आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : मन्त्रालय भागबण्डामा समस्या, कार्यदलको बैठक बस्न सकेन

बिहीबार, १६ चैत २०७९, २१ : ५६
बिहीबार, १६ चैत २०७९

हेटौंडा । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरु बीच सहमति हुन नसक्दा समस्या देखिएको छ । दलहरु बीच मन्त्रालय भागबण्डाको विषयमा सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्रालय भागबण्डा मिलाउन प्रदेशस्तरमा कार्यदल गठन गरे पनि त्यसले प्रभावकारी काम गर्न सकेको छैन ।

सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मन्त्रालय भागबण्डाको विषयमा ठोस निर्णय गर्न बिहीबार आह्वान गरिएको बैठक २ पटक स्थगित गर्नुपरेको थियो । बिहीबार बिहान ९ बजेका लागि काठमाडौंको नेश्वरमा बस्ने तय भएको बैठकमा एकीकृत समाजवादी अनुपस्थित हुदाँ कार्यदलको बैठक रोकिएको थियो । पहिलो बैठक रोकिएपछि दिउँसो ३ बजेका लागि पुनः बैठक बस्ने तयारी गरेपनि एकीकृत समाजवादी बैठकमा सहभागी भएन ।

एकीकृत समाजवादी बैठकमा उपस्थित नभएपछि कार्यदलको बैठक औपचारिकतामा नै प्रवेश नगरी स्थगित गरिएको थियो । यद्यपि कार्यदलका सदस्यहरुले मन्त्रालय बाँडफाटको विषयमा अनौपचारिक छलफल गरेका थिए । अनौपचारिक बैठकमा कांग्रेस प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्ले, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री, मुख्य सचेतक रत्न ढकाल, हाम्रो नेपाली पार्टीका शैलेन्द्रराज बज्रचार्य उपस्थित थिए । अनौपचारिक बैठकले समाजवदीलाई बैठकमा आउन आह्वान गरेपनि उपस्थित नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

पार्टी केन्द्रको निर्देशनअनुसार आजको बैठकमा उपस्थित नभएको एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । शर्माले भने, ‘भागबण्डाका विषयमा कुरा मिल्दैन, त्यसैले पनि बैठकमा नजान भनिएको छ ।’  एकीकृत समाजवादी अनुपस्थित भएपछि शुक्रबार सम्मका लागि कार्यदलको बैठक स्थगित गरिएको छ । कार्यदलका संयोजक चित्रकारले पार्टी र गठबन्धन दलका नेतासँग समन्वय गरेर शुक्रबारका लागि बैठक बोलाउने गरी बैठक स्थगित गरिएको छ । कार्यदलको बैठक शुक्रबार पुनः बस्नेछ ।

बागमती प्रदेशमा ११ मन्त्रालयमध्ये एकीकृत समाजवादीले ३ वटा मन्त्रालयको दावी गरेको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित हाल कायम रहेका ४ मन्त्रालय पाउनुपर्ने र कांग्रेस ६ तथा हाम्रो नेपाली पार्टीले एउटामा लविङ गर्दै आएका छन् । 

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिएका थिए । राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको सत्ता समीकरण अनुसार राप्रपा र एमाले सरकारबाट बाहिरिएका थिए । केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतको सत्ता समीकरण बनेपछि प्रदेशमा पनि एमाले र राप्रपा सरकारबाट अलगिएको थियो ।

जसअनुसार गत फागुन १३ गते प्रदेश सरकारबाट राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै आफ्ना ३ मन्त्रीलाई राजीनामा गराएको थियो भने एमालेले गत चैत १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई समर्थन दिन नसक्ने भन्दै सरकार छाडेको थियो । एमालेले सोही दिन आफ्ना ४ मन्त्रीलाई राजीनामा समेत गराएको थियो । प्रद्शको ३ मन्त्रालय गत फागुन १३ र ४ मन्त्रालय गत चैत १० गतेबाट रिक्त रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप