मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कपः सेमिफाइनल समीकरण पूरा

शनिबार, १३ फागुन २०७९, १८ : ३७
शनिबार, १३ फागुन २०७९

काठमाडौँ । जावलाखेल युथ क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकको टोली केपी ओली एफसी राजधानीमा जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली भएको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा केपी ओली एफसीले जावलाखेल युथ क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यससँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेले पछि टाईब्रेकरमा पुगेको खेलमा आयोजकको टोलीले बाजी मारेको हो । प्रतिस्पर्धात्मक खेलमा केपी ओली एफसीका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बू र अनिल महर्जनले गोल गरेका थिए । जवालाखेलका सीमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गर्दा एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अन्तिम चारमा पु¥याएका हुन् ।

निर्धारित ९० मिनेटको खेलको शुरुवात निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा जावलाखेलका लागि डिफेन्डर राहुलले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । 

पहिलो हाफमा पछि परेको आयोजकको टोली दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको । ६८ औँ मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सले गोल गर्दै केपी ओली एफसीलाई १–१ गोलको बराबरीमा ल्याए । बाँकी समयमा दुवै टोली थप गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन र खेल टाईब्रेकरतिर लम्किएको थियो । 

जित निकालेको केपी ओली एफसीले सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनल खेल सातदोबाटो युथ क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल सातदोबाटो  र त्रिभुवन आर्मीबीच आइतबार हुनेछ भने दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र र केपी ओली एफसीबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप