आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी विश्वविद्यालयको नयाँ भवनमा  तेस्रो वार्षिकोत्सव मनाइयो

बिहीबार, ०४ फागुन २०७९, २२ : ०८
बिहीबार, ०४ फागुन २०७९

पोखरा । गण्डकी विश्वविद्यालयले स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बिहीबार पोखरा ३२ मा नवनिर्मित विश्वविद्यालयका भवनहरु मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।  ७ करोड रुपैयाँ खर्च गरी विश्वविद्यालयका भवन तयार भएका हुन् । यी भवन नै विश्वविद्यालयका पहिलो भवन हुन् । आफ्नै भवन नहुँदा विश्वविद्यालयले पोखरा ७ मुस्ताङमा कार्यालय सञ्चालन गरिरहेको छ ।

पढाइ सञ्चालन पनि भाडाका घरमा हुँदै आएको छ । पोखरा ३२ वडाले आफ्नो कार्यालय भवनसमेत विश्वविद्यालयलाई केही समयका लागि उपलब्ध गराएको छ । त्यसैमा फार्मेसीको स्नातक तहको पढाइ हुन्छ । प्रिफ्याबबाट नवनिर्मित भवनबाट आगामी दिनमा पठनपाठन सुरु हुने भएको छ । 

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले विश्वविद्यालयलाई प्रदेश सरकारका तर्फबाट पूर्ण साथ रहने बताए । ‘हामी उत्पादकत्व वृद्धि गर्न चाहन्छौं, त्यसमा यो विश्वविद्यालयको आविष्कार केन्द्रको सहयोग हुने विश्वास छ,’ उनले भने । 

पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालय विद्वान, विदुषीहरुले चलाउनुपर्छ भनेरै कुलपति मुख्यमन्त्री नरहने व्यवस्था गरेको जानकारी गराए । ‘विश्वविद्यालयहरुमा राजनीतिकरण, पार्टीकरण र गुटकरण धेरै भयो, त्यस्तो नहोस् भनेर गण्डकी प्रदेशले मुख्यमन्त्री कुलपति नहुने र न्यासिक परिषदमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको हो,’ उनले भने, ‘एक दिन सिनेटको मिटिङमा आउने प्रधानमन्त्रीले विश्वविद्यालय चलाउने हो, एक दिन भाषण गर्न आउने मुख्यमन्त्रीले चलाउने होइन ।’ संस्थापक मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा सरकारी स्तरबाट शिक्षण अस्पताल नभएको हुँदा गण्डकी विश्वविद्यालयमार्फत त्यस्तो अस्पताल सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

कुलपति प्राडा गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति डा.नवराज देवकोटाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी विद्यार्थीलाई अध्यापन गराउन विश्वविद्यालय लागिपरेको बताए । त्यसका लागि आफूहरुले कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । रजिस्ट्रार डा.कैलाश तिमिल्सिनाले नवप्रवर्तनमा जोड दिँदै विश्वविद्यालय अघि बढेको जानकारी दिए । उनले नयाँ सोचका साथ र उत्कृष्ट बन्ने लक्ष्य राखिएको पनि बताए । 

विज्ञान प्रविधि संकायका डीन डा.कपिल अधिकारीले विश्वविद्यालयले तीनवटा विशेष आधार स्तम्भ शैक्षिक, अनुसन्धान र नवप्रवर्तनका गतिविधिमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको सुनाए । ‘बदलिँदो विश्व परिवेश, नयाँ समयले ल्याएका नयाँ चुनौतीलाई चिनेर चुनौतीभित्रका नयाँ सम्भावनालाई खोजी गर्ने विश्व नागरिक तयार गर्नु यस विश्वविद्यालयको लक्ष्य हो,’ उनले भने । 

कार्यक्रममा गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरिधारी पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले मन्तव्य राखेको कार्यक्रम विश्वविद्यालयका सहप्रशासक डोलराज सुवेदी र भावना ढकाल सञ्चालन गरेका थिए । 

विश्वविद्यालयमा हाल सूचना प्रविधि, खेलकुद व्यवस्थापन, औषधी विज्ञान, कानुन र व्यवस्थापन गरी स्नातक तहका ५ कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रममा ३ सय १९ विद्यार्थी छन् । २४ पूर्णकालीन र २० करार गरी ४४ जनाले विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् । 

स्नातकोत्तर तहमा वातावरण विज्ञान, जलवायु परिवर्तन, जैविक विविधता, र दिगो विकासका समस्यामा केन्द्रित इन्टर डिसिप्लिनरी कार्यक्रम चलाउने तयारी विश्वविद्यालयले गरिरहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स र मेकानिकल इन्जिनियरिङका डिग्री कार्यक्रम पनि तयार हुने क्रममा छन् । काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा माइनिङ इन्जिनियरिङ कार्यक्रम विश्वविद्यालयमा स्थापना हुँदैछ । 

विश्वविद्यालय अन्तर्गत आविष्कार केन्द्र पनि छ । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँग एमओयु गरी सञ्चालित केन्द्रले केही उपकरण र सामग्री तयार गरिसकेको छ । विश्वविद्यालयस्थित केन्द्रको मुख्यमन्त्री लगायतले बिहीबार अवलोकनसमेत गरेका थिए । वार्षिकोत्सवमा विद्यार्थीको नागचान प्रस्तुति पनि समावेश थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप