मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालले विशेषज्ञ चिकित्सकको तह घटाएको भन्दै चिकित्सक सङ्घको आपत्ति

मङ्गलबार, ०७ चैत २०७९, ०८ : ४४
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले भरतपुर अस्पतालले मेडिकल अधिकृत ८ औँ तह मासिक  ज्यालादारीमा विज्ञापन गरी पदपूर्ति गर्नुपर्ने भनी कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सेवा गर्न चाहने विशेषज्ञ चिकित्सकको सुरुको नियुक्ति ९ औँ तहबाट हुने प्रचलित ऐन, कानुन विपरीत मासिक ज्यालादारीमा मेडिकल अधिकृतलाई ८ औँ तहको मेडिकल अधिकृत भनी प्रकाशित गरिएको सूचना अविलम्ब सच्याउन सङ्घले आग्रह गरेको छ । 

सङ्घले एक विज्ञप्ति जारी गर्दै ८ औँ तहको मेडिकल अधिकृतहरू पनि ज्यालादारीमा भनी गरिएको विज्ञापन खारेज गरी स्थायी  पदपूर्तिको लागि आवश्यक पहल गरियोस् भनी सङ्घले माग गरेको छ । 

'चिकित्सकीय पेसालाई नै हतोत्साहित गर्ने गरी गरिएको यस प्रकारको त्रुटिपूर्ण पदपूर्ति सम्बन्धी सूचनाले सम्पूर्ण चिकित्सकहरूको मनोबलमा गम्भीर असर पुर्‍याएको छ । त्यसैले चिकित्सकीय तथा स्वास्थ्य सेवाको संवेदनशीलतालाई उच्च प्राथमिकतामा राख्दै चिकित्सकहरूलाई स्वास्थ्य सेवाप्रति आकर्षित गराउने उद्देश्य बमोजिम पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्न यस सङ्घ सम्बन्धित सबैमा जोडदार माग गर्दछ', सङ्घका महासचिव डा. सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप