आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण, सीबीफीनद्वारा सुरक्षाको माग

बिहीबार, ०२ चैत २०७९, १९ : ४०
बिहीबार, ०२ चैत २०७९

काठमाडौं । गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको छ । बिहीबार कार्यालय समयमा नै एक समूहले सापकोटा र आलेमाथि ज्यानै लिने उद्देश्यले आक्रमण भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले जनाएको छ । 

उक्त सांघातिक आक्रमणको भत्र्सना गर्दै सीबीफीनले दोषिमाथि कडा कारबाही गर्न र बैंक तथा वित्तीय संस्थाहरुमाथि बढेको असुरक्षालाई ख्याल गर्न सरकारसँग माग गरेको छ । 

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमण गरी गंभिर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्र्सना गर्दछ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दैनानुदिन बढिरहेकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गंभिर ध्यानाकर्षण भएको छ । निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं’ सीबीफीनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

केही दिन अघि जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज पनि दोहोरिएको परिसंघको भनाइ छ । 

सोही अवसरमा परिसंघले वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप