सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिरामीको उपचार र डाक्टरको अनुभूति समेटिएको कृति

बुधबार, २४ फागुन २०७९, १५ : २५
बुधबार, २४ फागुन २०७९

डा. अर्जुनदेव भट्ट पेसाले युरोलोजीका वरिष्ठ कन्सल्टेन्ट हुन् । विसं २००२ सालमा पाल्पामा जम्मिएका भट्ट आजीवन चिकित्सकीय पेसामा समर्पित व्यक्तित्व हुन् । हाल उनी मेडिकेर नर्सिङ होम चावहिलमा वरिष्ठ कन्सल्टेन्ट युरोलोजिस्टका रूपमा कार्यरत छन् । 
डाक्टरको द्विविधा उनको यही चिकित्सकीय पेसाका अनुभवहरू समेटिएको निबन्ध कृति हो । 

कृतिको भूमिकामा कलानिधि दाहाल भन्छन्– औषधोपचारका त्रिपक्षीय आर्थिक, सामाजिक र अस्पताल स्थापनाका सन्दर्भमा राज्यव्यवस्थाप्रति जनपक्षीय भए बुरुक्क उफ्रन्छ निबन्धशिल्पी भट्टको कलम । भुँमरिन्छ, चक्कराउँछ, आक्रोशिन्छ उनको मनोद्वेग । 
उनको निबन्धकारिता देवकोटेली कल्पनात्मक उछालतिर दौडन खोज्छ र आफू चिरफारको, मूत्रनलीको, गुदद्वारको प्रकृतिले निर्माण गर्न नै बिर्सिएका अङ्गप्रत्यङ्ग, पुनस्र्थापनाको वस्तुगत निरीक्षक र पर्यवेक्षक हु भन्ने कुरा विस्मृतिमा पुगेको झैँ लाग्छ उनको कलम व्यक्ति (रोगी)का अन्तरङ्गको रौँचिरा अपरेसनको धरातलमा ओर्लिन्छ ।  

डाक्टरको द्विविधा कृतिमा १२ वटा निबन्ध सङ्ग्रहित छन् । जसमा डाक्टरको द्विविधा ः एक दृष्टि, मेरो चिन्तन, शताब्दी स्पशृ अग्रज नागरिक, जीवन डिल दर्पण, बटारिएको शुक्रग्रन्थि, लिङ्गको अग्र चर्मका अनेक पक्ष, पुरुष बाँझोपन र भेरिकोसिलको भूमिका, मूत्रथैलीको क्यान्सर र तमाखु, प्रोस्टेट ग्रन्थिको क्यान्सर वरिपरि, वीर अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण, कालबिनाको मृत्यु, मूत्रप्रणालीमा अनेकथरीका पत्थरी, परिवर्तनशील प्रोस्टेट गन्थि, भैँसीसँग सार्थक जीवन शीर्षकमा रहेका छन् । 

यी १२ शीर्षकका निबन्धमा बिरामीको उपचार गर्दा उनीहरूको आर्थिक सामाजिक र शैक्षिक तथा सांस्कृतिक अवस्थाको चित्रण गरेका छन् । खासगरी आफू ज्येष्ठ नागरिक भएको र त्यही अवस्थाका अन्य नागरिकहरूको सेवा सुसारको खाँचो औँल्याएका छन् । त्यही क्रममा डाक्टरको  द्विविधा शीर्षक निबन्धमा भट्ट भन्छन्, .... “हाम्रो समाज र सरकारले पनि शताब्दी अग्रसर व्यक्तिप्रति अझै बढी मैत्रीपूर्ण व्यवहार गर्ने वातावरण सिर्जना गर्न सके धेरै वृद्धवृद्धा हँसिला, रसिला, सुखी र खुसी भएर बाँकी जीवन सबैलाई आशीर्वाद दिँदै विताउन सक्थे । उनीहरूले स्वास्थ्यको हेरचाहको जिम्मा पूर्ण रूपमा स्थानीय सरकारले लिने व्यवस्था मिलाउन सके धान्नै नसकिने उपचार खर्चको चिन्ताबाट परिवारका सदस्य र शताब्दी नागरिक मुक्त हुने थिए ।” 

सारमा यस निबन्धमा उनी संविधान प्रदत्त नागरिकको स्वाथ्य उपचारसम्बन्धीको हकको सुनिश्चितता सरकारले गरिदिनुपर्ने आग्रह गर्छन् । यस्तै जीवन डिल दर्पण शीर्षकको निबन्धमा एक ७७ वर्षीय बिरामीको शारीरिक अवस्था र उपचारका बारेमा चर्चा गरेका छन् । उनी क्यान्सरका बिरामी थिए । निकै लामो समयसम्म उपचार गर्दा केही विकल्प नभएपछि डाक्टरका आफन्तकै सिफासिरमा उपचारका लागि आएका उक्त ज्येष्ठ नागरिकको हरप्रयत्न पनि सफल हुन नसकेपछि लेखक दुःखित बनेका छन् । 
उनी भन्छन्, “जीवन भनेको त सङ्घर्ष हो तर कसैले आफ्ना प्रिय बाबुआमा, श्रीमानश्रीमती वा छोराछोरीको उपचारमा टिठ लाग्दोगरी सर्वस्व नै बुझाउनुपर्छ भने त्यो समाज र देशलाई मानव समाज आधुनिक भनेर कसरी मान्न सक्छौँ !”
तर यस्ता उपचार सम्भव नहुने बिरामीको पीडादायी जीवन लम्ब्याउने काम चिकित्सकहरूले गर्न सके पनि त्यसको निर्णय र फैसला गर्ने अधिकार बिरामी स्वयंको हुने कि नहुने भनेर भट्टले प्रश्न गरेका छन् । 
समग्रमा यो कृतिमा सङ्कलित सबै निबन्ध बिरामीको रोगको प्रकृति, निदानको प्रयास, उपचारका लागि डाक्टरहरूको अथक प्रयास, उपचार सफलता र असफलता तथा बिरामीप्रति राज्यको दायित्वकाबारे आफ्नो विचारको उडानहरू प्रष्टसँग प्रस्तुत गरिएको छ ।
यो कृतिको अध्ययनबाट अपस्पतालभित्र डाक्टरका प्रयास र बिरामीहरूको प्रतिक्रियाहरूले समेत स्थान पाएको छ । सबै निबन्धमा अस्पतालको परिवेशलाई निबन्धको आधारभूमि बनाइएको छ । 
सरल नेपाली भाषामा उपचारका क्रममा डाक्टरका मनमा आएका अनुभूतिलाई कलात्मकता दिएर हरेक निबन्ध सिर्जित भएका छन् । प्रत्येक व्यक्ति कुनै न कुनै रोगबाट पीडित हुन सक्छ, तसर्थ अस्पतालको परिवेश बुझ्न पनि यो कृति अध्ययन गर्नु उचित हुनेछ ।  भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको २१६ पृष्ठको यस पुस्तकको मूल्य ३५० रुपियाँ राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप