आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्दै दोलखाका किसान

सोमबार, २० चैत २०७९, १० : ४५
सोमबार, २० चैत २०७९

दोलखा। दोलखाका किसानहरू टनेलमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कम लागतमा धेरै उत्पादन हुने भएपछि किसानहरूले टनेलमा तरकारी खेती गरी आम्दानी पनि राम्रो गर्न थालेका हुन् ।

भीमेश्वर नगरपालिका वडा नं. ७ मकैबारीका दीपक तामाङ चार वर्षदेखि टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन् । उनको करिब १० रोपनी जग्गामा पाँच वटा टनेल घर रहेका छन् । त्यसमा रायोको साग, काउली, भ्यान्टा, मुला लगायतका मौसमी तथा बेमौसमी तरकारीहरू उत्पादन हुने गरेको छ । उत्पादित तरकारीहरू स्थानीय बजार सहित बाहिरी जिल्लामा समेत बिक्री भइरहेको तामाङले बताए ।

तरकारी फलाउन प्राङ्गारिक तथा घरायसी मलको प्रयोग गर्ने र सिँचाइको उचित प्रबन्ध मिलाउने गरिएको तामाङको भनाई छ । थोरै क्षेत्रफल र कम लागतमा धेरै आम्दानी लिन सकिने कुरा बुझेपछि टनेलमा खेती सुरु गरिएको उनले बताए । “टनेल बिना खेती गर्दा सोचे जस्तो भएन । उत्पादन बढाउन टनेलको प्रयोग गर्नुपर्ने बुझेपछि यसरी नै खेती गर्न थालेको हुँ,” उनले तरकारी खेतीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको बताए । कम लागतमा बढी मात्रामा स्वच्छ तरकारी उत्पादन हुने, रोगकिराको प्रकोप पनि कम हुने, रेखदेख र सुरक्षा हुने भएकोले टनेलमा तरकारी खेती गरेको उनको भनाई छ ।

भीमेश्वर नगरपालिका ४ जिलुका देवबहादुर खड्काले १५ रोपनी जग्गामा पाँच वटा टनेलमा तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी खरिदका लागि टनेलमै उपभोक्ता आउँछन्, भने बाँकी तरकारी स्थानीय बजार र काठमाडौँसम्म जाने गरेको खड्काको भनाई छ । एक वर्षमा सात लाखभन्दा बढी आम्दानी भएको उनले बताए । रोग, किराले कमै आक्रमण गर्ने, पशु चौपाया, असिना, झरी, हावाबाट पनि सुरक्षित हुने, विषादी पनि न्यून प्रयोग हुने र उत्पादन पनि राम्रो हुने भएकोले टनेलमा खेती गरिएको उनले बताए । “मौसमी तथा बेमौसमी तरकारी खेतीमा टनेलको प्रयोग गर्दा राम्रो उब्जनी हुने भएकोले टनेलमा तरकारी खेती गरेको हुँ । यसले कृषिलाई व्यावसायिक र आधुनिक बनाएको छ,” उनले भने, ‘अझ यसलाई थप विस्तार गर्ने योजना बनाएको छु ।‘

बालिविज्ञान पढेका सचिन चौलागाईँले जिलुमा टनेलमा व्यावसायिक तरकारी खेती गरिरहेका छन् । गत वर्षदेखि सुरु गरिएको खेतीबाट आम्दानी पनि राम्रै हुन थालेपछि सचिनलाई थप जाँगर चलेको छ । आफ्नो तरकारी खेतीलाई जिल्लामै नमुना बनाउने उनको भनाई छ । टनेलमा खेती गर्दा उत्पादन प्रचुर मात्रामा हुने भएपछि अध्ययन गरेका कुरालाई व्यवहारमा लागू गरेको उनले बताए ।

पछिल्ला समयमा टनेलमा खेती गर्ने किसानहरूको सङ्ख्या बढ्दै गएको छ । स्थानीय सरकारले पनि प्लास्टिक टनेल अनुदान दिएपछि टनेल खेती झन् फस्टाउँदै गएको छ । अहिले गाउँका जग्गाहरूमा प्लास्टिक टनेलका घरहरू बनेपछि तरकारी उत्पादन समेत बढ्न थालेको छ । परम्परागत शैलीमा भन्दा टनेलमा खती गर्दा बढी उत्पादन हुने भएपछि किसानहरू यसतर्फ आकर्षित हुन थालेका कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप