आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

सरकारी कागजात किर्तेमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न अदालतको अनुमति

वाल्मीकि पनि पहिले डाँकु थिए भन्दै विगतका कुरा नगर्न आग्रह
मङ्गलबार, २१ चैत २०७९, ०९ : ५०
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा न्यायाधीशपत्नी रावललाई पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको हो ।

बाँके प्रहरी स्रोतका अनुसार एसएलसीको प्रमाणपत्र, मार्कसिट, क्यारेक्टर सर्टिफिकेट लगायतका कागजात किर्ते गरेको र आफूले प्राप्त नगरेको शिक्षा प्राप्त गरेको भनी लाभ लिएको उजुरीका आधारमा प्रहरीले अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

बाँके प्रहरीका अनुसार बाँके जिल्ला अदालतबाट गत फागुन २६ गते नै रावलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यद्यपि न्यायाधीश पत्नी रावल काठमाडौँमा रहेका कारण पक्राउ गर्न नसकिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले रातोपाटीलाई बताए ।

बाँके प्रहरीले पक्राउ गरी पठाइदिनका लागि काठमाडौँ प्रहरीलाई पक्राउ अनुमतिको कागजातसहित पत्र पठाए पनि काठमाडौँ प्रहरीले पक्राउका लागि चासो दिएको छैन । ‘घरायसी विवाद’को विषयमा सरकारी कागजात किर्तेको जाहेरीसमेत परेको भन्दै प्रहरीले रावललाई पक्राउका लागि चासो नदेखाएको हो । रावल लामो समयदेखि काठमाडौँमै बसेर आफ्ना पति न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाहीको माग गर्दै आन्दोलन गरिरहेकी छन् ।

यस्तो छ न्यायाधीश भुवन गिरी र आरती रावलबीचको विवाद

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीले आफ्नी जेठी श्रीमतीलाई मानो चामलसहितको अंश दिएर कान्छी श्रीमतीका रूपमा आरती रावलसँग २०७४ सालमा विवाह गरेका थिए । तत्कालीन समयमा बाँके जिल्ला अदालतमा श्रेष्तेदार रहेका गिरी र रावलबिच ‘प्रेम–सम्बन्ध’पछि विवाह भएको थियो ।

विवाहपछि दिपायल, कैलाली, काठमाडौँ लगायतका स्थानमा सँगै बसेका गिरी र रावलबिच २०७९ सालपछि खटपट सुरु भएको थियो । आफूलाई सन्तान प्राप्तिको अधिकारबाट बञ्चित गराइएको भन्दै पटकपटक झैझगडा भएपछि न्यायाधीश बनेको केही समयमै भुवन गिरीले २०७९ मङ्सिर ११ गते पत्नी आरती रावलविरुद्ध बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशको क्वाटरबाटै पैसा चोरेर भागेको भन्दै न्यायाधीश गिरीले कपिलवस्तु प्रहरीमा चोरीको कसुरमा रावलविरुद्ध जाहेरीसमेत दिएका थिए । यद्यपि कपिलवस्तु प्रहरीले चोरीको सम्बन्धमा मुचुल्का तयार पारे पनि जाहेरी दर्ता भने गरेको छैन ।

चोरीको जाहेरी र सम्बन्धविच्छेदको मुद्दा दर्तापछि न्यायाधीशपत्नी आरती रावलले पनि न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु प्रहरीमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । पारिवारिक मामिला भएको र बलात्कारको सङ्केत नपाइएको भन्दै प्रहरीले वैवाहिक बलात्कारको जाहेरी दर्ता गर्न मानिरहेको थिएन । प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै अभियन्ता समेतको साथमा आन्दोलन थालेपछि प्रहरीले गत फागुन १४ गते न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेको थियो । वैवाहिक बलात्कारको जाहेरीसँगै आरतीले न्यायाधीश गिरीलाई पदबाटै बर्खास्त गरी कारबाही गर्न माग गर्दै आन्दोलन गर्न थालेपछि न्याय परिषद्ले गिरीलाई काजमा रही कामकाज गर्ने गरी न्याय परिषद्मा तानेको छ ।

पति–पत्नीको झगडाबाट सुरु भएको विवादको क्रममा यतिबेला न्यायाधीशपत्नी आरती रावलविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा गाली बेइज्जतीका ७ मुद्दा र बाँके जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको छ । त्यसैगरी सरकारी कागजात किर्ते गरेको भन्दै धनराज पुरीले बाँके प्रहरीमा आरतीविरुद्ध जाहेरी दिएपछि सो मुद्दामा समेत प्रहरीले आरतीको खोजी गरिरहेको छ ।

विवादै विवादमा आरती रावल

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल पहिलेदेखि नै विवादमा आएको पाइएको छ । आरतीले आफ्नै आमा र भाइविरुद्ध मुद्दा हालेर सम्पत्ति हत्याएको देखि मदिरा सेवन गरी होहल्ला तथा सार्वजनिक शान्ति खल्बल्याएको र मानव वेचबिखनमा समेत उजुरी परेको पाइएको छ । त्यसैगरी आफू अविवाहित भन्दै झुक्याएर न्यायाधीश गिरीसँग विवाह गरेको समेत पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको थियो जरिवानाको फैसला

आरती रावलविरुद्ध २०६६ वैशाखमा जिल्ला प्रशासन कार्यालय बाँकेमा केही सार्वजनिक अपराधमा मुद्दा चलेको थियो । मदिरा सेवन गरी होहल्ला गरेको, समाजमा अशान्ति फैलाएको र बर्दीमै रहेका प्रहरी हवल्दारमाथि हातपात गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय बाँकेमा उनीविरुद्ध मुद्दा चलेको थियो । केही दिन प्रहरी हिरासतमा बसेपछि धरौटी बुझाएर उनी छुटेकी थिइन् । उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय बाँकेले आरती रावल, सुशीला योगी र प्रेम बहादुर गाइनेलाई जनही २ हजार रुपैयाँको दरले जरिवाना गरेको थियो । यद्यपि उनीहरू सबैले जरिवाना बुझाउन बाँकी छ ।

आरती पहिले नै विवाहित रहेको स्वीकारोक्ति

आरती रावलले आफू अविवाहित रहेको भन्दै न्यायाधीश भुवन गिरीको दोस्रो श्रीमतीको रूपमा विवाह दर्ता गराएको भए पनि आरती रावल पहिले नै विवाहित रहेको पाइएको छ । केही समय अगाडि रातोपाटीसँग कुराकानी गर्दासमेत पहिले विवाह गरिसकेको हो भन्ने प्रश्नमा उनले पति खोज्न चुनौती दिएकी थिइन् । यद्यपि उनले आफूले पहिले नै विवाह गरेको हो कि होइन भन्ने प्रश्नको स्पष्ट जवाफ भने दिएकी थिइनन् ।

रातोपाटीलाई प्राप्त कागजातमा आरती रावलले आफ्नो पतिको नाम गोविन्द बिसी रहेको भनी लेखाएको पाइएको छ । २०६६ वैशाखमा भएको केही सार्वजनिक अपराधको मुद्दामा आरतीले आफ्नो पहिचान खुलाउँदा आफ्नो पतिको नाम गोविन्द बिसी रहेको खुलाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरीक्षक गणेश बहादुर विष्टले जिल्ला न्यायाधिवक्ता राजनराज घिमिरेसमक्ष बयान गराउँदा उनले आफ्नो पतिको नाम समेत खुलाएकी छन् । तपाइँको बाजे, बाबु र तपाइँको नाम थर के हो ? उमेर पेसा, नागरिकता नम्बर परिवार सङ्ख्या लगायतका विषयमा भएको सोधपुछमा आरती रावलले यस्तो जवाफ दिएकी छन्–

‘मेरो बाजेको नाम .... रावल, बुवाको नाम दौलतसिंह रावल र मेरो नाम आरती रावल (बिसी), मेरो श्रीमानको नाम गोविन्द बिसी हो । म वर्ष २७ की भएँ । मैले कक्षा १० सम्म पढेलेखेको छु । म मजदुरी पेसा गर्दछु ।’

CDO Bayan 01

त्यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको बयानमा पनि उनले आफ्नो पतिको नाम गोविन्द बिसी रहेको खुलाएकी छन् । 

त्यसैगरी आरती रावलविरुद्ध बाँके प्रहरीमा मानव वेचबिखनको उजुरीसमेत परेको थियो । आफू मुम्बईमा बसेर दाङ, बाँके, बर्दिया लगायत स्थानका महिलाहरूलाई रोजगारीमा पठाइदिने भन्दै भारत लगेर वेश्यावृत्तिमा लगाउने गरेको र बेपत्ता बनाएको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । बाँकेकी कमला खटिक र प्रिया खटिक (नाम परिवर्तन)लाई वैदेशिक रोजगारीका लागि कतार, दुबई लगायतका देशमा पठाइदिने भन्दै मुम्बईमा लगि वेश्यावृत्तिमा लगाउन खोजेपछि कमला भागेर नेपाल आएकी थिइन् । करिब २ महिना मुम्बईमा राखेर विदेश नपठाएको र वेश्यावृत्तिमा लगाउन खोजेपछि छोरी प्रिया खटिकलाई त्यहीँ छाडेर आएकी कमलाले बाँके प्रहरीमा आरतीविरुद्ध उजुरी दिएकी थिइन् ।

उजुरीलगत्तै बाँके प्रहरीले आरतीकी आमा मिना रावललाई प्रहरी कार्यालयमा झिकाएपछि आरतीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ६० हजारका दरले बनाएको दुई जनाको तमसुक च्याती, नगद लिएको ३० हजार रकम आरतीकी आमा मिना रावलले पीडितलाई बुझाएकी थिइन् ।

नेपाल प्रहरीबाट खोजतलासका लागि मुम्बई प्रहरीमा पत्र पुगेपछि आरती रावलकै सूचनाका आधारमा मुम्बई प्रहरीले प्रिया खटिकलाई उद्धार गरी काठमाडौँ पठाइदिएको थियो । काठमाडौँको एक सेफ हाउसमा करिब डेढ महिना बसेपछि प्रियालाई नेपालगञ्ज पठाइदिएको प्रिया खटिकका बुबा रामनरेश खटिक (परिवर्तित नाम)ले रातोपाटीलाई बताए ।

सम्पत्ति हत्याउन आफ्नै आमा र भाइविरुद्ध अंश मुद्दा

आरती रावलले आफ्नै आमा र भाइहरुका विरुद्ध २०७२ साउन ३१ गते बाँके जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् । आरतीले आफ्नी ५० वर्षीय आमा मिना रावल र २६ वर्षका भाइ जीवन रावल तथा २४ वर्षका भाइ शक्ति सिंह रावलका विरुद्ध अंश मुद्दा दायर गर्दा आमा र भाइहरुले आफूलाई घरमा बस्न नदिएको, निस्केर जा भनेको र घरमा सधैँ झैझगडा हुने गरेको आरोप लगाएकी थिइन् ।

अंश मुद्दा दर्ता भएपछि अदालतमा प्रतिउत्तर दिने क्रममा आरतीकी आमा मिना रावलले आरती आफैँले सधैँ झगडा गर्ने गरेको, आफूहरूलाई सधैँ दबाबमा राख्ने गरेको र सम्झाउँदा बुझाउँदा विषादी औषधि सल्फास खाएर मर्छु भनी धम्की दिने, आफ्नै हात काट्ने जस्तो व्यवहार गरेको जनाएकी थिइन् ।

साथै घर व्यवहार चलाउनका लागि नेपालगञ्जमा रहेको घर सांग्रिला विकास बैंकमा धितो राखेर ३ लाख ५० हजार ऋण लिएको तथा घर बनाउन अन्य व्यक्तिहरूसँग ५ लाख गरी कुल ८ लाख ५० हजार रुपैयाँ ऋण लागेकाले उक्त घर अर्को बैंकमा धितो राखी बढी रकम निकाल्न खोजेपछि आरतीले अंश मुद्दा दिएर अंश दाबी गरेको उनको भनाइ थियो ।

उक्त मुद्दामा पछि आरती रावलले आमा तथा दुई भाइलाई जनही ६ लाख २५ हजार रुपैयाँका दरले घरसारमा अंशबापत बुझिलिएको कागजात बनाई उक्त जग्गा र त्यहाँ बनेको घर आफ्नो बनाएकी थिइन् ।

Aarati Mom Prati Utter 01

शैक्षिक प्रमाणपत्र किर्तेको यस्तो छ घटना

रातोपाटीसँगको कुराकानीमा आफूले कक्षा ८ सम्ममात्रै अध्ययन गरेको बताएकी आरती रावलले नेपालगञ्जको महेन्द्र माध्यामिक विद्यालयबाट एसएलसी पास गरेको भनेर ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्र बनाएको भेटिएको छ । रातोपाटीलाई प्राप्त आरतीको नक्कली शैक्षिक प्रमाणपत्रको प्रतिलिपिमा उनको जन्म मिति २०४० फागुन १७ गते उल्लेख छ ।

शैक्षिक प्रमाणपत्रमा आरतीले कक्षा ५ देखि कक्षा १० सम्म उक्त विद्यालयमा अध्ययन गरेको र २०६० सालमा उक्त विद्यालयबाट एसएलसी पास गरेको उल्लेख छ । द्वितीय श्रेणीमा उत्तीर्ण गरेको उल्लेख भएको उनको शैक्षिक प्रमाणपत्रमा एसएलसीको रजिस्ट्रेसन नम्बर ६८८८४०९० उल्लेख छ भने सिम्बोल नम्बर ०८८८४८०आर भनिएको छ । उक्त सर्टिफिकेटको जारी मिति २०६१ असार २९ गते उल्लेख छ ।

Character Certificate

तर आरतीले अध्ययन गरेको भनिएको विद्यालयले भने उनी उक्त विद्यालयमा नपढेको र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएको सिम्बोल नम्बर सोही विद्यालयका अर्का विद्यार्थीको भएको खुलाएको छ ।

महेन्द्र माध्यमिक विद्यालय, नेपालगन्ज बाँकेका प्रधानाध्यापक राजेश कुमार यादवबाट जारी भएको पत्रमा आरतीले २०५५ सालदेखि २०६० सालसम्म उक्त विद्यालयमा पढेको कुनै दस्ताबेज नभेटिएको र उनको नाममा कुनै पनि प्रमाणपत्र जारी नभएको जानकारी गराएका छन् । महेन्द्र माध्यमिक विद्यालय, नेपालगन्जले पौष ३ गते दिएको पत्रमा रावलले सो विद्यालयमा अध्ययन गरेको रेकर्ड नभेटिएको जनाएको छ ।

Mahendra School Clarification

नक्कली शैक्षिक प्रमाणपत्रको सम्बन्धमा कुराकानी गर्न सम्पर्क गर्दा आरतीले आफू ‘अन्डर एसएलसी’ रहेको स्वीकार गरिन् ।

‘अन्डर एसएलसी भए तपाईँले कहाँबाट किन बनाउनुभयो त एसएलसी पास गरेको प्रमाणपत्र ?’ भन्ने प्रश्नमा त्यो सम्बन्धमा आफूलाई केही थाहा नभएको उनले बताइन् । उनले भनिन्, ‘त्यस सम्बन्धमा मलाई केही थाहा छैन ।’

आरती भन्छिन्– रत्नाकर डाँकु त पछि वाल्मीकि भयो, विगतका कुरा किन गर्नु ?

रातोपाटीको फोन सम्पर्कमा आएकी आरतीले मानव बेचबिखन, शैक्षिक प्रमाणपत्र र अन्य विषयमा कुराकानी गर्दा रत्नाकर डाँकुको उदाहरण दिँदै आफूले न्यायाधीशसँग विवाह गरेपछि कुनै गलत काम नगरेको बताइन् । उनले भनिन्, ‘पहिले के भयो भन्ने कुरा छाड्नुहोस्, वाल्मीकि पनि पहिले रत्नाकर डाँकु थिए । मैले उहाँसँग विवाह गरेपछि केही गलत गरेको छैन । पहिले के के भयो भनेर कुरा गर्नुको कुनै अर्थ छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप