आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको डेटाहरू टर्की पुग्ने गरेको छ : आरजु राणा

मङ्गलबार, १६ फागुन २०७९, १४ : ०७
मङ्गलबार, १६ फागुन २०७९

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन् । मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले नेपालमा डिजिटल प्रणाली सुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरू पूर्ण सक्षम नरहेको जिकिर गरेकी हुन् । उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् । 

उनले भनिन्, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले सुरु त गर्‍यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरूले यसमा अनुसन्धान गर्नुपर्छ ।’ 

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेविसंघको अबको एजेन्डा शैक्षिक, सामाजिक, युवाहरूलाई उद्यमशील बनाउने, नेपालमै युवाहरूलाई टिकाउने र जलवायु परिवर्तनको एजेन्डामा केन्द्रित रहेको बताए । उनले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनुसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताए । 

उनले भने, ‘नेपाल विद्यार्थी संघको अबको एजेन्डा शैक्षिक एजेन्डा, सामाजिक एजेन्डा, युवाहरूलाई उद्यमशील बनाउने र नेपालमै युवाहरूलाई टिकाउने, जलवायु परिवर्तनको एजेन्डामा हामी अघि बढ्नेछौँ ।’

त्यस्तै पुलचोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरुको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बताए । उनले कार्यक्रमले ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेण्ट, त्रिभुवन विश्वविद्यालयको ढिलो नतिजा प्रकाशन सम्बन्धीका बारेमा पनि समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप