्पस प्रमुख बराललाई लगेका थिए । तर प्रहरीले थाहा पाएपछि कालीमाटीबाट उनको उद्धार गरिएको थियो । 

अनेरास्ववियुले भने यो विषयमा फसाउने षड्यन्त्र रचिएको बताएको छ । अनेरास्ववियु अमृत क्याम्पस कमिटी अध्यक्ष रूद्रहरि पोखरेलले सँगै गएर उपकुलपतिलाई भेटेर छलफल गर्ने भन्ने सहमतिका आधारमा गएको बताए । ‘क्याम्पसमा छलफल गर्दा उपकुलपतिकहाँ जाने र क्याम्पसका समस्यालगायतका विषयमा छलफल गर्ने भनेर गएका थियौँ । तर उनीहरूले त हाम्रा साथीहरूलाई फसाउने षड्यन्त्र गरेका रहेछन् । कालीमाटी पुग्दा प्रहरीलाई फोन गरेर अपहरणमा परेको भन्ने सूचना दिएछन् । प्रहरी आएर हाम्रा साथीहरूलाई नियन्त्रणमा लिएको छ,’ उनले भने । 

१३ दिनदेखि हिरासतमा रहेका भण्डारीमाथि अहिले प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । क्याम्पस प्रमुख बरालले दिएको उजुरीका आधारमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको हो । 

अध्यक्ष पोखरेलले आफ्नो सङ्गठनका साथीहरूलाई छानीछानी विभिन्न मुद्दामा फसाउने काम भइरहेको आरोप लगाए । 

क्याम्पस प्रमुखको राजीनामा नै किन ?

askal

क्याम्पस प्रमुख बरालले नेतृत्व गर्न नसकेको धेरै विद्यार्थीहरूको बुझाइ छ । बराल नेकपा माओवादीको कोटाबाट क्याम्पस प्रमुखमा नियुक्त भएका थिए । 

झन्डै ८०० विद्यार्थी अध्ययन गरिरहेको ओस्कलमा अचेल दिनहुँ  विवाद र लफडा मात्र भइरहन्छ । विद्यार्थीहरूका अनुसार क्याम्पस प्रमुख बराल क्याम्पसमा नै आउँदैनन् । दिनभर बाहिर हराउने र बेलुका आएर हाजिर गरेर घर जाने गरेको एक विद्यार्थीले बताए । 

‘उहाँ आएदेखि क्याम्पस झन् भद्रगोल बनेको छ । न कर्मचारीहरू समयमा आउँछन् । एउटा कामको लागि कर्मचारी कहाँ गए भनेर फोन गरेर बोलाउनुपर्छ । आफ्नो कार्यकक्षमा त कर्मचारी भेट्नै सकिँदैन् । यसमा उहाँले कडा निर्देशन दिनुसक्नुभएन्,’ ती विद्यार्थीले भने, ‘शिक्षक–कर्मचारीलाई समयमै अफिसमा आएर आफ्नो काम गनोस् न भन्दा क्याम्पस प्रमुख नै आएका छैनन्, हामी किन आउने भनेर उल्टै प्रश्न गर्छन् ।’

क्याम्पस प्रमुख बरालले केही महिनाअगाडि क्याम्पसका आन्तरिक विषयहरू सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै सहायक क्याम्पस प्रमुख रवीन्द्रसिंह महतलाई स्पष्टीकरण सोधेर सहायक क्याम्पस प्रमुखको जिम्मेवारीबाट हटाएका थिए । पछि राष्ट्रिय सूचना आयोगले क्याम्पसको सूचना दिनु कानुनी अधिकार भएको भन्दै उनीमाथि गरिएको कुनै पनि कारबाही गैरकानुनी भएको बताएको थियो । 

स्वयं अखिल क्रान्तिकारीले समेत उनको राजीनामा माग गर्दै आएको छ । क्याम्पसको नेतृत्व गर्न नसकेको भन्दै क्रान्तिकारीका धेरैले उनलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । तर उनले भने आफूले कुनै गल्ती नगरेको र नियमसङ्गत नै काम गरिरहेकाले राजीनामा नदिने अडान राख्दै आएका छन् । 

अस्कलका विद्यमान समस्या, जो क्याम्पस प्रमुख देख्दैनन् 

क्याम्पसभित्र समस्यै समस्या छन् । वर्षात्मा छत चुहिने ठाउँमा पुस्तकालय राखिएको छ । त्यसलाई व्यवस्थित गर्न सकिएको छैन । त्यस्तै कक्षाकोठाको अभावमा विद्यार्थीहरू पढ्न पाइरहेका छैनन् । सहायक क्याम्पस प्रमुखको कार्यकक्षलाई कक्षाकोठा बनाएर विद्यार्थीलाई पढाउनुपरेको छ । 

AMS_CMAoVCxjch

त्यस्तै अस्कलको आफ्नै होस्टेल छ तर त्यहाँ अस्कलमै पढ्नेभन्दा पनि बाहिरका विद्यार्थी बस्दै आएका उनीहरूको आरोप छ । यति मात्र नभएर क्याम्पसमा रहेका स्वतन्त्र विद्यार्थीलाई धम्क्याउने, कुटपिट गर्नेसमेत कार्य हुने गरेको उनीहरूको भनाइ छ । जसले गर्दा छात्रावास र क्याम्पसका सबै विद्यार्थीको पठनपाठनमा असर पर्नुका साथै मानसिक रूपमा समेत विद्यार्थी त्रसित रहेका छन् । 

दुर्गमबाट आएका जेहेनदार विद्यार्थी छात्रावासमा बस्नबाट वञ्चित हुने गरेका छन् । त्यसैले छात्रावास वैधानिकरण गरी सिस्टममा लैजान विद्यार्थीहरूले पटक पटक माग राख्दै आएका छन् । तर क्याम्पस प्रमुखले कुनै पनि समस्या नसुनेको विद्यार्थीहरूको आरोप छ । 

विद्यार्थीहरूले समस्या उठान गर्दा उनीहरूलाई राजनीतिक विषय बनाएर मुद्दा लगाउने, शिक्षक कर्मचारीहरूले केही बोल्दा कारबाहीको धम्की दिने गरेको उनीहरूको भनाइ छ । जसले गर्दा विद्यार्थीहरू आन्दोलनको लामो इतिहास बोकेको अस्कललाई बचाउन क्याम्पस प्रमुखको राजीनामा माग गर्दै आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप