सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सापकोटाको ‘चिसो बाफ’ विमोचन

आइतबार, १९ चैत २०७९, ०७ : २०
आइतबार, १९ चैत २०७९

काठमाडौँ ।  आधुनिक समयको प्रेम र यौनमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको प्रयोगपरक उपन्यास ‘चिसो बाफ’ आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले शनिबार राजधानीको मण्डला थिएटरमा विमोचन गरे । 

कार्यक्रममा आख्यानकार अमर न्यौपानेले भने, ‘कथानकको संरचनामा नौलो प्रयोग र काल्पनिकता उपन्यासको विशेषता हो । सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने उनको ट्रेन्ड हो । यो उपन्यासमा नेपालीमा लेखिएका कथाभन्दा नवीन शैली छ,’ उनले भने, ‘लेखकले असामान्य कथालाई सहज ढङ्गले लेखेका छन् । उपन्यास पढेपछि पाठक सुन्दर सन्तुष्टिमा हराउँछ ।’ 

कल्पनाशीलता र प्रयोग धर्मीतामा उपन्यास अब्बल भएको पत्रकार, निबन्धकार दीपक सापकोटाले बताए । ‘उपन्यासको कथानक, चारित्रीकरण, प्रयोग, शैली उद्देश्यपूर्ण र अर्थपूर्ण छ । विसंगत पाटोको कथालाई अँध्यारो स्वरूपमा भनिएको छ’, सापकोटाले भने, ‘पात्रहरु भ्रान्त पथिक छन्, विपरित चिन्तनले भरिएको विभ्रान्त अवस्थामा छन् । उपन्यासको निर्मित भिन्न छ ।’ 

समालोचक ज्ञानु अधिकारीले ‘चिसो बाफ’ नेपाली साहित्यमा सुन्दर ढङ्गले लेखिएको प्रयोगपरक आख्यान बनेको बताइन् । ‘प्रयोग छ, तर कथा असाध्यै सरल छ । प्रयोग धर्मी लेखन यति सरलसँग लेखिनु चुनौतीपूर्ण छ । पाठकलाई त्यही कथा बुझेजस्तो पनि, नबुझेजस्तो पनि लागिरहन्छ,’ उनले भनिन् ।   

विश्व साहित्यमा भइरहेका प्रयोगमाथि विमर्श गर्दै लेखक गोपी सापकोटाले प्रयोग धर्मी आख्यान लेख्न खोजेको र पाठकलाई फरक स्वाद दिन चाहेको सुनाए । उनले भने, ‘पाठकलाई लागोस्, उपन्यासका घटनाहरू सपनाजस्ता हुन् भन्ने मेरो चाहना हो ।’ लेखक गोपी सापकोटाका यसअघि ‘पूर्णविराम’, ‘खरानी’, ‘प्रेम कतिपय’ नाटकसंग्रह र ‘काँचो कागज’ उपन्यास प्रकाशित छन् । किताब कलम प्रकाशनले प्रकाशन गरेको हो । किताबको मूल्य ४४५ रुपैयाँ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप